चेक बाउन्सका मुद्दाले कास्की प्रहरी हैरान

चेक बाउन्सका मुद्दाले कास्की प्रहरी हैरान

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ जेठ ३ गते बिहिबार ११:४४

चेक काटिएको ६ महिनाभित्र ३ पटकसम्म साट्न जाँदा पनि नसाटिएपछि उक्त चेक बाउन्समा गणना हुन्छ । सहकारीका चेकहरू बाउन्स भएका घटना पनि धेरै छन् । चेकबाउन्स हुने अधिकांश मुद्दा घरजग्गा, गाडी, वैदेशिक रोजगारी र मिटरव्याजसँग जोडिएका छन् । आजभोलि व्यापारिक कारोबारमा चेक बाउन्स हुने क्रम बढेको थापाले जानकारी दिनुभयो ।

सहकारीका चेकहरू बाउन्स भएका घटना पनि धेरै छन् ।

पोखरा– चालु आर्थिक वर्ष २०८०÷८१ को १० महिनामै चेक बाउन्सका मुद्दा ७१७ वटा पुगेका छन् । कास्की प्रहरीमा दर्ता भएका उजुरीमध्ये सबैभन्दा बढी ४० प्रतिशत उजुरी बैंकिङ कसुर सम्बन्धी रहेको प्रहरी भनाइ छ ।
कास्कीमा गत वर्ष चेक बाउन्सका ५ सयभन्दा बढी मुद्दा दर्ता भएको प्रहरी भनाइ छ । आर्थिक वर्ष २०७९÷८० मा ५१७ वटा मुद्दा दर्ता भएका छ । यस आवको पहिलो १० महिनामै चेक बाउन्सका मुद्दा ७१७ वटा पुगेका छन् । अझै २ महिनामा त्यो संख्या थप बढ्ने प्रहरीको भनाइ छ ।
अघिल्लो आर्थिक वर्षमा २९४ जनालाई कानुन अनुसार मुद्दा चलाइएको प्रहरी प्रमुख मोहनकुमार थापाले बताउनु भयो । उहाँका अनुसार चालु वर्षमा २२९ जना विरुद्ध मुद्दा चलेको छ । त्यसमा ठाडो उजुरीको संख्या भने गणना गर्नै नसक्ने अवस्था रहेको छ । थापाले भन्नुभयो, ‘ठाडो उजुरी त कति पर्छन् पर्छन् । दिनमै २५ भन्दा बढी उजुरी आउँछ, सबै दर्ता र अनुसन्धान गर्न हामीसँग पर्याप्त जनशक्ति नै छैनन् ।’
त्यस्ता केही व्यक्तिहरू हिरासतमा पुगेका पनि छन् । एउटै व्यक्तिसँग करोडौँ रकमसम्मको कारोबार भएको छ । कतिपय मुद्दा मिलापत्र गरिएको छ । अधिकांश कानुनी प्रक्रिया अनुसार मुद्दामा लगिएको थापाको भनाइ छ । ‘सुरुमा चेक बाउन्सको हकमा ठाडो उजुरी लिन्छौँ । पीडकलाई बोलाउँछौँ, बोलाउँदा आएमा धेरै जसो मिलापत्र हुन्छ । मिलापत्र नहुने अवस्थामा मुद्दा चल्छ ।’ थापाले भन्नुभयो ।
सहकारीका चेकहरू बाउन्स भएका घटना पनि धेरै छन् । चेकबाउन्स हुने अधिकांश मुद्दा घरजग्गा, गाडी, वैदेशिक रोजगारी र मिटरव्याजसँग जोडिएका छन् । आजभोलि व्यापारिक कारोबारमा चेक बाउन्स हुने क्रम बढेको थापाले जानकारी दिनुभयो ।
चेक काटिएको ६ महिनाभित्र ३ पटकसम्म साट्न जाँदा पनि नसाटिएपछि उक्त चेक बाउन्समा गणना हुन्छ । बैंकले खातामा पैसा नभएको जानकारी सहितको चिठी दिएपछि प्रहरीले उजुरी लिन्छ । चेक बाउन्स भएपछि सम्बन्धित व्यक्तिलाई बैंकको कालोसूचीमा राख्ने, चल–अचल सम्पत्ति रोक्का गर्ने लगायत प्रक्रिया रहेको बैंकर्स एसोसियन गण्डकीका संयोजक सूर्यप्रसाद तिवारीले बताउनु भयो ।
चेक बाउन्सका कारण प्रहरीमात्रै होइन, पोखराका व्यापारी र व्यवसायीहरू पनि आजित भएका छन् । त्यसैले पोखरा उद्योग वाणिज्य सङ्घले चेक अनादर (बाउन्स) र यसका समस्या तथा समाधानबारे उपायको खोजी गर्न अन्तरक्रिया नै गरेको थियो । उहाँका अनुसार चेक बाउन्स हुँदा कानुनी उपचार खोज्ने प्रक्रिया सिक्न अन्तरक्रिया गरिएको हो ।
अध्यक्ष पवनकुमार प्रजापतिले चेक बाउन्सका घटना बढ्दा त्यसको मारमा आफूहरू परेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले बजार सुस्ताएको छ । नगदभन्दा उधारो कारोबार बढी हुन्छ । धेरैले चेकबाट कारोबार गरेका हुन्छन्, चेक साट्न पठाउँदा रकम नभएर फर्किनुपर्छ । यसमा राज्य नै संवेदनशील हुनुपर्छ ।’
प्रहरीले पनि बैंकिङ कसुरका घटना हुन नदिन पछिल्ला दिनमा सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति २०८१ जेष्ठ ३, बिहीबार ११:४४ गते
हजुरको प्रतिक्रिया