जनकपुरधाम– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध परेको नागरिकताको उजुरीप्रति हिरासतमा राखी अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले थप तीन दिनको म्याद प्रहरीलाई दिएको छ । अदालतले उनका विरुद्धको मुद्दामा दोस्रो पटक तीन दिनको म्याद जेठ ११ गते थप गरेको हो ।
धनुषा जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिनको म्याद थप भएको अनुमति दिएको स्रेस्तेदार कैलाशप्रसाद भट्टराईले जानकारी दिनु भयो ।
सिरोहियाको तर्फबाट आज ७ जना वरिष्ठ अधिवक्ताहरूले बहस गरेका थिए । उनीहरूले गृहमन्त्री रवि लामिछानेले प्रतिशोध राखेर सिरोहियालाई पक्राउ गराएको हुँदा रिहा हुनुपर्ने दावी गरेका थिए । सिरोहियाको तर्फबाट कानुन व्यवसायीहरूले गैरकानुनी धरपकड गरेको र विवाद थुनामा राखिराख्नु नपर्ने खालको भएको भन्दै रिहा गर्न माग गरेका थिए । तर जिल्ला सरकारी वकिलको कार्यालयले ५ दिन मागेको थियो ।
सिरोहिया पक्षका अधिवक्ताहरूको बहस सकेपछि जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले दोस्रो पटक तीन दिनको म्याद थप गरेको हो ।
पक्ष विपक्षको बहस सुनेपछि न्यायाधीशले ३ दिन अर्थात १३ गतेसम्मका लागि म्याद थप भएको हो ।
सरकारी वकिल कार्यालयले सिरोहिया उपर अनुसन्धान गर्न ५ दिन म्याद थप मागेको थियो ।
काठमाडौँस्थित कान्तिपुर कार्यालयबाट पक्राउ परेका सिरोहियालाई प्रहरीले जेठ ८ गते पक्राउ गरी राति नै धनुषा लगेको थियो । त्यसपछि उनीमाथि अनुसन्धान गर्न भन्दै प्रहरीले तीन दिन म्याद पाएको थियो ।
प्रकाशित मिति २०८१ जेष्ठ ११, शुक्रबार २२:११ गते