बेसीशहर– लमजुङको शिक्षा क्षेत्रमा शक्तिको पाराकाष्टा उजागर भएको छ । स्थानीय बालमन्दिरमा रहेको प्रावि तहको अध्यपन कार्यमा दरबन्दी पूर्ण हुँदाहुँदै पनि काजमा सरुवा गरेर ल्याइएका एक शिक्षकलाई उनी हाजिर भएकै दिनमा प्रधानाध्यापकको जिम्मेवारी दिइएको बैशाख २७ गते खुल्न आएको छ ।
बेसीशहर नगरपालिका– ७ को भीमसेनस्थान भित्रपट्टी रहेको बालमन्दिरमा कक्षा– शिशुदेखि कक्षा– ५ सम्मको पढाई हुन्छ । विद्यार्थी संख्या जम्मा २० रहेको छ भने त्यसमा तीनजनाको दरबन्दी रहेकोमा त्यो पूर्ण थियो । थप एक शिक्षिका बालविकासको समेत गरी चारजना कार्यरत रहेका थिए । त्यसमा बैशाख २६ गते अशोक सिंखडालाई बेसीशहरकै वडानं– १ स्थित पुमा गाउँमा रहेको प्रावि तृतीय तहमा भरखरै नियुक्ति(गत चैत २८ गते) भएका उनलाई काजमा सरुवा गरी ल्याइएको थियो । उनी सो विद्यालयमा हाजिर भएको औपचारिक रुपमा शिक्षा शाखामा जानकारी समेत पठाइएको थिएन ।
सिंखडा बैशाख २६ गते हाजिर भए । सोही दिन वडाध्यक्षको अध्यक्षतामा व्यवस्थापन समितिको बैठक बोलाइयो । त्यो दिनसम्म व्यवस्थापन समितिले समेत पूर्णता पाएको अवस्था पनि थिएन । सो बैठकमा आशा तामाङलाई व्यवस्थापन समितिको अध्यक्ष तोक्ने काम गरियो ।
त्यसपछि, प्रावि द्वितीय तहमा ५० को दशकमै स्थायी नियुक्त भई प्रधानाध्यापकमा समेत कार्यरत रहनु भएकी वाहालवाला प्रधानाध्यापक बसन्ती पराजुलीलाई घोक्रेठ्याक लगाउँदै सिंखडालाई प्रधानाध्यापक बनाउने काम भयो । पराजुलीले गत वर्षमात्र प्रधानाध्यापकको जिम्मेवारी पाउनु भएको रहेछ । यस घट्नाले शक्ति हुने व्यक्तिहरूले जे पनि गर्न सक्दा रहेछन् भन्ने खुलासा भएको बजारमा चर्चा छ ।
स्मरणीय छ, जिम्मेवारी खोसिएकी पराजुली शिक्षक संघ समर्थक र जिम्मेवारी दिइएका सिंखडा शिक्षक संगठन समर्थक भएको बुझिन आएको छ ।
प्रकाशित मिति २०८१ जेष्ठ ४, शुक्रबार ०६:३९ गते