काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियालाई नागरिकता प्रकरणमा पक्राउ गर्न धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । धनुषा जिल्ला अदालतबाट उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले जेठ ८ गते जनाएको हो ।
धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले नागरिकता प्रकरणमा सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको बताउनु भएको छ । उहाँका अनुसार अदालतबाट कैलाशप्रसाद सिरोहियालाई पक्राउ गर्न आदेश जारी भएको छ । घिमिरेले भन्नुभयो, ‘नागरिक प्रकरणमा २ नम्बर इजालसबाट आज जेठ ८ गते यस्तो आदेश भएको हो ।’
गत वैशाख तेस्रो साता जिल्ला प्रहरी कार्यालय धनुषामा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया विरुद्ध उजुरी परेको थियो । सो कार्यालयमा नागरिकता नम्बरमा रहेको रेकर्ड अर्कै व्यक्तिको रहेको पाइएको थियो ।
सिरोहियाविरुद्ध सर्लाही निवासी इन्द्रजीतप्रसाद महतोले प्रहरीमा उजुरी दिनु भएको हो । उक्त उजुरीबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको थियो । सो अनुसन्धान अघि बढेसँगै प्रहरीले सिरोहियालाई पक्राउका लागि जिल्ला अदालतबाट अनुमति लिएको हो ।
तर सिरोहियाले त्यसबेला नै उक्त उजुरीको खण्डन गरेर आवश्यक भए अनुसन्धान गर्न चुनौती दिएका थिए ।
उद्योग विभागमा दिएको निवेदनसहितको कागजमा सिरोहियाले हिमालय रि–इन्स्योरेन्स कम्पनीको शेयर लगन लिने क्रममा नागरिकता नम्बर २८३९८८८६ रहेको थियो । सिरोहियाले लिएको नम्बरसहितको नागरिकता धनुषाका शिवजी साहु तेलीको नाममा पनि जारी भएको पाइएको छ । तर सिरोहियाले २०३३÷३४ मा धनुषा जिल्ला प्रशासन कार्यालय धनुषाबाट निकालेको नागरिकता नम्बर ३९६९८८८६ थियो । सो नागरिकताको पहिलो प्रतिलिपि २०५७ सालमा निकालिएको थियो ।
शिवजी र कैलाश दुबैको नागरिकता नम्बर एउटै रहेको विवरण पनि मतदाता नामवालीमा भेटिएको हो ।
राज्यशक्तिको दुरुपयोग गरेर प्रतिशोध साँधियो ः सिरोहिया
कैलाश सिरोहियाले गृहमन्त्री रवि लामिछानेले राज्यशक्तिको दुरुपयोग गरेर आफूमाथि प्रतिशोध साँधेको बताएका छन् । नागरिकता प्रकरणमा जिल्ला अदालत, धनुषाबाट पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष सिरोहियाले सहकारी ठगी प्रकरणमा कान्तिपुरले समाचार लेखेकै आधारमा आफूमाथि प्रतिशोध साँध्ने काम भएको उनको दावी छ ।
आफू माथिको प्रतिशोधबाट कान्तिपुर मिडिया ग्रुप विचलित नहुने सिरोहियाले बताएका छन् ।
सिरोहियाले आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित हुने छैन । निरंकुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो । तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिदै आएको छ । म अहिले पनि म व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु, तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन ।’
यसैबीच, जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि उक्त निर्णयविरुद्ध सिरोहियाले रिट निवेदन पेश गरेको र सो रिट दर्ता प्रक्रियामा रहेको सर्वोच्चका सह प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिनुभएको छ ।
प्रहरीको अनुरोधपछि जिल्ला अदालतले पुर्जी जारी गरेपछि सिरोहियाले त्यसलाई रोक्न सर्वोच्चमा रिट दायर गरेका हुन् ।
उनले यसअघि सर्वोच्चमा रिट दायर गरि कारण देखाऊ आदेश समेत गरेर अवस्थामा पक्राउ पुर्जी जारी गरिएको र पक्राउ पुर्जी जारी हुनुपर्ने कारण नै नभएको दाबी रिटमा गरिएको छ । रिटमा उक्त पक्राउ पुर्जी असंवैधानिक भएकाले अन्तरिम आदेश मार्फत रोकिनुपर्ने माग गरिएको छ । रिटको पेशी जेठ १४ गतेका लागि तोकिएको छ ।
प्रकाशित मिति २०८१ जेष्ठ ८, मंगलवार १८:४५ गते