कालिका सहकारीको ठगी मुद्दामा उच्चद्वारा सुरु सदर

कालिका सहकारीको ठगी मुद्दामा उच्चद्वारा सुरु सदर

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ बैशाख २८ गते शुक्रबार ११:१७

उच्च अदालतमा दर्ता भएको ती तीनवटा सहकारी ठगी मुद्दामा संलग्न क्रमशः ७, १३ र ११ को कुल संख्या ३१ हुन्छ । जिल्ला अदालतमा पोलिएका कुल संख्या भने ३४ रहेको छ । ती तीन सहकारी ठगी मुद्दाबाट तीन जनाका विरुद्ध पुनः निवेदन नपरेको पुष्टि हुन आएको छ ।

पुनःअनुसन्धान हुनुपर्ने पीडितको माग

बेसीशहर– यहाँ स्थित कालिका बचत तथा ऋण सहकारी संस्थाको बहुचर्चित सहकारी ठगी मुद्दामा उच्च अदालत पोखराले थुनछेक बहसमा जिल्ला अदालतको सुरु आदेशलाई नै सदर गरेको छ । धेरै दिनको प्रतिक्षा पछि आएको मुद्दाको पेशीका दिन उच्च अदालतबाट सुरु जिल्ला अदालतकै आदेशलाई बैशाख २७ गते सदर गरेको हो ।
उच्च अदालत पोखराका न्यायाधीशद्वय अमृतबहादुर बस्नेत र धनसिंह महराको संयुक्त इजलासले त्यस्तो ओदश दिएको हो । आदेशको पूर्णपाठ आउन बाँकी छ तर पनि यो आदेशले पीडकहरूलाई राहत र पीडितलाई थप आहत बनाउने काम गरेको पीडितहरूले बताएका छन् । जिल्ला न्यायाधीवक्ताद्वारा मुलुकि फाैजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम दिएको निवेदनमा सुनुवाईको क्रममा हिजो त्यस्तो ओदश भएको हो ।
सो सम्बन्धि मुद्दा तीन वटा बनेर उच्च अदालतमा दर्ता भएको देखिन्छ । तीनवटै मुद्दा ‘सहकारी ठगी’का हुन् । जसमा शिवराम सिलवाल समेत सात जना, रेशमबहादुर दनाई समेत १३ जना र गोपालबहादुर श्रेष्ठ सहित ११ जना भन्ने उच्च अदालतको रेकर्डमा देखिन्छ । यी तीनवटा मुद्दाको कुल संख्या ३१ हुन्छ । जिल्ला अदालतमा पोलिएका कुल संख्या भने ३४ रहेको छ । यसबाट तीन जनाका विरुद्ध पुनः निवेदन नपरेको देखिन्छ ।
त्यसो त उक्त सहकारी ठगी मुद्दामा जिल्ला अदालतमा विचाराधिन सो मुद्दाको थप सुनुवाई हुन बाँकी नै छ ।
मिलापत्रको प्रयास जारी :
सो मुद्दामा पीडकहरू पीडितसँग मिलापत्रका लागि न्वारानदेखिको बल लागउँदै पीडितहरूलाई रित्तो चेक दिएर मिल्नका लागि जोरजुलुम समेत गरिरहेका छन् । त्यसो त मिलापत्र गर्ने भन्ने ७८ जना उजुरकर्ता पीडितले दावी गरेको एक करोड ७८ लाख रुपैयाँ नगद बुझाएर मात्र होला । कथंकदाचित यसरी मिलापत्र भइहालेमा जिल्ला न्यायाधीवक्ताले सो मुद्दामा दावी गरेको छ करोडभन्दा बढी ७८ जनाभन्दा बाहेकको रकम के हुने ? लगायतका प्रश्नहरू समेत अनुत्तरित रहेका छन् । पीडितहरूका अनुसार मिलापत्र हुनु नराम्रो होइन तर त्यसअघि यसको सेरोफेरोमा उठेका सबै प्रश्नको निकारण हुनुपर्छ । पीडितहरू भन्छन्– ‘मुद्दाका सन्दर्भमा उठेका सबै प्रश्नहरूको निराकरण नहुँदासम्म मिलापत्र गर्नुको कुनै औचित्य हुनेछैन ।’
संघर्ष समिति प्रभावित :
अनेकन तिक्डम जानेका सो सहकारी ठगी मुद्दामा संलग्न पीडकहरूले पीडितहरूद्वारा गठित संघर्ष समितिलाई प्रभावित तुुल्याउँदै आएका छन् । बोल्ने र बोल्न सक्नेजस्ता सबैको रकम फिर्ता गरिदिएर अन्य सर्वसाधारणको बिल्लीवाठ बनाउनेतर्फ पीडकहरू उद्दत भएको स्रोतको भनाइ छ । त्यसैले पनि उजुर नगर्ने निमुखाहरूको स्थिति के हुने भन्ने प्रश्न पेचिलो बन्दै आएको हो ।
स्मरणीय छ, पछिल्ला दिनमा पोखराको सूर्यदर्शन सहकारीको जस्तै गरी कालिका सहकारीका पीडितहरूले पनि सो काण्डको पुनः अनुसन्धान हुन पर्ने माग गर्न थालेका छन् । त्यसबारेमा उनीहरूले पुरक उजुरी दिने तयारी गरेको समेत बुझिएको छ ।

प्रकाशित मिति २०८१ बैशाख २८, शुक्रबार ११:१७ गते
हजुरको प्रतिक्रिया