काठमाडौं– स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले ६ दिन लामो २२ औं आमरण अनशन तोड्नु भएको छ । द्वन्द्वपीडित भानुप्रताप शाह लगायतले जुस खुवाएर डा. केसीको अनशन जेठ ३ गते तोडाउनु भएको हो ।
पशुपति मृगस्थलीमा अनशनरत केसीको स्वास्थ्यमा समस्या आएपछि हिजो साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उहाँको मुटुको चालमा समस्या देखिनुका साथै रगतमा सुगरको मात्रामा कमी देखिएको चिकित्सकले बताएका थिए । चिकित्सकहरूले जुनसुकै बेला अझ गम्भीर भई उहाँको जीवनलाई खतरा हुनसक्ने चेतावनी दिएपछि डा. केसी अनशन तोड्न सहमत हुनु भएको हो ।
उहाँले शासकहरूको नियतलाई दृष्टिगत गरी अनशन तोड्न सहमत भएको बताउनु भएको छ । हत्या हिंसाको माध्यमबाट सत्तामा आएका दल र त्यस्तो पृष्ठभूमिमा रहेकाहरूले शान्तिपूर्ण अहिंसात्मक सत्याग्रहको माग सम्बोधन गर्छन् भन्ने सोच्नु मुर्खता हुने भन्दै डा. केसीले आफ्नो वक्तव्यमा, ‘अनैतिक शासकहरूको अगाडि नागरिकको नौतिक याचना फगत याचनाको रूपमा रहेको देखिन्छ । त्यसैले आन्दोलन जारी रहने प्रतिवद्धता गर्दै हाललाई सत्याग्रह स्थगन गरेको जानकारी गराउन चाहन्छु ।’ उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘हत्या हिंसाको माध्यमबाट सत्तामा आएका दल र त्यस्तो पृष्ठभुमिमा रमेका रमाएकाहरूले शान्तिपूर्ण अहिंसात्मक सत्याग्रहको माग सुनुवाइ गर्छन् र शासकहरू संवेदनशील बन्छन् भन्ने कुरा सोच्नु मूर्खता हो ।’
उहाँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनैतिक शासकहरूको अगाडि नागरिकको नैतिक याचना फगत याचनाको रूपमा रहेको देखिएको छ । तसर्थ, हाम्रो आन्दोलन जारी रहने प्रतिबद्धता गर्दै हाललाई सत्याग्रह स्थगन गरेको जानकारी गराउँछु ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहितका चारबुँदे माग राखेर डा. केसीले वैशाख २९ गते अमरण अनशन थाल्नु भएको थियो ।
प्रकाशित मिति २०८१ जेष्ठ ३, बिहीबार २१:३५ गते