काठमाडौं– अधिवेशनको तयारीमा रहेको नेकपा एकीकृत समाजवादीमा पदाधिकारी २१ बनाउने प्रस्ताव गरिएको छ । उपाध्यक्ष बेदुराम भुसालले वरिष्ठ नेता सहित जम्बो पदाधिकारी सहितको केन्द्रीय समिति बनाउने प्रस्ताव जेठ २ गते गर्नु भएको हो ।
सो प्रस्तावअनुसार, उपाध्यक्ष र सचिव ७÷७ जना हुनेछन् । उपमहासचिव ४ जना बनाउने प्रस्ताव गरिएको छ । अहिले एकीकृत समाजवादीमा तीन जना उपमहासचिव छन् । ती सबै पदको जोड २१ सदस्य हुन्छ । अहिले अभ्यासमा रहेको सम्मानित नेताको व्यवस्था भने हटाउँदै पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सम्मानित नेताको पद दिइएको छ ।
संशोधनको प्रस्तावित विधानमा केन्द्रीय समिति १९९ सदस्यीय हुने र २५ सदस्यीय स्थायी कमिटी बन्ने उल्लेख छ । वर्तमानमा भने एकीकृत समाजवादीमा करिब साढे तीन सय केन्द्रीय सदस्य छन् ।
प्रगतिशील संसदवाद र उत्पादनसँग जोडिएको भ्रष्टाचारमुक्त पार्टी’को प्रस्ताव ः
नेकपा एकीकृत समाजवादीको मुल नीति ‘प्रगतिशील संसदवाद र उत्पादनसँग जोडिएको भ्रष्टाचारमुक्त पार्टी’को प्रस्ताव गरिएको छ । महासचिव घनश्याम भूसालले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा पेश गर्ने प्रतिवेदन मार्फत् त्यस्तो प्रस्ताव जेठ २ गते गर्नु भएको हो ।
नेकपा एकीकृत समाजवादीका महासचिव भूसालले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा पेश गर्ने प्रतिवेदन मार्फत् ‘प्रगतिशील संसद् र उत्पादनसँग जोडिएको भ्रष्टाचारमुक्त पार्टी’को प्रस्ताव ल्याउनु भएको हो । उहाँले
पुष्पलालले नेपालमा सुरु गरेको जनवादी क्रान्तिको चरण पूरा भएको निष्कर्ष प्रस्तुत गर्दै नेता भूसालले समाजवादको उद्देश्य पुरा गर्न उक्त नीति प्रस्ताव गरेको बताउनु भएको छ ।
संगठनात्मक प्रतिवेदनमा भूसालले नेपालका सवैजसो कम्युनिष्ट र माक्र्सवादीहरूले हिड्ने बाटो यही भएको दावी समेत गर्नु भएको छ । सो प्रतिवेदन २४ पृष्ठ लामो छ ।
जनवादी क्रान्ति पूरा भएको सन्दर्भमा भूसालले लेख्नु भएको छ, ‘अबको दिशा समाजवादी हो भन्ने निष्कर्षमा पुगेका छौं । यो निष्कर्ष नेपालका सबैजसो कम्युनिष्ट तथा माक्र्सवादीहरूको साझा विचार बनेको छ ।,
२००६ सालबाट सुरु नयाँ जनवादी सिद्धान्त, २०४७ पछि जनताको बहुदलीय जनवाद र २०५२ पछि भएको माओवादी विद्रोह हुँदै ५६ वर्ष लामो संघर्षले २०६३ सालमा जनवादी क्रान्तिको चरण पुरा भएको भूसालको ठहर छ । भूसालले आफ्नो प्रतिवेदनमा तर जनवादी क्रान्ति पश्चात् लिनुपर्ने समाजवादी कार्यक्रमप्रति अलमल र समस्या रहेको उल्लेख गर्नु भएको छ । त्यस्तो समस्याको कारण दलाल पूँजीवादी अर्थ–राजनीतिक प्रणाली र रुढिग्रस्त संसद भएको उनको विश्लेषण छ ।
‘आर्थिक जीवन र राजनीतिक जीवनका चुनौतीको विश्लेषणबाट हामी क्रान्तिका मुख्य चुनौती देख्न सक्छौँ । दलाल पूँजीवादले आजको हाम्रो आर्थिक जीवनका सामान्य अवस्थाहरू निर्धारण गरेको छ भने संसदीय लोकतन्त्रले हाम्रो राजनीतिक जीवनका सामान्य अवस्थाहरूको निर्धारण गरेको छ’, प्रतिवेदनमा उल्लेख छ ।
एकीकृत समाजवादी सहित कम्युनिष्टहरू अब संसदबाट अलग हुन नसक्ने निष्कर्ष सहित भूसालले प्रगतिशील संसदवादको प्रस्ताव गर्नु भएको छ । उहाँले प्रतिवेदनमा ‘संसद बाहिर गरिने पार्टी गतिविधिको उद्देश्य पनि आवश्यक संवैधानिक तथा कानुनी सुधारका लागि संसदलाई प्रभावित पार्नु हो । त्यस अर्थमा हाम्रो बाटो संसदवादी नै हो’, लेख्नु भएको छ ।
तर रुढिग्रस्त संसदवादको साटो क्रान्तिकारी संसदवादको प्रस्तावमा उहाँले ‘योग्य व्यक्ति उम्मेदवार र आफूलाई निर्वाचित गर्ने जनताको निगरानी रहने वैधानिक व्यवस्था’को दुई विकल्प प्रस्तुत गर्नु भएको छ ।
उत्पादनसँग जोडिएको भ्रष्टाचारमुक्त पार्टी :
समाजवादी उद्देश्यका निम्ति अर्को चुनौती दलाल पुँजीवाद भएको भूसालको ठहर छ । दलाल पुँजीवादको बदलामा उत्पादन र रोजगार बढाउने राष्ट्रिय पुँजीको निर्माण गरिनुपर्ने निष्कर्ष सहितको प्रस्तावलाई महासचिव भूसालले ‘उत्पादनसँग जोडिएको, भ्रष्टाचारमुक्त पार्टी’ भन्ने उल्लेख गर्नु भएको छ । पार्टीमा जोडिएका नेता–कार्यकर्ताले गर्नुपर्ने काम, दायित्व र भूमिकालाई ९ बुँदामा उल्लेख गर्दै भूसालले राष्ट्रिय पुँजीको निर्माण गर्दै समाजवादी यात्रामा अगाडि बढ्नुपर्ने उहाँको प्रस्ताव छ ।
पार्टी संगठनको सुदृढीकरणलाई समेत भूसालले वैचारिक–राजनीतिक स्पष्टतासँग जोड्दै पार्टीले जनताको एजेण्डा बोकेर हिड्दा अहिले भइरहेको संगठन बढ्दै जाने र त्यसले मुलुकलाई समाजवादी यात्रा डोहोर्याउने महासचिव भूसालको तर्क रहेको छ ।
एकीकृत समाजवादीले संगठन निर्माण, नेतृत्व विकास, राज्य सञ्चालन जस्ता विषयमा सैद्धान्तिक–राजनीतिक स्पष्टताका साथ अगाडि बढाउनुपर्ने प्रस्ताव गर्दै उहाँले नेपालमा कम्युनिष्ट पार्टीको ऐतिहासिक पक्षको व्याख्या गर्नुभएको छ ।
प्रकाशित मिति २०८१ जेष्ठ ३, बिहीबार ०७:३० गते