
जनकपुरधाम– नागरिकता प्रकरण मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ । उनलाई सरकारी वकिल कार्यालयबाट कडा सुरक्षाबीच धनुषा जिल्ला अदालत लगिएको छ ।
आज दोस्रो पटक म्याद थप्न पाँच दिनको सिफारिस भएको जिल्ला न्यायाधिवक्ता सुदीपकुमार दंगालले बताउनुभयो । उहाँका अनुसार सरकारी वकिल कार्यालयले पहिलो पटक पनि पाँच दिनकै म्याद थप्न सिफारिस गरेको थियो तर धनुषा जिल्ला अदालतले तीन दिनको मात्र म्याद थप्ने काम गरेको थियो । सिरोहियालाई जिल्ला सरकारी वकिल कार्यालय धनुषामा बयान म्याद थपका लागी अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी रञ्जन अवाले बताउनु भयो । उहाँका अनुसार आज दोस्रोपटक म्याद लिन लागिएको हो ।
दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीले काठमाडौँबाट पक्राउ गरेर सिरोहियालाई धनुषा जिल्ला अदालतमा बैशाख ९ गते उपस्थित गराइएको थियो ।
नागरिकता कीर्तेसम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियाका पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, शेरबहादुर केसी, रमन श्रेष्ठ, रमण कर्ण, अधिवक्ताहरू दीपेन्द्र झा, सिताराम भट्टराई र गोविन्द बन्दी जनकपुर पुगेका छन् ।
प्रकाशित मिति २०८१ जेष्ठ ११, शुक्रबार १५:५१ गते