बेसीशहर– नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङको कार्यालय भवन उदघाटनको तयारी थालिएको छ । सो प्रयोजनका लागि भवनमा रङ्ग रोकन गर्ने कार्य थालिएको छ । भवनको यही जेठ २६ गते भित्रै उदघाटन गर्ने तयारी छ ।
बेसीशहर नगरपालिका– ३ मा निर्माण गरिएको सो भवनको दुई तला रहेका छन् । ती दुई तलामा १२ कोठा(सटर सहित) बनाइएको छ । भवन निर्माणका लागि पाँच करोडको डिपिआर रहेको भएता पनि यतिबेला भने प्राप्त भएको रकम र प्रतिवद्धता आए अनुसार झण्डै पौने करोड खर्च भएको आंकलन गरिएको छ ।
उक्त भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले पटक पटक गरी ३५ लाख रुपैयाँ सहयोग गरेको पत्रकार महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारीले बताउनु भयो । उहाँका अनुसार अन्य प्राप्त सहयोगमा सुन्दरबजार नगरपालिकाबाट आठ लाख, बेसीशहर नगरपालिकाबाट पाँच लाख, मध्यनेपाल नगरपालिकाबाट १० लाखको प्रतिवद्धता भएकोमा तीन लाखमात्र भुक्तानी प्राप्त भएको छ भने सूचना तथा सञ्चार मन्त्रालयबाट दुई लाख रुपैयाँ प्राप्त भएको छ ।
यसैगरी, राइनास नगरपालिका, क्ब्होलासोथार गाउँपालिका र २२० केभी प्रशारण लाइनबाट ५÷५ लाखको प्रतिवद्धता आएको छ । मर्स्याङदी गाउँपालिकाबाट चार लाख, दोर्दी र दूधपोखरी गाउँपालिकाबाट २÷२ लाखको प्रतिवद्धता आएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिवद्धता आएका स्थानमा सम्झौता गर्ने र भुक्तानी लिने काम जारी रहेको छ ।
सो भवनमा गृहप्रवेशको कार्य समेत सम्पन्न भइसहेको छ । महासंघको वर्तमान कार्यकाल अन्तिम चरणमा रहेको र आफ्नै पालामा भवनबाट कार्यालयको कामको थालनी गर्ने अध्यक्ष अधिकारीको प्रतिवद्धता अनुसार सो काम भएको हो । भवन निर्माणका लागि जग्गाको प्राप्तिसमेत यही कार्याकालमा भएको हो । कुल १३ आना रहेको उक्त घडेरी जग्गा तीन आना महासंघले खरिद गरेको र १० आना दानमा प्राप्त भएको हो । सो जग्गा स्वावलम्बी समाजसेवा केन्द्रका अध्यक्ष गमप्रसाद गुरुङ सहितका पदाधिकारीहरूले आफ्नो संस्थाका नाउँमा रहेको घडेरी जग्गा महासंघलाई प्रदान गर्नु भएको हो ।
उक्त भवन निर्माण भएसँगै महासंघले २५ वर्षे इतिहास पार गर्दै गर्दा आफ्नै भवनमा कार्यालय सञ्चालनको मौका पाउने भएको हो । महासंघको यो कार्यकालमा इतिहासकै सबैभन्दा ठूलो उपलब्धीका रुपमा यो कार्यलाई हेरिएको महासंघ लमजुङका संस्थापक अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ ।
प्रकाशित मिति २०८१ जेष्ठ ३, बिहीबार ०९:०३ गते