काठमाडौँ– कान्तिपुरका सञ्चालक कैलाश सिरोहियाका बाबु घासीराम नेपालको अंगीकृत नागरिक भएको र छोरा वंशजको नागरिक भएको खुल्न आएको छ । कैलाशको नागरिकता बारेको अनुसन्धान टोलीले पाएको पछिल्लो विवरण अनुसार त्यस्तो बैशाख २७ गते खुलासा भएको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषामा रहेको २०३४÷३५ को अस्थायी निस्सा अनुसार घाँसीराम मारवाडी नेपालका अंगीकृत नागरिक भएको उल्लेख । तर घाँसीरामकै कान्छा छोरा कैलाश सिरोहियाले वंशजको नागरिकता प्रयोग गरिरहेको खुलासा भएको छ । जनकपुरमा संकलन गरिएको बालिगहरूको अस्थायी निस्साको दर्ता किताबमा ३९६९५९६८ नागरिकता नम्बरमा घासीराम माडवारीलाई अंगीकृत नागरिकता दिइएको उल्लेख छ ।
सामान्यतः आफ्नो देशको कानूनको पालना र समर्थन गर्ने वाचा गरी वफादारीको शपथ लिने गैर नागरिकलाई अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिन्छ । अंगीकृत नागरिक स्वयं र उनका सन्तान समेत विदेशी नागरिक हुन्छन् ।
दर्ता किताबमा घासीराम माडवारीको देश भारतको राजस्थान र उमेर ५६ वर्ष लेखिएको छ । उनको पिताको नाम रोशनलाल माडवारी उल्लेख छ ।
घासिरामको नागरिकता नम्बर उल्लेख गरिए पनि उनले कहिले नेपाली नागरिकता लिएको हो सो भने खुलेको देखिदैन । घासिरामको नागरिकता र नागरिकता लिँदाको कागजपत्र समेत प्रहरीले फेला नपारेको बताइन्छ ।
कैलाश सिरोहियाले सार्वजनिक गरेको नागरिकतामा नागरिकता ऐन २०२० अनुसार बंशजको नागरिकता लिएको देखिन्छ ।
नेपालको नागरिकता ऐन २०२० मा ‘यो ऐन प्रारम्भ भएपछि जन्मेको कुनै व्यक्तिको बाबु निजको जन्महुँदा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति बंशजको नाताले नेपालको नागरिक हुनेछ’ लेखिएको छ ।
‘त्यस्तो व्यक्तिको जन्म नेपाल बाहिर भएको रहेछ भने सो जन्म भएको कुरा निजको जन्म भएको मितिले एक वर्षभित्र तोकिए बमोजिम शाही नेपाली राजदूतावास वा तोकिएको अन्य कुनै अफिसमा रजिष्ट्रेशन गराइएको हुनुपर्ने’ उल्लेख छ ।
सो ऐन २०२० फागुन १६ गतेबाट लागु भएको देखिन्छ । सो आधारमा ‘यो ऐन प्रारम्भ भएपछि जन्मेको कुनै व्यक्ति’ अर्थात २०२० फागुन १६ पछि जन्मिएको व्यक्ति भन्ने देखिन्छ । ऐन अनुसार यसरी २०२० फागुन १६ पनि जन्मिएको सन्तानको बाबु ती सन्तानको जन्म हुँदा नेपालको नागरिक रहेको अवस्थामा बंशजको आधारमा नेपालको नागरिक हुने देखिन्छ ।
यो ऐनको प्रावधान अनुसार सिरोहियाले बंशजको नागरिकता पाउन उनी २०२० फागुन १६ पछि जन्मिएको र उनको जन्म अगाडि नै उनको बाबु नेपाली नागरिक भइसकेको हुनुपर्ने देखिन्छ । तर सिरोहियाले नै सार्वजनिक गरेको उनको नागरिकता अनुसार उनको जन्म २०१९ साल अर्थात् नेपालको नागरिकता ऐन २०२० लागु हुनुभन्दा अगाडि नै भएको पुष्टि भएको छ ।
यो मात्र हैन, २०३४÷३५ को अस्थायी निस्सा दर्ता किताबमा घासिराम माडवारीको विवरणमा अंगीकृत उल्लेख गरिएकाले उनी नागरिकता ऐन २०२० लागु भएपछि पनि अंगिकृत नागरिकको हैसियतमा नेपालमा रहेको देखिन्छ ।
सोही ऐन अनुसार नेपालको राष्ट्रभाषा लेख्न र बोल्न जान्ने तत्कालीन कानुनले अंगीकृत नागरिकका सन्तानलाई जन्मसिद्ध नागरिकता दिन्छ तर पिताले अंगीकृत नागरिकता लिनुभन्दा अगाडि जन्मिएका सन्तानले जन्मसिद्ध नागरिकता पाउँदैनन् । उनीहरूले अंगीकृत नागरिकता नै लिनुपर्छ ।
त्यसपछि जन्मिएका सन्तान मात्रै जन्मसिद्ध नेपाली हुनसक्छन्। त्यसअघि जन्मिएका सन्तान अंगीकृत नागरिक नै हुनुपर्ने हो ।
उता अनुसन्धानकोक्रममा जिल्ला प्रशासन कार्यालय धनुषामा भेटिएको ‘विदेशी बाबुआमाबाट नेपाल अधिराज्यमा जन्मिएका नागरिकहरुको दर्ता किताब’ मा श्री ५ को सरकार, गृह पञ्चायत मन्त्रालय, नागरिकता टोली …, धनुषा २०३८ को छाप छ ।
सो दर्ता किताब पुस्तिकामा जनकपुर नगरपञ्चायत अन्तर्गत फूलगामा क्षेत्रको विवरण रहेको छ । उक्त विवरणमा घासीराम माडवारीका चार सन्तान रहेको उल्लेख छ ।
दर्ता किताबमा गोपालप्रसाद सिरोहिया, गोविन्दप्रसाद सिरोहिया, पुनम कुमारी सिरोहिया र कैलासप्रसाद सिरोहियाको विवरण छ । विवरणमा गोपाल, गोविन्द र पुनमको नागरिकता अंगीकृत नेपाली लेखिएको छ भने कैलाशको जन्मसिद्ध नेपाली लेखिएको छ ।
अहिले कैलाशका दाजु गोविन्द र गोपालले प्रयोग गरेको नागरिकतामा पनि जन्मसिद्ध उल्लेख छ । अंगिकृतबाट उनी कसरी जन्मसिद्धमा रुपान्तरण भए खुल्ने थप प्रमाण फेला परेको छैन ।
सिरोहियाका पिता घासीरामको २०६९ साउनमा मृत्यु हुँदा कान्तिपुरमा प्रकाशित समाचार अनुसार उनको तीन छोरा र ६ छोरी रहेको उल्लेख छ ।
समाचारमा लेखिएको छ, ‘जेठा गोपाल र कान्छा कैलाश काठमाडौंमा तथा माहिला गोविन्दप्रसाद जनकपुरमै व्यवसाय गर्दै आएका छन्’ समाचारमा छोरीहरूको संख्या उल्लेख छ तर नाम खुलाइएको छैन । समाचार ६ छोरी लेखिए पनि एक छोरीको विवरणमात्र दर्ता किताबमा भेटिएको छ ।
अनुसन्धानमा कैलाशका दुई दाजु गोविन्द र गोपालले जन्मसिद्ध नागरिकको रुपमा पाएको नागरिकता चलाउँदै आएको देखिन्छ । तर कैलाशसँग बंशजको नागरिकता रहेको छ । सरकारी रेकर्डमा जन्मशिद्ध रहेको नागरिक कसरी वंशज नागरिक भए भन्ने प्रमाण भेटिएको देखिएन ।
कैलाश सिरोहियाले एक्स(ट्विटर) सार्वजनिक गरेको नागरिकताको प्रतिलिपीमा २०३६ भदौँ २५ मा नागरिकता लिएको देखिन्छ। नागरिकताको प्रकारमा नेपालको नागरिकता ऐन २००९ बमोजिम बंशज वा जन्मशिद्ध वा वैवाहिक काटिएको छ ।
सर्वोच्चद्वारा सिरोहियाको रिटमा कारण देखाऊ आदेश ः
यसैबीच, सर्वोच्च अदालतले कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियामाथि धरपकड र उनको नागरिकता छानबिन गर्नुपर्ने कारण पेस गर्न गृह मन्त्रालयका नाममा आदेश जारी गरेको छ । सिरोहियाले अन्तरिम आदेशसमेत माग गरेको भन्दै सर्वोच्च अदालतले त्यसबारे छलफल गर्न आगामी अन्तरिम आदेश छलफलका लागि झिकाउन आदेश दिएको छ ।
न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले गृह मन्त्रालय लगायत जिल्ला प्रहरी कार्यालय धनुषाको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
सरकारले आफूमाथि धरपकड गर्न खोजेको भन्दै सिरोहियाले बैशाख २४ गते गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालयविरुद्ध प्रतिषेधको रिट दायर गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाको नागरिकताको सम्बन्धमा परेको जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ । रिटमा गैर कानुनी धरपकड हुनसक्ने भन्दै सो रोक्न माग गरिएको थियो ।
प्रतिषेध भनेको न्यायिक वा अर्धन्यायिक निकायले अधिकार क्षेत्रभन्दा बढी अधिकार प्रयोग गरी वा कानुन नाघेर कुनै काम कारबाही गर्न लागेमा त्यस्तो नगर्नु भनी माथिल्लो न्यायिक निकायले दिने आदेश हो। यसले सार्वजनिक पद धारण गर्ने अधिकारी वा निकायले कारणवश गैरकानुनी निर्णय गर्न लागेमा त्यस्तो गर्नबाट रोक्न सक्छ । आदेश स्थायी प्रकारको हुन्छ ।
सिरोहियाको नागरिकताबारे प्रश्न उठाउँदै जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएको जाहेरीको आधारमा प्रहरी अनुसन्धानमा रहेको छ । यता सिरोहिया गैर कानुनी धरपकड हुनसक्ने भन्दै त्यसलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा गएका छन् ।
सिरोहियाको प्रतिषेध रिटको आधारमा अदालतले कारण देखाउ आदेश जारी गर्दै दुबै पक्षलाई छलफलमा बोलाएको हो । साभारः उकेरा ।
प्रकाशित मिति २०८१ बैशाख २८, शुक्रबार १४:२३ गते