काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरू तमासा हेरेर बस्ने अवस्थामा रहेको बताउनु भएको छ । उहाअँले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा राष्ट्रिय राजनीतिका घटनालाई नजिकबाट नियालिरहेको जेठ ५ गते बताउनु भएको हो ।
देशमा स्थायीत्व होस् र कम्युनिस्टहरूबीच एकता र समझदारी बनोस् भन्ने आफ्नो चाहना रहेको बताउँदै व्यङ्ग्यात्मक शैलीमा अध्यक्ष नेपालले भन्नुभयो, ‘राष्ट्रिय राजनीतिमा तमासा भइरहेको र आफूहरू त्यही तमासा हेरेर बसिरहेका छौं, हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा उहाँ भन्दा बढी बिजी कोही पनि छँदै छैन होला । हामी त खाली तमासा हेरेर बस्ने मान्छे हो ।’
यस्तो अवस्थामा राजनीति कतातिर जान्छ भन्ने चिन्ता लागेको समेत अध्यक्ष नेपाले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिले कुन कोर्ष लिएर जाने हो, यो सबै कुराको सन्दर्भमा राम्रो दिशामा यो देशको राजनीति अघि बढोस् ।’ राष्ट्रिय राजनीतिमा आफूहरूलाई बेवास्ता गरिएको गुनासो समेत उहाँको थियो ।
कम्युनिस्ट आन्दोलनलाई अघि बढाएर लैजाने ऐतिहासिक जिम्मेवारी आफूहरूको रहेको अध्यक्ष नेपालले स्मरण गर्नु भयो ।
प्रकाशित मिति २०८१ जेष्ठ ५, शनिबार १९:२१ गते