सुन्दरबजार(लमजुङ)– सुन्दरबजार नगरपालिकामा डिजिटल गभर्नेन्स कार्यक्रम सिफारिस, अनुदान व्यवस्थापन तथा गुनासो व्यवस्थापन सफ्टवयर सञ्चालित दुई दिन तालिमको सुरु गरिएको छ । सुन्दरबजार नगरपालिकाको आयोजनामा गण्डकी प्रदेश सरकार मुख्यमन्त्री नवप्रर्वतन साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन भएको दुई दिने तालिमको बैशाख १८ गते सुरु गरिएको हो ।
तालिमको उद्घाटन गर्दै सो नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले नगरपालिकालाई प्रबिधि मैत्री बनाउनु आजको आबश्यकता भएको र सुन्दरबजार नगरपालिका त्यसतर्फ लागिपरेको बताउनु भयो । मेयर कोइरालाले नगरपालिका भित्र रहेका सम्पूर्ण वडाकार्यलयहरूमा सिसि क्यामेरा जडान गर्ने काम तथा १ देखि ६ नम्बरसम्मको वडामा डिजिटल वडापत्र जडान कार्य गरिसकिएको अब केही दिनमानै बाँकी वडाहरूमा जडान गरिने जानकारी दिनुभयो । समयअनुसारको सेवा दिनु पर्ने आजको आवश्यकतामा आफूहरू चल्नुको बिकल्प नभएको बताउदै सफ्टवयर सञ्चालन भएपछि पालिका भरि सिफारिसमा एकरुपता आउने र धेरै गुनासो आइरहने अनुदानमा पारदर्शिता हुने कोइरालाले उल्लेख गर्नु भयो ।
नगरपालिका भित्र हुने सेवा र सूचना प्रबिधिमा आधारित बनाउने, नागरिकको स्थानीय तहसंग डिजिटल सम्पर्क बढाउने तथा स्मार्ट पालिका स्थापना गर्ने, नगरस्तरीय पहिचान संकेत विवरण तथा सेवामा एकद्वार प्रणाली लागु गर्ने मुख्य उद्देश्य रहेको पालिकाका प्रशासन शाखा प्रमुख बिबेककुमार पण्डितले बताउनु भयो । उहाँका अनुसार यस कार्यक्रमको थप उद्देश्यमा नगरबासीहरूको स्वचालित तथ्याङ्क प्रणाली निर्माण गर्ने रहेको छ ।
सुन्दरबजार नगरपालिकाका प्रशासकीय अधिकृत शिशिर पौडेलले हिजो देखि आजको सेवा प्रबाहको बारेमा बताउदै समयानुसार डिजिटल प्रविधिमा जानु पर्ने आजको आवश्यकता रहेको बताउनु भयो । उहाँले यस पालिकामा कार्यक्रम संचालन गर्नेको लागि कर्मचारीहरू सक्षम भएको बताउँदै सबै वडा तथा शाखाहरूमा यस कार्यक्रम लागु गरिने जानकारी दिए ।
दुई दिने सो तालिमको फोर जि सो लुशन काठमाडौका प्रशिक्षक मुनाल गोदार क्षेत्रीले प्रशिक्षण दिनु भएको छ । सो तालिममा नगरपालिकाका शाखा प्रमुखहरू, वडा सचिवहरू, सहायक कम्प्यूटर अपरेटरहरू, पालिकाका कर्मचारीहरूले भाग लिएका छन् ।
उक्त कार्यक्रम सञ्चालनको लागि कुल १ करोड ७ लाख ५५ हजार खर्च हुने अनुमान छ । जसमा ७५ लाख गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय र ३२ लाख ५५ हजार नगरपालिकाले बेहोर्ने गरी साझेदारीमा सञ्चालन गरिएको सुन्दरबजार नगरपालिकाका सूचना प्रबिधि अधिकृत सुजन मिश्रले जानकारी दिनु भयो ।
प्रकाशित मिति २०८१ बैशाख १८, मंगलवार २२:१५ गते