लमजुङ– नेकपा एमालेको जिल्ला सदरमुकाम स्थित बेसीशहर नगर समितिको दोस्रो अधिवेशन चलिरहेको छ । सो क्रममा पदाधिकारी चयनमा गरिएको प्रयास सफल नभएपछि बैशाख ३१ गते विहान ११ बजेतिर मतदान सुरु गर्ने तयारी छ ।
अध्यक्ष पदका लागि दुई जना, उपाध्यक्षमा तीन जना, सचिवमा दुई जना, सहसचिव महिलामा तीन जना चुनावी मैदानमा उत्रनु भएको छ । सहसचिव पुरुषतर्फ भने शंकर बस्नेत निर्विरोध हुनुभएको एमालेका जिल्ला सचिव राजेन्द्र बोहराले बताउनु भयो । उहाँका अनुसार २२१ जना मतदाता हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘६३ जना आयोजक समिति, १०१ जना वडाबाट छनौट भएका प्रतिनिधिहरू छन् भने बाँकी सल्लाहकार समितिका सदस्यबाट २२१ संख्या पुगेको हो ।’
चुनावी मैदानमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष सरद बराल(वडानं– ९) र भोजबहादुर रिमाल(वडानं– ६) हुनुहुन्छ । त्यस्तै, उपाध्यक्षमा राजकुमार श्रेष्ठ, इन्द्रबहादुर गुरुङ र शंकरनिधि कमली हुनुहुन्छ । सचिवमा गोविन्द खड्का र युवराज पौडेल हुनुहुन्छ भने उपसचिव महिलामा सपना श्रेष्ठ, विमला अधिकारी र प्रेमकुमारी गुरुङ रहनु प्रतिस्पर्धामा उत्रनु भएको छ । सहसचिवमै पुरुषतर्फ भने शंकर बस्नेत निर्विरोध हुनुभएको छ ।
यसैगरी, पाँच सदस्यीय हुने लेखा समितिको अध्यक्षमा इश्वरराज सेढाई चयन हुनुभएको छ । सो समिति पनि पुरै निर्विरोध भएको निर्वाचन समितिका संयोजक हिरालाल विकले बताउनु भएको छ । उहाँका अनुसार मतदानको काम पार्टीको जिल्ला कार्यालय रहेको मदन– आश्रित भवनमा विहान ११ का लागि सुरु गर्ने गरी तयारीमा आफूहरू जुटिरहेका छौं । उहाँले भन्नुभयो, ‘मतदानका लागि तयारी गर्दै गर्दा केही समय लागे पनि १२ बजेभन्दा ढिला हुँदैन ।’
एमालेको विधान अनुसार बेसीशहर नगर कमिटी ५७ सदस्यीय रहने छ । सदस्य पद सबैमा निर्विरोध भएको निर्वाचन संयोजक विकले जानकारी दिनु भएको छ ।
सो अधिवेशनको एमालेका उपमहासचिव एवम् गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैशाख २९ गते उदघाटन गर्नु भएको थियो ।
प्रकाशित मिति २०८१ बैशाख ३१, सोमबार ०७:०२ गते