अन्ततः क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा पाए सफाई

अन्ततः क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा पाए सफाई

एजेन्सी

@antaranganews

२०८१ जेठ २ गते बुधबार ०९:०३

यो बीचमा सन्दीपले डेढ वर्षमा बलात्कार मुद्दामा जेल जीवनदेखि धरौटीमा रिहा र दोषी हुँदै निर्दोषसम्मको यात्रा गर्नु पर्यो । सन्दीपको बलात्कार अभियोग र निर्दोषिताको यात्रासम्म उच्च र सर्वोच्च अदालतको फैसला खेल जीवन र उनको ब्यक्तिगत जीवनमा समेत टर्निङ ‘प्वाइन्ट’ का रुपमा रहने छ ।

सन्दीपलाई पञ्चेबाजाद्वारा स्वागत, क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा

काठमाडौँ– उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई उच्च अदालत पाटनले जेठ २ गते सफाइ दिएको हो ।
जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिइको उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले बताउनु भयो । उहाँका अनुसार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो । उहाँले भन्नुभयो ‘जिल्ला अदालतले जुन फैसला गरेको थियो, त्यो पूर्ण रुपमा उल्टिएको छ’ उनले भने, ‘सन्दीपले पूर्ण रुपमा सफाइ पाउनुभएको छ ।’
यसअघि जिल्ला अदालतले सन्दिपलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद र ५ लाख जरिवाना गर्ने फैसला गरेको थियो । फैसला गर्ने न्यायाधीशहरुको रायकिताबमा जिल्लाको फैसला उल्ट्याउने विषय मात्रै उल्लेख भएको भन्दै सफाइ दिनुको आधार र कारणबारे पूर्णपाठमा मात्रै विस्तृत विवरण खुल्ने प्रवक्ता पराजुलीले जानकारी दिनुभयो ।
गौशाल– २६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
बन्द प्रशिक्षणमा रहेका सन्दीपले ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर गौशाला २६ लाई नगरकोट लगेका थिए । त्यहाँबाट फर्किएर सिनामंगलस्थित एक होटलमा बसेका थिए । त्यहीँ बलात्कार गरेको पीडितले बताएकी छन् ।
उजुरी पर्दा क्रिकेट खेलका क्रममा विदेशमा रहेका सन्दीप नेपाल नआएपछि प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस जारी ग¥यो । २० असोजमा नेपाल आएका सन्दीप विमानस्थलबाटै पक्राउ परे, जिल्लाले पुर्पक्षका लागि थुनामा पठायो । तर उच्च अदालत, पाटनले २९ पुसमा २० लाख धरौटीमा छाड्यो ।
त्यसबेला उच्चले विदेश जान रोक लगाएको थियो, तर सर्वोच्च अदालतले उच्चको त्यो बन्देजात्मक व्यवस्था फुकुवा गरेपछि उनले नेपाल बाहिर गएर अन्तराष्ट्रिय क्रिकेट समेत खेले ।
जिल्ला अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएपछि भने सन्दीपले नेपालबाट खेलेनन् । लामो सुनुवाइ प्रक्रिया पूरा गरेपछि जिल्ला अदालतले गत पुस १३ गते सन्दीपलाई दोषी ठहर गरेको थियो ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले पीडितको दाजुले दिएको जाहेरी दर्खास्त, सन्दीप लामिछानेको बयान, विभिन्न व्यक्तिहरुको घटना विवरण कागज, निजहरूको बकपत्र लगायत सीसीटीभी फुटेजबाट सन्दीप दोषी देखिएको निष्कर्ष निकालेको थियो ।
घटनाका दिन पीडितको उमेर १८ वर्ष पुगिसकेको भन्दै उनले नाबालिका बलात्कार भने स्वीकार गरेन ।
आरोपपत्रमा पीडित १६ वर्षभन्दा माथि, तर १८ वर्षभन्दा मुनिको किशोरी भएकाले १० वर्षदेखि १२ वर्षसम्मको सजाय हुनुपर्ने माग दाबी थियो । न्यायाधीश ढकालले पीडितलाई नाबालिका भन्न नमिल्ने ठहरसहित सन्दीपलाई ८ वर्ष जेल सजाय सुनायो ।
सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । त्यसविरुद्ध उच्च अदालत पुगेका सन्दिपले सफाइ पाएका हुन् ।
पीडित गौशला २६ लाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने समेत आदेश दिएको थियो । त्यसविरुद्ध सन्दीपले हालेको पुनरावेदनमा उच्च अदालतले उनलाई सफाइ दिएको छ ।
उच्च अदालतको फैसलामा भनिएको छ, ‘ … निज प्रतिवादीलाई मुलुकी अपराध संहिता २०७४ को २१९ (३) (ङ) बमोजिम ८ वर्ष कैद र सोही दफाको (३) (ग) बमोजिम ३ लाख रुपैयाँ जरिवाना र २२८ बमोजिम २ लाख रुपैयाँ क्षतिपूर्ति समेत भरी पाउने गरी जिल्ला अदालत काठमाडौँबाट २०८० पुस १३ गते कसुर निर्धारण भई २०८० पुस २५ गते सजाय निर्धारण गर्ने गरी भएको फैसला मिलेको नदेखिँदा उल्टी बदर भई निज प्रतिवादी उपरको बादी नेपाल सरकारको अभियोग मागदाबी नपुगेकाले निज प्रतिवादीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ ।’
सन्दीपलाई पञ्चेबाजाद्वारा स्वागत :
सन्दीपले उच्च अदालत पाटनबाट सफाई पाउने विश्वासमा रहेका उनका आफन्त तथा शुभचिन्तकहरू साँझैसम्म अदालत परिसरमा बिहानैदेखि भेला भएका थिए । ठूलो संख्यामा सन्दीपका समर्थक भेला हुन थालेपछि सम्भावित दुर्घटनालाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
तर, अपराह्नतिर अदालतले सन्दीपको पक्षमा फैसला सुनायो । फैसला आउनबित्तिकै सन्दीपका समर्थकहरू बाजागाजासहित खुसियाली मनाउन थाले । पञ्चेबाजासहित आएका उनीहरूले सन्दीपलाई स्वागत गर्दै नाचगानका साथ खुसी साँटे ।
उनीहरूले सन्दीपको पक्षमा विभिन्न नारा पनि लगाएका थिए ।
सन्दीपका पछिल्ला ६ सय १७ दिन :
नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले अन्ततः करिब दुई वर्ष लामो बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएका छन् । यो बीचमा सन्दीपले डेढ वर्षमा बलात्कार मुद्दामा जेल जीवनदेखि धरौटीमा रिहा र दोषी हुँदै निर्दोषसम्मको यात्रा गर्नु पर्यो । सन्दीपको बलात्कार अभियोग र निर्दोषिताको यात्रासम्म उच्च र सर्वोच्च अदालतको फैसला खेल जीवन र उनको ब्यक्तिगत जीवनमा समेत टर्निङ ‘प्वाइन्ट’ का रुपमा रहने छ ।
भदौ २१ गते २०७९मा एक किशोरीद्वारा सन्दीप लामिछानेले ५ भदौमा बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । त्यो दिनदेखि आजसम्म ६ सय १७ दिन बितेको छ ।
देशलाई अब अझ माथि पुर्याउछु :
सफाइ पाएपछि सन्दीपले ‘देशलाई जहाँ पुर्याएको थिएँ, अब अझ माथि पुर्याउँछु’ भन्ने प्रण गरेका छन् । अदालतबाट सफाई पाएपछि छोटो प्रतिक्रया दिँदै उनले आफूले पहिलो दिनदेखि नै निर्दोष रहेको बताउँदै आएको बताए । उनले भने, ‘एक वर्षभन्दा धैरै भयो । पहिलो दिनदेखि नै मैले आफू निर्दोष छु भनेर भनिरहेको थिएँ । धेरै नै तरिकाले मलाई नभएको अपराधको दोषी खडा गरिएको थियो ।’ मैले पहिले पनि जिल्ला अदालतको फैसलालाई सम्मान गरेकै हो, अन्ततः हामी यहाँसम्म आइसकेका छौँ । आज पनि उच्च अदालतको फैसलाको सम्मान गरेर अगाडि बढ्नेछु । जतिले पनि मलाई साथ दिनुभएको थियो, आभारी छु । आगामी दिन नेपाललाई जहाँ मैले पुर्याएको थिएँ, त्यसभन्दा पनि माथि पुर्याउनेछु, उनले भनेका छन् ।
क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा :
पाँच महिनापछि सफाइ पाएका सन्दीपले अब आगामी जेठ तेस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी विश्वकप खेल्छन् वा खेल्दैनन् भन्ने क्रिकेटप्रेमीमाझ चासो छ ।
यसैबीच, नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको जनाएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो ।
बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएसँगै लामिछानेलाई अन्तर्राष्ट्रिय र घरेलु सबै प्रकारको क्रिकेट गतिविधिबाट निलम्बन फुकुवा गरिएको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी गराउनु भएको छ । अब उनले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा भाग लिन पाउने भएका छन् ।
आइसिसीले आगामी जेठ १२ गतेसम्म यसअघि घोषणा गरिएको टोलीमा परिवर्तन गर्न सहभागी टोलीलाई अनुमति दिएको छ । टोलीमा परिवर्तन गर्न चाहेमा आइसिसीको इभेन्ट टेक्निकल कमिटीबाट भने अनुमति प्राप्त गर्नु पर्नेछ ।
हाल नेपाली टोली विश्वकपको तयारीका लागि वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा छ । केही दिन सेन्ट भिसेन्टमा तयारी गरेपछि नेपाली टोली जेठ ७ मा अमेरिकाको टेक्सासमा फर्कनेछ । ह्युस्टमा पाँच दिन अभ्यास गरेपछि आइसिसी विश्वकपका वार्मअप खेल सुरू हुनेछन् ।
त्यसो त नेपालले अमेरिका र क्यानडासँग डालासमा दुई वार्मअप खेल खेल्ने सार्वजनिक भए पनि पक्का भने भइसकेको छैन ।
टी– २० विश्वकप २०२४ मा नेपाल समूह ’डी’ मा छ । समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप जोरा प्रमुख ब्याटरको रूपमा छन् । दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र गुल्सन झा अलराउन्डर छन् । सोमपाल कामी, करण केसी, प्रतिश जिसी र कमलसिंह ऐरी तीव्र गतिको युनिटमा छन् ।

प्रकाशित मिति २०८१ जेष्ठ २, बुधबार २१:०३ गते
हजुरको प्रतिक्रिया