
काठमाडौं– एउटै मञ्चमा आधा दर्जन कृतिको विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा ती कृतिहरूको बैशाख २८ गते लोकार्पण गरिएको हो ।
मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको आयोजनामा यसै प्रतिष्ठानका आजीवन सदस्य साहित्यकार एवम् निवृत्त शिक्षक समाज लमजुङका अध्यक्ष खुसीराम डौलियाका ‘समयका वेग’ र ‘समयका आवाज’ कविता सङ्ग्रह, ‘समुद्रपारी’ यात्रा संस्मरण, ‘सुखद मिलन’ उपन्यास, ‘डौलिया वंशावली’ र शारीरिक अशक्तताले ओछ्यानमा पर्नुभएका कवि दुर्गा क्षेत्रीको ‘सीमित आकाश’, कविता सङ्ग्रह कृतिहरू प्रतिष्ठानकै अध्यक्ष विजयराज न्यौपानेको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा लोकार्पण भएको छ ।
साहित्यकार डौलियाजीका विशेषता केलाउँदै शब्द शृङ्गारबाट चिनाउने काम मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानकी कार्यसमिति सदस्य अञ्जना पौडेल खनालले गर्नुभएको थियो । लोकार्पित कविता कृतिहरूको समीक्षात्मक विवेचना प्रा.डा. भागवत ढकालले गर्नुभएको थियो । उहाँले कविताको सटिक परिभाषा दिँदै भाव सौन्दर्य, अर्थ सौन्दर्य र लय सौन्दर्यको विवेचना गर्दै डौलियाका कविताको शैली र शिल्पबारे प्रकाश पार्नुभएको थियो ।
प्रमुख अतिथि भूपाल राईले जनता, साहित्यिक संघ संस्थाहरूसित जोडिन पाउँदा र प्रज्ञा प्रतिष्ठानलाई जनतामाझ पुर्याउँदै जाने क्रमको यो भेटमा खुसी र गौरव लागेको अभिव्यक्ति दिनुभएको थियो । प्रमुख अतिथि राईले ‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ बनाउने अभियानलाई सार्थक बनाउन अन्तक्रियात्मक कार्यक्रम गरिदै आइएको जानकारी दिनु भएको थियो ।
रास्वपाका लमजुङ संयोजक एवम् शिक्षा मन्त्रीका सल्लाहकार धर्म केसीले शुभकामना मन्तव्यको क्रममा साहित्यसँग जोडिँदा यसले शीतलता प्रदान गरेको, सुसंस्कृत बन्न सहयोग गरेको अनुभूति हुन्छ भन्दै नैतिक शिक्षालाई शिक्षासँग जोड्न जोडदिनु भएको थियो । गोरखामा नाम चलेका पूर्वप्रअ विद्वान् चूडा कट्टेलले समुद्रपारी यात्रा संस्मरण तथा सुखद मिलन उपन्यासको विशेषताहरूलाई औल्याउनु भएको थियो ।
डा. बमबहादुर थापा जितालीले मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको गति सकरात्मक ढङ्गले अघि बढिरहेकोमा खुसी व्यक्त गर्दै भाव तथा अर्थ सौन्दर्य झल्काउने शैली र शिल्पीले भरिपूर्ण कवितासमेत वाचन गर्नुभएको थियो । सर्जक डौलियाले डौलिया थर कसरी रहन गयो ? भन्ने सन्दर्भमा कथा जोडेर स्रोतालाई रोमाञ्चित बनाउँदै आफ्नो खाली समय साहित्य सिर्जनामा उपयोग गरेको र मर्स्याङ्दी वाङ्मयले त्यसलाई प्रस्तुत गर्ने अवसर दिएकोमा संस्थालाई हार्दिक धन्यवाद दिनुभएको थियो ।
पुस्तकालय अभियन्ता एवम् विभिन्न संस्थामा आवद्ध विद्वान् गणेशप्रसाद नेउपानेले कवितात्मक शुभकामना मन्तव्य दिनुभएको थियो । यसअघि भाग्यशाली अधिकारी, कल्पना भट्टराई, चन्द्रमणि अधिकारी, वीरबहादुर लोहनी, टेकबहादुर लौडारी, सरला ओझाले आ–आफ्ना गला र कलामा उत्कृष्ट कविता वाचन गर्नुभएको थियो ।
सर्जक डौलियाको ‘समयको आवाज कविता सङ्ग्रह’को हामी शीर्षकको एक शक्तिशाली, समसामयिक यथार्थपरक कविता वाचन गरेर सदा सक्रिय रहिरहने कविको गुणको प्रशंसा सभाध्यक्ष रहेका रहनु भएका न्यौपानेले गर्नु भयो । उहाँले कविका लोककवि पिता पद्मराजको स्मरण र मञ्चासिन कविकी एघार सन्तानकी ममतामयी माता लक्ष्मीमा हार्दिक आभार व्यक्त गर्नुभएको थियो । उहाँले उपस्थित महानुभावहरू सबैमा हार्दिक आभार व्यक्त गर्नुका साथसाथै मर्स्याङ्दी वाङ्मयको गतिविधिमाथि प्रकाश पारेर सभा समापन गर्नु भएको थियो ।
उक्त समारोहमा सहभागी अन्य महानुभावहरूमा नेपाल निवृत्त शिक्षक समाजका निवर्तमान अध्यक्ष चूडामणि कट्टेल, लेखककी आमा लक्ष्मीदेवी डौलियासँगै विभिन्न साहित्यिक संघ संस्थाहरू (दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठान, तीर्थ स्मृति प्रतिष्ठान, ठाकुरप्रसाद छाँगा स्मृति समाज, दुराडाँडा सेवा समाज, भोटेओडार सेवा समाज)का प्रतिनिधित्व गर्दै उपस्थिति रहेको थियो ।
साहित्यकार डौलियाका विशेषता केलाउँदै शब्द शृङ्गारबाट चिनाउने काम मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानकी कार्यसमिति सदस्य अञ्जना पौडेल खनालले गर्नुभएको थियो । प्रतिष्ठानका उपाध्यक्ष भाग्यशाली अधिकारीले लमजुङको गरिमा झल्काउँदै स्वागत मन्तव्य राख्नु भएको समारोहमा प्रतिष्ठानकै सचिव श्रीकृष्ण न्यौपानेले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
प्रकाशित मिति २०८१ बैशाख ३०, आईतवार १९:०३ गते