हिन्दू राष्ट्र बनाउन संविधान संशोधनमा लाग्ने पूर्वमन्त्री भण्डारीको प्रतिवद्धता

हिन्दू राष्ट्र बनाउन संविधान संशोधनमा लाग्ने पूर्वमन्त्री भण्डारीको प्रतिवद्धता

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ बैशाख १६ गते आईतबार ०६:२९

बेसीशहर– पूर्वमन्त्री एवम् सांसद शंकर भण्डारीले नेपाललाई हिन्दू सापेक्ष राष्ट्र बनाउने संविधान संशोधनका लागि आफू लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाँले लमजुङको जिल्ला सदरमुकामको यहाँ स्थित प्रगति टोलमा आयोजित गण्डकी...

बेसीशहर– पूर्वमन्त्री एवम् सांसद शंकर भण्डारीले नेपाललाई हिन्दू सापेक्ष राष्ट्र बनाउने संविधान संशोधनका लागि आफू लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाँले लमजुङको जिल्ला सदरमुकामको यहाँ स्थित प्रगति टोलमा आयोजित गण्डकी प्रदेशको दोस्रो अधिवेशनको उदघाटन गर्दै बैशाख १५ गते त्यस्तो बताउनु भएको हो ।
वैदिक सनातन संस्कृति युगौं युगदेखि चलिआएको हो जसलाई हिन्दूधर्म पनि भनिन्छ भन्दै भण्डारीले मुलुकको सार्वभौमसत्ता ठूलो भएको हुँदा र मुलुकमा हिन्दूत्वको गरिमा खस्किदै जाँदा राष्ट्रियता समेत खतरामा परेकोले हिन्दू राष्ट्रको पुनःस्थापना जरुरी रहेको बताउनु भयो । क्रिश्चियन देशहरूमा एकतर्फ बाइबल र अर्कोतर्फ देशको संविधानलाई हातले छोएर राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीले शपथ ग्रहण गर्दछन्, हामी कहाँ ईश्वरको नामसम्म लिइन्न समस्या यहीबाट सिर्जिएको हो र देश अधोगतिमा लागेको हो उहाँको कथन थियो ।
सनातन हिन्दू राष्ट्र पुनःस्थापना महाअभियानका संयोजक समेत रहनु भएका भण्डारीले शंख, घण्टी, गाई, पिपल आदिको महत्वमा प्रकाश पार्नु हुँदै यिनीहरूको गरिमालाई विज्ञानले समेत स्विकार गरेको उल्लेख गर्नु हुँदै तिनले दिने फाइदाको बारेमा समेत उल्लेख गर्नुभएको थियो । पछिल्ला वर्षमा हिन्दू, बौद्ध, जैन, हिन्दू भित्र पनि र बाहुन तीन किसिमका(उपाध्ये, जैसी र कुमाई) भन्ने, जनजाति र दलितमा समेत विभेद जस्ता विषयमा फैलाइएको भ्रम हटाउन जरुरी छ भन्दै उहाँले समर्पण भावका लागि लागेमा यो अभियानलाई सफल बनाउन सकिन्छ भन्नुभयो ।
उहाँले आफू संविधानसभाको सदस्य समते भएको स्मरण गर्दै उहाँले त्यो बेलामा ८५ प्रतिशतले हिन्दू राष्ट्र चाहिन्छ भन्ने माग गरेको विषयलाई एकातर्फ थन्क्याएर ल्याइएको संविधान तत्काल संशोधन हुनुपर्छ भन्नेमा जोड दिदै आफू त्यसमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विश्वहिन्दू महासंघका अध्यक्ष ८४ वर्षीय डा. रामचन्द्र अधिकारीले हिन्दू धर्म स्थापनार्थको आन्दोलन थाल्न ढिला भएको भन्नेहरूलाई जवाफ दिदै आफूहरू निर्णायक आन्दोलनको तयारीमा रहेको हुँदा केही ढिला भएको बताउनु भयो । उहाँले २, ४, १० दिनको हा हो गरेर तुहिने खालको आन्दोलन नगरी वारपारको आन्दोलन गर्ने भएको हुँदा आफूहरू त्यसको तयारीमा लागि रहेको जानकारी दिँदै साथ सहयोग दिन सहभागीहरूलाई अपिल गर्नुभयो ।
धर्म भनेको गाई हो र राजा भनेको बाच्छो हो, हामी गाईको खोजीमा छौं, बाच्छोको होइन :
अर्को एक प्रसङ्गमा अध्यक्ष डा. अधिकारीले राजा सबै जनताको साझा हुन नसकेकै कारणले गद्दी छाड्नु परेको स्मरण गर्नु भयो । जुन दिन लोकतान्त्रिक शक्तिलाई बाइपास गरी ‘अराष्ट्रिय तत्व’ भन्ने तथा आफ्ना आसेपासे र भक्तलाई राष्ट्रवादी भन्दै भेदभाव गर्न थालियो, जुन दिन मन्त्रीमण्डलको अध्यक्ष समेत बनेर सिंहदरबारसमेत ताक्ने काम भयो, त्यही दिन राजा जनताको नजरबाट गिरेको अधिकारीले उल्लेख गर्नुभयो । उहाँले कृष्ण भगवान्ले आफू राजा भएको बताएको उदाहरण दिदै ‘राजा कृष्ण भगवान् जस्तो हुन सक्नु पर्छ’ भन्नेमा जोड दिनुभयो । धर्म भनेको गाई हो र राजा भनेको बाच्छो हो । हामी गाईको खोजीमा छौं, बाच्छोको होइन अधिकारीले प्रष्ट्याउनु भयो ।
मन्तव्यकै क्रममा राष्ट्रिय झण्डा देखाउँदै अध्यक्ष अधिकारीले हिजोका दिनमा आफूले पनि कुनै अमुक दलको झण्डा बोकेर हिडेको भएता पनि आज भने नेपालको झण्डाभन्दा अरु नबोक्ने संकल्प लिएको र यो अभियान राष्ट्र बचाउने अभियान समेत हो त्यसैले पनि सहयोगका लागि मानसिक रुपमा तयार रहनु होला भन्ने आह्वान गर्नुभयो ।
ब्राह्मण, क्षेत्री, बैश्य र सुद्र हाम्रै शरीरमा छन् :
व्यास धामका मठाधिश दामोदर बाबाले छुवाछुतको प्रशङ्ग उठेको स्मराण गर्दै त्यस्तो जात हाम्रै शरिरमा छ भन्नुभयो । उहाँले शिर ब्राह्मण हो, सुरक्षा गर्ने भएको हुँदा दुई हात क्षेत्री हुन् । व्यापारको काम गर्ने वैष्णव पेट हो भने श्रम गर्ने खुट्टा सुद्र हो भन्नु भयो । उहाँले हिन्दूको मूल धर्म वेद हो र धर्म भनेको सत्य र शान्तिको बाटोमा हिड्नु हो भन्नुभयो । अर्को एक प्रशङ्गमा गाई काट्न पाइन्न, त्यस्तो कार्य भयो भने सैह्य हुने छैन र हामी बाह्यभएर सडकमा आउनु पर्ने हुन्छ भन्ने उल्लेख गर्नु भयो । उहाँले व्यास धामको ८८ हजार ऋषि बनाउने पर्ने र त्यो अभियानमा आफू जुटिरहेको जानकारी दिनु हुँदै त्यसरी नै ८८ हजार मातृ महिला पनि बनाउन आवश्यक छ त्यो काम आउँदो कार्तिकमा व्यास धाममा हुने कार्यक्रममा घोषणा गरिने समेत उल्लेख गर्नुभयो ।
सो अवसरमा गण्डकी प्रदेश सभाका सदस्य एवम् नेपाली काँग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङले आफूले हिन्दूजम्, बुद्धिजम् र टुरिजम्ले समृद्धिको सपना साकार हुने तर्क गर्दै आएको उल्लेख गर्नुभयो । अर्का गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेलले धर्म, संस्कार, संस्कृति हाम्रा पहिचान हुन् । यिनको बचाउका लागि हामी सबै आ–आफ्नो क्षेत्रमा इमान्दार पूर्वक कर्तव्य पुरा गर्न लाग्यो भने सफल होइन्छ भन्नुभयो ।
संवैधानिक राजतन्त्र बटम लाइन :
त्यसअघि बोलेका विश्व हिन्दू महासंघका वरिष्ठ उपाध्यक्ष शंकर खरालले संवैधानिक राजतन्त्र आफूहरूको बटम लाइन भएको दावी गर्दै राजा बिनाको हिन्दू राष्ट्रको कल्पना गर्न नसकिने बताउनु भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिको तर्कले तरङ्ग :
उदघाटन सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि वरिष्ठ पत्रकार नवराज पहाडीको टिप्पणीले तरङ्ग ल्याएको थियो । यो अभियानका केही कुरा प्रष्ट हुन पनि जरुरी छ भन्दै ल्याउन खोजिएको ‘हिन्दू राष्ट्र’ राजा सहितको हो वा राजा रहित भन्दै राजा रहित हिन्दू राष्ट्र हो भने आफ्नो पार्टीमा बहस चलाउन आफू तयार रहेको बताउनु भयो । उहाँले कार्यक्रममा जनजातिे तथा दलितको सहभागिता किन भएन ? भन्ने समेत प्रश्न उठाउनु भएको थियो । त्यसपछिका वक्ताहरूले पहाडीको धारणाका पक्ष र विपक्षमा तर्क दिएका थिए ।
सो अवसरमा शुभकामना व्यक्त गर्नेहरूमा एमालेका जिल्ला सचिव राजेन्द्र बोहरा, विश्व हिन्दू महासंघका उपाध्यक्ष एवम् गण्डकी प्रदेशकी मातृ शक्ति संयोजक पार्वती पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उदघाटन सत्र विश्व हिन्दू महासंघका गण्डकी प्रदेशका अध्यक्ष मुक्ति अधिकारीको अध्यक्षतामा भएको थियो भने सञ्चालन केन्द्रीय महासचिव रामचन्द्र तिवारी र जिल्ला सचिव कमल अधिकारीले गर्नु भएको थियो ।
सो अधिवेशनको बन्द सत्र र निर्वाचन कार्यक्रम चलिरहेको छ । सो अधिवेशनमा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ बाहेकका नौ जिल्लाका करिब अढाई सय प्रतिनिधिहरूले भाग लिइरहेको अधिवेशनको प्रचार उपसमितिका संयोजक कमल अधिकारीले बताउनु भयो । उहाँका अनुसार नेतृत्व निर्विरोेध रुपमा चयन गर्न पहल थालिएको छ ।
सो अवसरमा अधिवेशन सुरु हुनु पूर्व मनाङे चौताराबाट बाजागाजा तथा भजन सहितको सदभाव र्यालीले बजार परिक्रमा गरेको थियो । कार्यक्रममा सारिङको बालुन समूहमा आवद्ध बालिकाहरूले नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति २०८१ बैशाख १६, आईतवार ०६:२९ गते
हजुरको प्रतिक्रिया