ठाडोभाका र दोहोरीका कलाकार सम्मानित

ठाडोभाका र दोहोरीका कलाकार सम्मानित

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ जेठ १३ गते आईतबार १०:२२

उमेरले ६८ वर्षको भए, बल्ल पहिलो पटक सम्मानित हुन पाउँदा निकै खुशी लाग्यो, हौसला मिलेको छ, स्वास्थ्यले साथ दिेदासम्म ठाडोभाका गाइरहन्छु सम्मानित भएपछि प्रतिक्रिया दिदै सुकदेव अधिकारीले भन्नुभयो । त्यस्तै, अनुज अधिकारीले भन्नुभयो, ‘अन्यत्र त सम्मानित भइरहकै हुँ तर आफ्नै वंश प्रतिष्ठानबाट पहिलो पटक सम्मानित हुँदाको अनुभूति पृथक रह्यो, त्यसको मज्जानै बेग्लै हुने रहेछ तर भन्ने शब्द ठ्याक्कै आएन ।’

९७ वर्षीय वयोबृद्ध देवीप्रसाद अधिकारी प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम भएको हो ।

सुन्दरबजार(लमजुङ)– लमजुङमा ठाढोभाका र दोहोरीका कलाकार एउटै मञ्चमा सम्माति भएका छन् । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान जिल्ला शाखाद्वारा नवौं जिल्लो भेला तथा सातौं वनभोज कार्यक्रमको एउटै मञ्चमा उनीहरूलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा लमजुङको मौलिक ठाडोभाकाका अग्रज गायक ६८ वर्षीय सुकदेव अधिकारी र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्ष अनुज अधिकारी हुनुहुन्छ ।
उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि ९७ वर्षीय वयोबृद्ध देवीप्रसाद अधिकारी, कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका केन्द्रीय सल्लाहकार दामोदर अधिकारी, प्रतिष्ठानका केन्द्रीय सदस्य नजराज पहाडी, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, प्रतिष्ठानको शाखाका अध्यक्ष तुलसीविकास अधिकारीले संयुक्त रुपमा सम्मानपत्र, दोसल्ला, टीका आदिले सम्मान गर्नु भएको हो ।
गायन क्षेत्रमा लागेको पाँच दशक भयो, उमेरले ६८ वर्षको भए, बल्ल पहिलो पटक सम्मानित हुन पाउँदा निकै खुशी लाग्यो, हौसला मिलेको छ, स्वास्थ्यले साथ दिेदासम्म ठाडोभाका गाइरहन्छु सम्मानित भएपछि प्रतिक्रिया दिदै सुकदेव अधिकारीले भन्नुभयो । उहाँ ठाडोभाकाका बहुचर्चित र प्रतिष्ठित गायक स्व. भेडीखर्के साइँलाका भतिजसमेत हुनुहुन्छ । १४ वर्षको उमेरमा आफ्ना पितालाई गुमाउनु भएका उहाँलाई भेडीखर्के साइँलाले आफ्नै संरक्षकत्वमा हुर्काउनु भएको हो । आफूले साइला बाँ(भेडीखर्के साइँला)कै संगतले गर्दा ठाडोभाका गाउन सिकेको सुकदेवले बताउनु भयो ।
पेशाले पत्रकार समेत रहनु भएका अर्का सम्मानित दोहोरी गायकका रुपमा परिचित व्यक्तित्व अनुज अधिकारीले अन्यत्र त सम्मानित भइरहकै हुँ तर आफ्नै वंश प्रतिष्ठानबाट पहिलो पटक सम्मानित हुँदाको अनुभूति पृथक रह्यो भन्नुभयो । उहाँका अनुसार त्यसको मज्जानै बेग्लै हुने रहेछ तर भन्ने शब्द ठ्याक्कै आएन । अब संस्थागत रुपमा पनि केही गर्नु पर्छ भन्ने लागेको छ । उत्साहित भएको छु, थप उर्जा मिलेको अनुभव भएको छ अनुजले बताउनुभयो ।
सम्मानित भएपछि दुवैजनाले आ–आफ्ने पहिचान दिने ठाडोभाका र दोहोरी गाएर दर्शक, स्रोताहरूलाई मन्त्रमुग्ध बनाउनु भएको थियो ।
सो अवसरमा आयोजक प्रतिष्ठानले गत वर्ष एसईईमा उत्कृष्ठ अंक ल्याउने वंशभित्रका किस्मत अधिकारी र रिविका अधिकारी, छात्रवृत्ती कोषमा एकलाख रुपैयाँ प्रदान गर्ने भोटेओडारको सिर्जनात्मक साकोस लगायत अक्षयकोष दाता डेढ दर्जन बढीलाई सम्मान गरेको थियो ।
प्रतिष्ठानका जिल्ला अध्यक्ष तुलसीविकास अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सिर्जना अधिकारीले स्वागत तथा सल्लाहकार कृष्णमुरारी अधिकारीले धन्यवाद ज्ञापन तथा जिल्ला सचिव गोविन्दप्रसाद अधिकारी र जिल्ला सदस्य कमल अधिकारीले सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ जेष्ठ १३, आईतवार २२:२२ गते
हजुरको प्रतिक्रिया