सुन्दरबजार(लमजुङ)– कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान जिल्ला शाखा लमजुङ÷रुपाकोटको नवौं जिल्ला भेला तथा सातौं सदम्पती वनभोजमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । प्रतिष्ठानमा जिल्लाभरका बन्धुहरूलाई जोड्दै नयाँ गति दिने संकल्प गर्दे सो कार्यक्रम जेठ १२ गते सम्पन्न भएको हो ।
भानु– ११, पञ्चमन्दिर, रुपाकोटमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि ७९ वर्षीय देवीप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो । उहाँले कार्यक्रमको उदघाटन गर्दै सबैलाई आशीर्वाद दिनु भयो, साथै कार्यक्रमको सफलता र प्रतिष्ठानको उज्वल भविष्यको कामना उहाँले गर्नु भएको थियो ।

सो अवसरमा विशिष्ठ अतिथि एवम् केन्द्रीय सल्लाहकार दामोदर अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै आचरणलाई महत्व दिनु पर्ने बताउनु भयो । उहाँले रावण पुलस्त ऋषिका नाति थिए तर आचरण राम्रो नहुँदा राक्षस कहलिए त्यसैले हाम्रो आचरण महत्वपूर्ण छ भन्नुभयो । हाम्रो सबैप्रति अनुगृहित हुने संस्कृति हो, सूर्य, जल, वायु, पृथ्वी, माटो तथा जीवन दिने आदि सबैसँग तर ईश्वर भने यौटै छ, उहाँले उल्लेख गर्नु भयो ।
उहाँले काल्पनिक सृष्टि र मैथुकिन सृष्टि गरी लुई प्रकारका सृष्टि भएको भन्दै मैथुकिन सृष्टिका पहिलो सन्तानको रुपमा ब्रह्माजीले मनु र सतरुपालाई उत्पत्ती गर्नु भएको थियो । उनीहरूका सन्तान नै हामीहरू हौं भन्ने उल्लेख गर्नु भयो । उहाँले हाम्रा पूर्वज कश्यप ऋषि सन्यासी भएको बताउँदै उहाँले एक दिन समुद्रमा नुहाउन जानु हुँदा विच्छी हातमा आयो र डस्यो, फेरि खस्यो पानीमै पर्यो, ७ पटकसम्म त्यो क्रम चल्यो आठौं पटक बाहिर निस्कन सफल भयो । त्यसपछि त्यहाँ रहेका मानिसले सोधे यस्तो विषालु विच्छीको पनि उपकार गर्ने ? भन्दै यो त साधु भनेको उपद्¥या रहेर अब संगत गर्न हुन्न भने छन् । त्यो सुने पछि विच्छीको धर्म टोक्ने हो, उसले टोक्यो, मेरो धर्म हो उसको उपकार गर्नु मैले गरेँ उहाँले उत्तर दिनु भएको थियो भन्ने स्मरण गर्नु भयो । पश्चिमा महिलाहरू दुई सय लोग्ने पुग्दा पनि जीवन कोसँग विताउने भन्ने ठेगान छैन भन्छन् तर हाम्रो संस्कार त्यस्तो होइन भन्दै विभिन्न उदाहरण दिनुभएको थियो ।

उहाँले आजका दिनमा पनि अष्टचिरञ्जीवीहरू हाम्रै वरिपरी छन् तर उनीहरूलाई चिन्न नसकेको हुनाले उनीहरू छाँयामा परेका छन् त्यसैले सन्तानलाई संस्कार सिकाउने पर्ने खाँचो छ उहाँले भन्नुभयो ।
सो अवसरमा दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले संस्कार संस्कृतिको संरक्षणसँगै हामीले एक अर्को स्थानमा जाँदा वा भेटघाट हुँदा हाम्रो नाता के हो ? त्यो जान्न र त्यही साइनोले बेल्न, बोलाउन आवश्यक छ यसतर्फ ध्यान दिऔं भन्नुभयो । उहाँले अधिकारीहरूले हरेक क्षेत्रमा गर्ने काम उदाहरण योग्य हुनु पर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठानका केन्द्रीय सदस्य नवराज पहाडीले प्रतिष्ठानको ६८ जिल्लामा शाखा रहेको र तीमध्ये ५५, ५६ जिल्ला शाखा सक्रिय छन् । तीमध्ये पनि विपन्न परिवार पहिचान गरी ती परिवारका एक जना बाबु– नानीलाई प्लसटु सम्म पढाउने, त्यसका लागि अक्षयकोषको स्थापना गर्ने र त्यो कोषको व्याजबाट ती बाबुनानीहरूलाई पढाउने जस्तो पवित्र काम गर्ने लमजुङ पहिलो जिल्लो हो, यस कार्यले पनि हामीलाई गर्वको अनुभव गराएको छ भन्नुभयो । उहाँले काम गर्दा सतप्रतिशतको चित्त बुझ्ने भन्ने हुँदैन तर सकेसम्म त्रुटी नहोस् र खल्लो अनुभूति गर्न नपरोस् भन्ने चाहना हुन्छ तर गर्दै जाँदा कतै न कतै नचाहेरै पनि त्रुटी हुने रहेछ त्यसका लागि क्षमा चाहन्छु भन्नुभयो । उहाँले आफूहरूले सकेसम्म पारदर्शी ढंगले कम लगानीमा बढी उपलब्धी हुने गरी काम गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले अधिकारीको संस्कार संस्कृति के हो ? बालुन लोप भयो भने भजन पनि उस्तो सुनिदैन त्यसका लागि अधिकारीको बाहुल्य भएको कुनै एक गाउँलाई नमूना गाउँ बनाउने त्यसमा ब्राह्मण क्षेत्रीको संस्कृतिका लागि सिक्न आउने स्थानका रुपमा विकसित गर्न आवश्यक छ, आउँदा दिनमा योजना बनाएर प्रतिष्ठानकै नेतृत्वमा त्यस्तो काम गर्नु पर्ने र त्यसतर्फ शाखाको ध्यानाकर्षण गर्दछु भन्नु भयो ।
गण्डकी प्रदेश सरकार मुख्यन्यायाधिवक्ता कृष्णप्रसाद अधिकारीले भाषा, संस्कार, संस्कृतिमा विकृति आएको छ त्यसलाई रोक्नु पर्छ भन्नुभएको थियो ।

सो अवसरमा केन्द्रीय सल्लाहकार विश्वप्रसाद अधिकारी, केन्द्रीेय परिषद सदस्य निलकण्ठ अधिकारी, विश्व हिन्दु महासंघ, लमजुङका सचिव कमल अधिकारी, रोडियो भोटेओडारका अध्यक्ष हरिप्रसाद अधिकारी, पूर्व जिल्ला सल्लाहकार संयोजक विष्णुभक्त अधिकारी, डा. जगन्नाथ अधिकारी, रामचन्द्र अधिकारी सुन्दरबजार–४ दुराडाँडा, जिल्ला सहसचिव पार्वती अधिकारी, तार्दीखोला–भोटेओडार खानेपानी तथा सरसफाई समितिका अध्यक्ष प्रितम अधिकारी, हर्कदेव वंश प्रतिष्ठान कुसुण्डे भोटेओडारका तथा पूर्ववडाध्यक्ष कृष्णकान्त अधिकारी, प्रतिष्ठानको मध्यनेपाल नगर समितिका कोषाध्यक्ष शर्मिला अधिकारी, उक्त कार्यक्रमको स्थानीय व्यवस्थापन समितिका संयोजक पूर्णप्रसाद अधिकारी आदिले शुभकामना मन्तव्य सहित आ–आफ्ना धारणा राख्नु भएको थियो ।

सो अवसरमा गायक द्वय ठाडोभाका अग्रज गायक सुकदेव अधिकारी, राष्ट्यि लोक तथा दोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्ष एवम् पत्रकार महासंघका उपाध्यक्ष अनुज अधिकारी, युनिभर्सल एकेडेमीका प्रिन्सिपल विमल अधिकारी, ८४ वर्ष उमेर पार गर्नु भएका जेष्ठ नागरिकहरू सावित्रा अधिकारी, डम्बरबहादुर अधिकारी लगायत छ जना सम्मानित हुनुभएको प्रतिष्ठानका जिल्ला सचिव गोविन्दप्रसाद अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार गत वर्षको एसईई परीक्षामा अधिकारी परिवारमा उत्कृष्ठ अंक ल्याउने छात्र किस्मत अधिकारी र छात्रा रिबिका अधिकारीलाई सम्मान गरिएको छ ।

सम्मानित हुनुहुने अन्यमा प्रतिष्ठानको अक्षयकोष दाताहरूमा छात्रबृत्ती कोषमा एक लाख रुपैयाँ प्रदान गर्ने सिर्जनात्मक साकोस (भोटेओडार)का अध्यक्ष रामजी कँडेल, २५ हजार ५ रुपैयाँ प्रदान गर्नु हुने रेडियो भोटेओडारका अध्यक्ष हरिप्रसाद अधिकारी, २० हजार १०५ रुपैयाँ प्रदान गर्नु हुने प्रतिष्ठानका अध्यक्ष तुलसीविकास अधिकारी, १० हजार २५५ रुपैयाँ प्रदान गर्नु हुने सुजनबाबु अधिकारी, १० हजार २४५ रुपैयाँका दरले प्रदान गर्नु हुनेद्वय प्रमोद अधिकारी र सुभासचन्द्र अधिकारी लगायत १९ जना हुनुहुन्थ्यो । प्रतिष्ठानले स्थापना गरेको अक्षयकोषमा कम्तिमा १० हजार रुपैयाँ प्रदान गर्नु हुने वन्धुबान्धवालाई सम्मान गर्ने नीति तय गरी निर्णय गरेको उहाँको भनाइ छ ।

उक्त अवसरमा प्रतिष्ठानका जिल्ला अध्यक्ष तुलसीविकास अधिकारीले संस्थाका गतिविधि, सचिव गोविन्दप्रसाद अधिकारीले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्षले आयव्यय प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो । प्रतिष्ठानका जिल्ला अध्यक्ष तुलसीविकास अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सिर्जना अधिकारीले स्वागत तथा सल्लाहकार कृष्णमुरारी अधिकारीले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने जिल्ला सचिव गोविन्दप्रसाद अधिकारी र जिल्ला सदस्य कमल अधिकारीले सञ्चालन गर्नु भएको थियो ।
प्रकाशित मिति २०८१ जेष्ठ १४, सोमबार ०५:५५ गते