इलाम– इलाम क्षेत्र– २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना बैशाख १६ गते ११ बजेबाट सुरू गर्ने निर्णय भएको छ । आज विहान मतगणनास्थल गौतमबुद्ध सभम गृह (सिटीहल) मा बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।
गणना फाकफोकथुम गाउँपालिकाबाट सुरू हुने सर्वदलीय सहमति भएको छ । मतगणना सुरू भएको १२ घण्टाभित्र अन्तिम नतिजा प्रकाशित गरी सक्ने निर्वाचन आयोगको तयारी छ । आयोगका अनुसार सर्वदलीय बैठकमा मत गणनाका लागि छ बुँदे निर्णय गरिएको छ ।
मतपेटिका संकलन कार्यमा नै आज बिहान ४ बजेसम्म समय लागेको प्रमुख जिल्ला अधिकार इन्द्रदेव यादवले बताउनु भयो । उहाँका अनुसार मतपेटिका इलाम– ७, मा रहेको गौतमबुद्ध समभागृहमा संकलन गरिएको छ र मत गणना पनि सोही स्थानमा गर्ने तयारी छ ।
इलाम– २ बाट प्रतिनिधिसभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम– २ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेका छन् ।
प्रकाशित मिति २०८१ बैशाख १६, आईतवार १०:३० गते