काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाउनु भएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’को पक्षमा १५७ मत आएको छ । संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको जेठ ७ गते घोषणा गर्नु भएको हो ।
प्रधानमन्त्री प्रचण्डले एमालेसँगको सत्ता गठबन्धन निर्माण गरेपछि दोस्रोपटक विश्वासको मत प्राप्त गर्नु भएको हो । तथापि विश्वासको मत लिने सम्पूर्ण प्रक्रियामा नेपाली कांग्रेससहितका प्रतिपक्षी दलको अवरोध गरेका थिए । आज दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली २०७९ नियम १५५ को उपनियम ४ बमोजिम प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नु भएको थियो ।
सभामुखले मत विभाजन गर्नु हुँदा २७५ सदस्यीय प्रतिनिधिसभामा १५८ जना सहभागी रहेका थिए । जसमा प्रधानमन्त्रीको पक्षमा १५७ मत पर्यो भने विपक्षमा ० र दिन्न भन्ने अर्थात तटस्थमा १ मत परेको थियो । कांग्रेससहित विपक्षी सांसदहरू मतदान प्रक्रियामा सहभागी नभइ नाराबाजीमै रमाई रहे ।
मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल तटस्थ रहनु भयो । प्रमुख प्रतिपक्षी दल कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लाकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जसपा नेपाल लगायतका दलले नाराबाजी गरेका थिए । सत्ता गठवन्धनभित्र रहेका एकीकृत समाजवादीका प्रकाश ज्वाला, नाउपाका गंगाराम चौधरी र एमालेका वसन्त नेम्वाङ अनुपस्थित भए ।
सरकारमा सहभागी दल जनता समाजवादी पार्टी(जसपा) नेपाल विभाजन भएसँगै सो पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु परेको हो ।
प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिँदा सभामुख देवराज घिमिरेले प्रतिपक्षीलाई बोल्न समेत मौका नदिई कारवाही अगाडि बढाउनु भएको थियो । प्रधानमन्त्री दाहालले विश्वासको मत माग्नु भएको थियो । उहाँले आफूले प्रधानमन्त्री भएदेखि नै जनतामा आशा जगाउने गरी काम गरेको बताउँदै विश्वासको मत माग्नु भएको हो । प्रधानमन्त्रीले विश्वासको मत लिँदा देखाएको व्यवहारको चर्को मूल्य कांग्रेसले चुकाउनु पर्ने चेतावनीसमेत दिनु भएको हो ।
एमालेकै सांसद टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणका क्रममा निलम्बनमा रहेका छन् ।
संसदमा प्रधानमन्त्री प्रचण्डका पक्षमा नेकपा एमाले– ७६, माओवादी– ३२, रास्वपा– २१, एकीकृत समाजवादी– ९, अशोक राई– ७, नाउपा– ३, जनमत– ६, प्रभु साह– १, अमरेशकुमार सिंह– १, योगेन्द्र मण्डल– १ गरी कुल– १५७ मत परेको हो भने मत दिन्न भन्नेमा १ मत रहेको थियो ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मतको प्रस्ताव पेश गर्न सभामुखले समय दिएपछि नेपाली कांग्रेसका सांसदहरूले बेल घेराउ र नाराबाजी गरेपछि प्रधानमन्त्री मर्यादा पालकको घेरामा रोष्टममा पुग्नु भएको थियो । प्रधानमन्त्रीले प्रस्ताव पेश गरेपछि एमाले नेता विष्णु पौडेलले प्रस्तावको पक्षमा आफ्नो धारणा राख्नु भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘तपाईंहरू (नेपाली कांग्रेस)ले आज बहुत गलत गर्नुभयो भन्ने मलाई लागेको छ । नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरूलाई पटक–पटक साथ दियो । र, यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईंहरूलाई संवाद र सहमतिको बाटोमा ल्याउन मेहनत गरेको छ त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर तपाईंहरूले इतिहासमा एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । म त्यसका निम्ति गहिरो दुःख व्यक्त गर्दछु । तपाईंहरू नेपाली कांग्रेसका लागि मूल्य धेरै चर्को पर्नेछ । आजको यो तपाईंहरूको गतिविधि नेपालको इतिहासमा राम्रैसँग कलङ्कको रूपमा स्थापित हुनेछ ।’
वेलसम्म पुगेका विपक्षी दलका सांसदहरूलाई मर्यादापालकले चारैतिरबाट घेरेर राखेका थिए । विपक्षी दलहरूले वेल घेरेका कारण प्रधानमन्त्री प्रचण्ड भिड छिचोल्दै रोष्टमसम्म पुग्नु परेको थियो । त्यो भोगाईले आक्रोशित हुनुभएका प्रधानमन्त्री प्रचण्डले रोष व्यक्त गर्दै कांग्रेसको यो गतिविधि कलंकको रुपमा स्थापित हुने उल्लेख गर्नु भयो । उहाँले विगतमा पटकपटक कांग्रेसलाई साथ दिएको स्मरण गर्नु हुँदै यो पटक पनि सम्वादमा सहमतिमा ल्याउन पहल गरेको आफूलाई संविधानअनुसार विश्वासको मत लिन समेत नदिएको भन्दै यसप्रति म गहिरो दुःख व्यक्त गर्न चाहन्छु भन्नुभयो ।
‘कानूनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको’ दावी गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘अहिले सुशासनका क्षेत्रमा आशा जागेको छ । पछिल्ला दिनमा लोकतन्त्र कता कता नेतातन्त्रजस्तो देखिँदै गएको थियो, राजनीतिक नेतृत्व कानुनभन्दा माथि भएको डरलाग्दो वैचारिकी बनिरहेको थियो । त्यसले समग्र व्यवस्थामाथि नै अविश्वास र घृणा बढाइरहेको थियो । तर भुटानी शरणार्थी, ललिता निवास, बाँसवारी, बाल मन्दिर, सुनकाण्ड लगायतका प्रकरणमा सरकारको निर्भिक र निष्पक्ष कारवाहीले जनतामा लोकतन्त्र र त्यसको शक्तिप्रति ठूलो भरोसा जागेको छ ।’
प्रधानमन्त्री प्रचण्डले थप भन्नुभयो, ‘सार्वभौम संसदको लामो समय लिन चाहन्नँ । यत्ति भन्छु, प्रधानमन्त्रीका रूपमा मैले संसदको पहिलो सम्बोधनमै प्रतिवद्धता जनाएको थिएँ, म आज सरकारका उपलब्धिहरूको रिपोर्ट कार्डकै आधारमा यो सम्मानित संसदको विश्वासको मत माग्दछु ।’
‘म आज यो सार्वभौम संसदसँग केवल विश्वासको मत माग्दिनँ, देशमा देखिएको निराशा चिर्न सार्थक साथ र सहयोग माग्छु, लोकतन्त्रले जगाएको सामाजिक र राजनीतिक चेतनालाई लोकतन्त्रकै विरूद्ध प्रयोग गर्ने प्रयासविरूद्ध संसदको हस्तक्षेप माग्दछु ।’ प्रधानमन्त्रीले भन्नुभयो, ‘मेरो विश्वासको पक्षमा समर्थन गर्ने नेकपा एमालेका माननीय विष्णु पौडेल लगायत सबै माननीय र संसदीय दललाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’
आजको बैठक सुरु हुनासाथ कांग्रेससहितका विपक्षी दलहरूले नाराबाजी जारी राखेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद बैठक स्थगित गर्नु भयो ।
त्यसपछिको दोस्रो बैठकमा पनि कांग्रेससहितका विपक्षी दलहरूले नाराबाजी जारी राखे । विरोधका बीच सभामुख घिमिरेले विश्वासको मतको प्रस्ताव राख्न प्रधानमन्त्री प्रचण्डलाई अनुमति दिनु भएको हो ।
प्रधानमन्त्रीले विश्वासको मत लिइरहँदा विपक्षी सांसदहरूले जबरजस्ती गर्न पाइँदैन, सरकारको जबरजस्ती बन्द गर जस्ता नारा लगाएका थिए ।
२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त हुनु भएका प्रचण्डले पुस २६ गते पहिलो पटक विश्वासको मत लिनु भएको थियो । त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उहाँलाई समर्थन गरेका थिए ।
२०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भयो । चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिनु भएको हो । त्यस दिन संसदमा २६२ सांसद उपस्थित भएका थिए । विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो ।
गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर वर्तमान गठबन्धन नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी सहितका दलको नयाँ बेनपछि फागुन ३० गते प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत लिनु भएको हो । त्यस समयमा प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ सांसदले समर्थन गरे भने विपक्षमा ११० मत पर्यो । त्यसबेला पनि प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको थियो ।
प्रतिनिधि सभा बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै आवश्यक परेमा १०–१२ पल्ट विश्वासको मत लिने बताउनु भएको छ ।
प्रकाशित मिति २०८१ जेष्ठ ७, सोमबार १६:१८ गते