
इलाम । प्रतिनिधि सभाका लागि इलाम– २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले फराकिलो अग्रता बनाउँदै गइरहेको छ । १७ हजार ३७५ मत गणना हुँदा एमाले उम्मेदवार नेम्वाङले १ हजार ९२४ को मतान्तर बनाउन सफल हुनु भएको छ । यो बैशाख १७ गते विहान ५ बजेसम्म करिब एक चौथाई मत गणना हुँदाको प्राप्त मतको नतिजा हो ।
नेवाङले ७ हजार ३३ मत ल्याउनु हुँदा निकटतम प्रतिद्वन्द्वी काँग्रेसका डम्बरबहादुर खड्काले ५ हजार १ सय ९ मत पाउनु भएको छ । एमाले र कांग्रेसका उम्मेदवारबीचको मतान्तर एक हजार ९ सय २४ छ ।
यसैगरी, पहिचानवादीका रुपमा परिचित स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ३ हजार ५ सय १३ मत ल्याउनु भएको छ भने रास्वपा उम्मेदवार मिलन लिम्बुको मत परिणाम भने निरासाजनक स्थितिमा छ । उहाँले मात्र १ सय २ मत पाई चौथो स्थानमा सीमित रहिरहनु भएको छ ।
यसैगरी, एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईलाई २ सय ३५ मत प्राप्त भएको छ भने राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मी गुरूङले ४३ मत ल्याउनु भएको छ ।
अहिलेसम्म १७ हजार ३७५ मत सदर भएको छ । त्यस्तै २१७ मत बदर भएको छ ।
यो उपनिर्वाचनमा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेका थिए । तीमध्ये ६९ हजार दुई सय ८७ जनाले बैशाख १५ गते मतदान गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
स्मरणीय छ, २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम– २ मा एमाले नेता सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित हुनु भएको थियो । त्यस समयमा कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याउनु भएको थियो । त्यससमयमा काँग्रेसका खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुनुहुन्थ्यो । यसपटक भने काँग्रेस एक्ले निर्वाचनमा होमिएको हो ।
यो परिणाम चुलाचुली गाउँपालिकाको तीन वडाको हो ।
प्रकाशित मिति २०८१ बैशाख १७, सोमबार ०६:१३ गते