काठमाडौं– नेकपा (एमाले)का नेता भीम रावलले एमाले भित्र निषेधित राजनीति हावी भएको बताउनु भएको छ । उहाँले त्यसैका कारण आफू राजनीतिको एउटा घुम्तीमा पुगेको खुलासा गर्नु भएको छ ।
पार्टीभित्रको निषेधित राजनीतिको कारण आफू नयाँ घुम्तीमा पुगेको उहाँले आफ्नो धारणा सार्वजनिक गर्नु भएको हो । उहाँका अनुसार एमाले अछाम जिल्ला अधिवेशन हुँदै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा पनि आफूलाई एमालेले निषेध गरिएको छ ।
उहाँले भन्नुभयो, ‘अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको १० औं महाधिवेशनमा प्रतिष्पर्धा गरेकै कारण आफूलाई निषेध गरिएको हो ।’ उहाँले थप भन्नुभएको छ, ‘गोदावरीको अधिवेशनमा मलाई उहाँहरूले जुनप्रकारले व्यवहार गर्नुभएको छ, यसपछि मैले के सोचेको छु भने अब मलाई राजनीतिको जीवनको एउटा मोडमा धकेलिएको जस्तो महसुस भएको छ ।’
एमालेमा सबैभन्दा लामो समय आफूले विदेश विभागमा काम गरेको स्मरण गर्दै ‘एउटा घुम्तीमा पुगेजस्तो मैले महसुस गरेको छु । हामी सबैलाई थाहा छ– हाम्रो सामान्य जीवनमा पनि हिँड्दै जाँदा घुम्तीमा पुग्यौं भने त्यो अर्को मोडमा मान्छे लाग्छ ।’ उहाँले थप प्रष्ट्याउनु भएको छ ।
देशको सार्वभौमसत्ताका विषय उठाएकै कारण पार्टीमा निषेध गरिएको उहाँको दाबी छ । आफूले अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति पढेर पार्टीलाई योगदान दिएको बेला एमालेमा उक्त विषय पढेको मान्छे नै नभएको समेत उहाँले उल्लेख गर्नु भएको छ ।
‘आफू महाधिवेशन परिषद् समितिको सदस्य भए पनि बैठकमा सहभागी हुन पाउने अधिकारबाट निषेध गरिएको’ नेता रावलको जिकिर छ । उहाँले भन्नुभयो, ‘म त्यो महाधिवेशन प्रतिनिधि परिषद्को सदस्य हुँ । म त्यहाँ जाने मनस्थितिमै थिएँ । किनकी पार्टी भनेको त धेरै मानिसको पसिना, त्याग र तपस्याबाट बनेको हुन्छ । त्यो कुनै व्यक्तिको कम्पनी या निजी हुँदैन ।’ पार्टीमा नेतृत्व भनेको परिवर्तन हुन्छ । प्रत्येक महाधिवेशन र त्यसको मञ्चहरूमा निष्पक्ष ढंगले निर्वाचन गरेर प्रत्येक व्यक्तिको चुन्ने र चुनिन पाउने अधिकार हुन्छ ।’ उहाँले बताउनु भएको छ ।
टीका लगाएर पद दिने, आदेशबाट नेतृत्वमा पठाउने र निषेधको राजनीति गर्ने हो भने एमालेले मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’लाई छाड्नु पर्ने समेत उहाँको दाबी छ ।
प्रकाशित मिति २०८१ बैशाख १९, बुधबार ०७:०४ गते