सुपर न्यादी जलविद्युतमा कार्यरत कामदारको ढुंगाले लागेर मृत्यु

सुपर न्यादी जलविद्युतमा कार्यरत कामदारको ढुंगाले लागेर मृत्यु

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ बैशाख १७ गते सोमबार ०७:०६

मृतक जलविद्युत आयोजना निर्माणका क्रममा विष्फोट कार्यमा खटिएका ‘ब्लास्टर’ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बैतडी जिल्ला, नल्लादेही गाउँपालिका– ६ घर भएका ३८ वर्षीय ‘ब्लास्टर’ काम गर्ने रामबहादुर बोहराको मृत्यु भएको हो ।

डहरे(लमजुङ)– लमजुङमा निर्माणाधीन सुपर न्यादी जलविद्युत आयोजनामा कार्यरत एकजना कामदारको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका– ६, डहरे क्षेत्रमा कार्यरत बैतडी जिल्ला, नल्लादेही गाउँपालिका– ६ घर भएका ३८ वर्षीय ‘ब्लास्टर’ काम गर्ने रामबहादुर बोहराको बैशाख १६ गते दिउँसो मृत्यु भएको हो ।
आयोजनामा काम गर्न जाने क्रममा क्रममा आयोजनाको आउटलेट नजिकैबाट खसेको ढुंगाले लागेर बोहरा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि लमजुङ अस्पताल बेसीशहरमा ल्याइएको थियो । प्रहरीका अनुसार अस्पतालमा ल्याउनासाथ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । मृतक जलविद्युत आयोजना निर्माणका क्रममा विष्फोट कार्यमा खटिएका ‘ब्लास्टर’ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताउनु भयो ।
उहाँका अनुसार काम गर्न जाने क्रममा माथिबाट खसेको ढुंगा लागेर बोहरा गम्भीर घाइते भएका थिए । उहाँले भन्नुभयो, ‘उनलाई अस्पताल ल्याउना साथ डाक्टरहरूले मृत घोषणा गरेका थिए ।’ मृतकको शव पोष्टमार्टम परीक्षणका लागि लमजुङ अस्पतालको शव गृहमा राखिएको छ ।
घटनाबारे जानकारी पाउने वित्तिकै प्रहरी चौकी बाहुनडाँडाबाट प्रहरी सहायक निरीक्षक रमेश श्रेष्ठ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक चपाईंको नेतृत्वमा प्रहरी टोली घट्ना स्थलमा खटिएको थियो । घटनास्थल प्रहरीचौकी बाहुनडाँडाबाट अन्दाजी १५ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालयबाट अन्दाजी ३२ किलोमिटर उत्तरमा रहेको प्रहरीले जनाएको छ ।
स्मरणीय छ, यसअघि चैत २३ गते सुपर न्यादी जलविद्युत आयोजनाको जिप आउटलेट नजिकै दुर्घटना हुँदा चालक रोल्पाको त्रिवेणी गाउँपालिका– ४ का ३७ वर्षीय बीरसिंह दमाईंको घटनास्थलमै मृत्यु भएको थियो । जलविद्युत आयोजनाको बा १७ च १४६५ नम्बरको बोलेरो जिप आयोजनामा कामदार पु¥याएर फर्कने क्रममा दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति २०८१ बैशाख १७, सोमबार ०७:०६ गते
हजुरको प्रतिक्रिया