उपप्रधान तथा गृहमन्त्री रविलाई २ महिनापछि संसदमा बोल्न दिइयो

उपप्रधान तथा गृहमन्त्री रविलाई २ महिनापछि संसदमा बोल्न दिइयो

एजेन्सी

@antaranganews

२०८१ जेठ ६ गते आईतबार ०८:०९

‘म विष पिउन र परीक्षा दिन तयार छु’ व्यक्ति केन्द्रित छानबिन गर्न कांग्रेसका नेताहरू तयार हो ? ‘गृहमन्त्री हुन नैतिक रूपमा नमिल्ने भए प्रधानमन्त्री हुन चाहिँ कुन नैतिक रूपले मिल्ने रहेछ ?, अफर गर्नेहरूले कान रातो पार्नु पर्दैन । म राजनीतिमा गोपनीयतालाई ख्याल राख्ने मान्छे हुँ ।’ रविको प्रश्न उठाउनु भएको छ ।

सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैन : रवि

काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई २ महिनापछि प्रतिनिधि सभा(संसद) बैठकमा बोल्न दिइएको छ । गृहमन्त्रीमा नियुक्त भएको भोलिपल्टदेखि प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसदमा उहाँमाथि सहकारीको रकम अपचलनको दाबी गर्दै बोल्न समेत बन्देज गरेकोमा जेठ ६ गते बोल्न दिइएको हो ।
सरकारले संसदीय छानबिन समिति बनाउन तयार भएपछि कांग्रेसले बोल्न दिएको हो ।
नियमित कानुनको प्रक्रियालाई पन्छाएर संंसदीय छानबिनका निम्ति बाध्य पार्नु अवैधानिक भएको उहाँको तर्क छ ।
सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैन : रवि
गृहमन्त्री रविले आफू सूर्यदर्शन लगायतका सहकारीको कुनै रकम अपचलन नगरेको बताउनु भएको छ । आजको संसद बैठकमा गृहमन्त्री रविले आफू गोर्खा मिडिया प्रा.लीमा रहँदा सहकारीबाट ऋण लिने विषयमा कुनै निर्णय नभएको, ऋण लिने प्रक्रियामा आफ्नो कुनै निवेदन, हस्ताक्षर, आफ्नो बैठक खातामा पैसा नआएको र आशंका गर्नेहरूले त्यो प्रमाणि गरेर देखाउन चुनौती दिनुभयो ।
जीबी राईले गरेका फोहोरको भारी आफूमाथि नथोपर्न आग्रह गर्दै उहाँले आफूमाथि मिडियाबाजी गरेर मिडियाको हेडलाइनका आधारमा कांग्रेसले संसद् अवरुद्ध गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नु्भयो, ‘स्वेड सेयर लिएर काम गर्ने निधो गरेँ । छोड्दा सेयर पनि छोडेँ । गोरखा मिडिया नेटवर्कमा सदस्यसमेत नभएको मानिसको कारोबारमा जोडिने कुरा भएन । मेरो संलग्नता कहीँ कतै छैन र देखिएन । त्यसकारण कहीँ कतै ममाथि मुद्दा चलेन, अभियोजना भएन ।’
प्रधानमन्त्री अफरको डेट एक्सपायर भयो कि बाँकी छ ? भन्दै देउवालाई प्रश्न :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति समेत रहनु भएका रविले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन ? भनेर कांग्रेस सभापतिलाई प्रश्न गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिं कुन नैतिकताले मिल्ने रहेछ ? मेरो प्रश्न छ, हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?’ उहाँले थप भन्नुभयो, ‘यो कुराको जवाफ यही सदनमा उभिएर कांग्रेस सभापतिले दिनुभयो भने मेरो लागि कल्याण हुनेछ ।’ गृहमन्त्री हुन अनैतिक हुने, प्रधानमन्त्री हुन नैतिक कसरी ? भन्ने प्रश्न समेत गर्दै भन्नुभयो, ‘गृहमन्त्री हुन नैतिक रूपमा नमिल्ने भए प्रधानमन्त्री हुन चाहिँ कुन नैतिक रूपले मिल्ने रहेछ ?, अफर गर्नेहरूले कान रातो पार्नु पर्दैन । म राजनीतिमा गोपनीयतालाई ख्याल राख्ने मान्छे हुँ ।’
रविले देउता सम्झेर आफूलाई प्रधानमन्त्रीको अफर गरेको हो कि होइन ? भन्दै कांग्रेस सभापति देउवालाई प्रश्न गर्नु गर्दै प्रष्ट्याउन भन्नु भएको छ ।
‘म विष पिउन र परीक्षा दिन तयार छु’ :
आफ्नो आक्रोशपूर्ण सम्बोधनमा रविले भन्नुभयो, ‘म विष पिउन तयार छु, म परीक्षा दिन तयार छु ।’ उहाँले प्रहरी र अदालतमा दर्ता नभएको तर हल्लालाई नै आधार मानेर व्यक्तिगत रुपमा समिति बनाएर अनुसन्धान गर्न प्रतिपक्षी कांग्रेसले माग गरेकोतर्फ लक्षित गर्दै ‘कुनै पनि समितिबाट वा परीक्षाबाट भाग्ने मेरो नियत होइन व्यक्ति केन्द्रित समिति बनाउने कुरा पनि छन् । बनाउँ व्यक्ति केन्द्रित, यस्तो अवस्थामा पनि हामीले व्यक्तिकेन्द्रित समिति बनाउने हो? मिडियामा आएकै समाचारको भरमा समिति बनाउने हो?’ मिडियामा आएकै कन्टेन्टको आधारमा मात्रै समिति बनाउने हो वा थप अध्ययन गर्ने हो ?’
व्यक्ति केन्द्रित छानबिन गर्न कांग्रेसका नेताहरू तयार हो ?
कांग्रेसका नेताहरू पनि विभिन्न प्रकरणमा मुछिएको स्मरण गर्दै उनीहरूको पनि व्यक्तिमाथि नै केन्द्रित रहेर समिति बनाउन उहाँले माग गर्दै चुनौतिपूर्ण शैलीमा भन्नुभयो, ‘प्रतिपक्षी कांग्रेसका नेताहरू आफू मुछिएका प्रकरणको व्यक्तिगत रुपमा अनुसन्धान गर्न तयार हो भने आफू पनि तयार रहेको र त्यसको सुरुवात आफैबाट गरौं ।’
देश कसैको गनगनले चल्दैन :
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको साक्षी बस्दै आएकाहरूको गनगनले देश नचल्ने दावी गर्नु भएको छ । उहाँले दुई महिनाअघि बोल्न पाएको भए यति धेरै कोलाहल नहुने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सुरुमा बोल्न पाएको भए ९ मिनेट १८ सेकेन्डमै सकिन्थ्यो । यहाँ बोल्न विधेयक होइन पत्रिकाका हेडलाइन पढ्नुपर्ने रहेछ ! आश्चर्यको बोल्न दिने वा नदिने लोकतान्त्रिक पार्टीले निर्णय गर्ने रहेछ । लोकतन्त्रको कुन अभ्यास हो ।’
‘रवि लामिछाने कायर हैन, उजुरीसँग डराउँदैन’
रविले आफू र आफ्नो पार्टी कायर नभएको भन्दै मिडिया ‘ट्रायल’ले आफू कमजोर नहुने चेतावनी दिनु भएको छ । ‘रास्वपा कायरहरूको पार्टी होइन, रवि लामिछाने कायर हैन ।’ उहाँले भन्नुभयो ।
आफूहरू सत्यको बाटोमा हिँडेको भन्दै उनले झुटा मुद्दा र उजुरीसँग नडराउने बताए । ‘हामीसँग दरिलो मुटु छ, मिडिया ट्रायलको खेल चल्दैन । खेल्न र हार्न केही छैन । झुटा मुद्दा र उजुरीसँग डराउँदैन । झुक्न एक इन्च पनि स्वीकार्य छैन ।’
तपाईंको सभापति ठग होइन :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रविले आफ्नै सांसदहरूलाई प्रतिपक्ष र मिडियाले लगाएको आरोपबाट भ्रममा नपर्न आग्रह गर्दै आफू ठग नभएको बताउनु भएको छ । रविले रोस्ट्रममा उभिएर भन्नुभयो, ‘म यतातिर रहेका सांसदहरूलाई भन्न चाहन्छु– तपाईंको सभापति ठग होइन ।’
आफूमाथि उठाइएका प्रश्नको जवाफ दिँदै अत्याचार भएको र त्यो सहन तयार रहेको उल्लेख गर्दै उहाँले भन्नु भयो । ‘ … संसदीय छानिबनका लागि बाध्य पार्ने कार्य अनुचित हो । अनैतिक हो । अराजनैतिक हो । अवैधानिक हो । अन्याय हो । अति हो र अत्याचार गर्नु हो, म अत्याचार, अन्याय सहन तयार छु ।’ प्रतिपक्ष दलले ‘जसरी पनि पिलाएरै छाड्ने’ निर्णय गरेको र हातखुट्टा बाँधेर बोल्न नदिएको उहाँको तर्क थियो ।
मिडियामा प्रकाशित÷प्रसारित समाचारका आधारमा संसदीय छानबिन समिति गठनको माग गरिएको भन्दै उपप्रधान एवं गृहमन्त्री रविले असन्तुष्टि व्यक्त गर्नु भयो । उहाँले नेपाली कांग्रेसका महामन्त्री गगन थापाका विषयमा प्रकाशित समाचार समेत प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्नु भएको थियो ।
गगनको बाख्रापालन माथि प्रश्न :
आफ्नो सम्बोधनको क्रममा रविले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम नतोकी कृषि अनुदानमा बाख्रा पाल्नेहरूलाई सदनबाट बाहिर पठाउन माग गर्नु भएको छ । संसद् बैठकमा लामिछानेले सरकारको अनुदान लिएर कुखुरा, माछा, खसीबाख्रा पाल्नेलाई सदनबाहिर पठाउन माग गर्नु भएको हो ।
उहाँले ०५५ सालमा गगन थापा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति हुँदा ३० लाख रुपैयाँ बेरुजु भएको महालेखा प्रतिवेदनमा उल्लेख रहेको, त्रिभुवन विश्वविद्यालयको वेबसाइट बनाउने भनेर पैसा लिएको तर नबनाएको, नुवाकोटमा बाख्रा पाल्ने भनेर थापाले १५ करोड अनुदान लिएकोसहितका समाचार प्रकाशित भएको उल्लेख गर्दै त्यसमाथि पनि छानबिन गर्ने हो ? भन्दै रविले प्रश्न उठाउनु भएको थियो ।
यसैगरी, गगन थापा स्वास्थ्यमन्त्री हुँदा थापाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बनाउन प्राध्यापकसँग १४ करोड रुपैयाँ घुस खाएको समाचार प्रकाशित भएको पनि रविले देखाउनु भएको थियो ।
गृहमन्त्री रविले आफूले कुनै ठगी नगरेको बताउँदै आफूमाथि संसदीय छानबिन समिति बनाएमा आपत्ति नहुने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति २०८१ जेष्ठ ६, आईतवार २०:०९ गते
हजुरको प्रतिक्रिया