नेपालगञ्ज(बाँके)– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद माफी मिनाहामा कुनै किसिमको विभेद हुन नहुने बताएका छन् । यसजिल्लाको बैजनाथ गाउँपालिका– ३, नौबस्ता कारागारको उद्घाटन गर्दै गृहमन्त्री लामिछानेले कैदीबन्दीले माफी मिनाहा पाउनेमा उनीहरूको अधिकारको विषय भएको यहाँ आयोजित एक कार्यक्रममा वैशाख २० गते बताउनु भएको हो ।
आवाज र पहुँचका आधारमा होइन, असल आचरण र कानुनले तोकेको मापदण्ड पूरा गरेको जोसुकै कैदीबन्दी नियमानुसार छुट्नुपर्छ भन्दै उहाँले कारागारमा कैदी जीवन बिताएका कैदीबन्दीलाई समाजमा पुनःस्थापना गर्न आवश्यक भएकामा जोड दिनु भयो । उहाँले कारागारलाई यातना गृहका रूपमा नभई सुधार गृहका रूपमा रुपान्तरण गराउन जरुरी भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कैदीबन्दीको कैद मिनाहा माफीमा राजनीतिक दबाब र आर्थिक चलखेलको गुनासो आइरहेको छ ।’ अपराधीले अपराध गरेको भन्दा थप सजाय दिइएमा त्यो अर्को अपराध हुने उल्लेख गर्दै गृहमन्त्री रविले भन्नुभयो, ‘कारागारमा जेल जीवन बिताइरहेका कैदीबन्दीले आफूले गरेको अपराधको सजायभन्दा अन्य थप कुनै पनि सजाय पाउनु हुँदैन ।’ उहाँले कैदीबन्दीले आफ्नो सजाय भोगिसकेर समाजमा फर्केर जाँदा अझै पनि समाजले स्वीकार गर्न नसकेको उल्लेख गर्दै पारिवारिक तथा सामाजिक जीवन बिताउन परिवार र समाज सचेत हुनुपर्नेमा जोड दिनु भयो । कारागारलाई सुधारगृहका रूपमा रुपान्तरण गर्न मन्त्रालाय लागिपरेको उहाँले उल्लेख गर्नुभयो । उहाँले कारागारमा अत्यधिक बल प्रयोग गर्ने गतिविधि नगर्न, अमानवीय गतिविधि नगर्न र आपराधिक क्रियाकलाप नहोस् भन्नेमा सरकार सचेत रहेको जानकारी दिनु भयो । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री दिनेश पन्थीले प्रदेशमा लागेको डढेलो नियन्त्रण गर्न कदम चाल्न संघीय गृह मन्त्रालयको ध्यानाकर्षण गराउनु भएको थियो ।
विसं २०७९ मंसिरमा निर्माण गरिएको बाँकेको नौबस्ता कारागारमा हाल १३० कैदीबन्दी छन् । तीन हजार कैदीबन्दी राख्ने क्षमताको उक्त कारागारमा हाल करिब एक हजार कैदीबन्दी अट्न मिल्ने पहिलो चरणको काम सम्पन्न भएको छ । कारागारको दोस्रो र तेस्रो चरणको काम सम्पन्न हुन बाँकी छ ।
प्रकाशित मिति २०८१ बैशाख २१, शुक्रबार ०६:१५ गते