पैह्रे(लमजुङ)– नेकपा एमाले सुन्दरबजार नगर कमिटीको तेस्रो अधिवेशनबाट निर्वाचित हुने अध्यक्ष र सचिव पदमा मतदान सुरु भएको छ । उपाध्यक्ष र सहसचिव पद भने निर्विरोध भएको बैशाख १७ गते घोषणा गरिएको छ ।
अध्यक्ष पदमा जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख लोकराज पाण्डे र सो दलमा नवप्रवेशी द्वारिका मिश्रका बीचमा प्रतिस्पर्धा भइरहेको छ । यसैगरी, सचिव पदमा पनि सूर्यकान्त अधिकारी र रघुनाथ मिश्रका बीचमा प्रतिस्पर्धा भइरहेको छ ।
मतदानका लागि अपराह्न ४ बजेसम्मका लागि समय तालिका निर्धारण गरिएको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएका जयराम रेग्मीले बताउनु भयो । उहाँका अनुसार मतदाता संख्या दुई सय आठ रहेको छ ।
सो कमिटिको उपाध्यक्षमा जयराम रेग्मी तथा सहसचिवको दुई पदमा पुरुषतर्फ नवीनकुमार श्रेष्ठ(वडाध्यक्ष वडान– २) र महिलातर्फ विष्णु श्रेष्ठ(भोटोओडार– ८ बगैंचा निवासी) निर्विरोध हुनुभएको छ ।
६५ सदस्यीय हुने उक्त नगर कमिटिमा त्यस संख्याको थप १० प्रतिशत संख्या आवश्यकता अनुसार मनोनित गर्न सकिने बताइएको छ ।
प्रकाशित मिति २०८१ बैशाख १७, सोमबार १५:२१ गते