काठमाडौं– अन्ततः नागरिकता प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालय पुगेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार पक्राउ परेका सिरोहियालाई जेठ ८ गते साँझ पक्राउ गरे लगत्तै धनुषा पठाइएको छ ।
सिरोहियालाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली कान्तिपुर परिसर पुगेको थियो ।
सिरोहियालाई नागरिकता सम्बन्धी कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जनले बताउनु भयो । उहाँका अनुसार उनको नागरिकता नम्बर अर्को एक जना व्यक्तिसँग मिलेको र फरक फरक ठाउँमा फरकफरक नागरिकता पेश गरेको हुँदा पक्राउ गरिएको हो । 
जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालत धनुषाबाट उनलाई पक्राउ गर्न आजै अनुमति लिएको थियो ।
सिरोहियाको दोहोरो नागरिकता रहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो । नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै गत वैशाख १७ गते जाहेरी परेको थियो । उनलाई पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी गरेको हो । यसअघि जाहेरी परेको खबर बाहिरिएपछि सिरोहियाले विज्ञप्ति जारी गर्र्दै आफूसँग प्रतिशोध साँधिएको दावी गरेका थिए ।
सिरोहियाले राज्यले २०३३/२०३४ सालमा संकलन गरेको अभिलेखका आधारमा २०३६ सालमा १८ वर्ष पुगेर पहिलो नागरिकता लिएको उल्लेख गरेका थिए । त्यस्तै २०५७ सालमा त्यसको प्रतिलिपि लिएको तर दुइटा नागरिकता नलिएको दावी गर्दै विज्ञप्ति जारी गरेका थिए ।
सिरोहियाले आफूविरूद्ध जाहेरी परेपछि सर्वोच्चमा निषेधको आदेश माग गर्दै रिटसमेत दायर गरेका थिए । त्यसको अर्को पेशी जेठ १४ गतेका लागि तोकिएको छ ।
सिरोहियाले जारी गरेको विज्ञप्तिमा गृहमन्त्रीले रिसिइबी साँधेको उल्लेख छ ।
उनले गृहमन्त्री रवि लामिछानेले आफूमाथि प्रतिशोध साधेर पक्राउ पुर्जी जारी गराएको बताए । नागरिकता कीर्ते प्रकरणमा धनुषा जिल्ला अदालतले आज सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
गिरफ्तार हुँदै गर्दा सिरोहियाले सरकार नवअधिनायकवादतर्फ अगाडि बढेको उनले दावी गरेका छन् ।
नागरिकता कीर्ते गरेको अभियोगमा प्रहरीले पक्राउ गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष सिरोहियाले सरकारले अधिनायकवाद शैलीमा आफूलाई पक्राउ गरेको उनले बताएका हुन् ।
सिरोहियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैँ पनि जेल गएको हुँ । निरंकुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो, तर, कान्तिपुर हरेक घडीमा निर्भिक रूपमा उभिँदै आएको छ ।’
सञ्चार क्षेत्रमा कान्तिपुरको दादागीरी :
सञ्चार क्षेत्रमा कान्तिपुरको दादागीरी चल्दै आएको धेरै अघिदेखि चर्चाको विषय बन्ने गरेको हो । जसलार्ई केही महिना अघि उपप्रधान एवम् गृहमन्त्री रविले ‘१२ भाइ’को संज्ञा दिनु भएको थियो । सिरोहियाको गिरफ्तारीले अब ठूलामाछाको पालो आएको र सायदै उम्कनेछन् भन्न थालिएको छ ।
स्मरणीय छ, नेपालमा समानुपातिक विज्ञापन नीति लागू हुन नसक्नुको मुख्य कारकमा कान्तिपुरकै दादागीरी हो भन्ने साना सञ्चारमाध्यमका बीच बेलाबखत चर्चाको विषय बन्ने गरेको छ ।
प्रकाशित मिति २०८१ जेष्ठ ८, मंगलवार २०:३४ गते