काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याइएको छ । उनलाई हेलिकप्टरमार्फत जेठ १५ गते दिउँसो काटमाडौं ल्याइएको हो ।
नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया हिरासतमा रहेको बेला अस्वस्थ बनेपछि जनकपुरस्थित काव्या अस्पतालमा उपचार गराइरहेका थिए । जिल्ला अदालत धनुषाले जमानतमा रिहा गर्न अस्वीकार गर्दै थप ३ दिन थुनामा राख्ने आदेश गरेको हो ।
सिरोहिया नागरिकता विवादमा यसअघि दुई पटक म्याद थप भएर थुनामा रहेका छन् ।
उनको थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले बताउनु भयो । उहाँका अनुसार सिरोहिया जनकपुरमा रहेको काव्या अस्पतालबाट थप उपचारका लागि काठमाडौंमा पठाउन रिफर भएसँगै हेलिकप्टरमार्फत पठाइएको हो ।
सिरोहियालाई सिधै मेडिसिटी अस्पतालमा पु¥याएर भर्ना हुने उनका कानुन व्यवसायी किशोर पौडेलले जानकारी दिनुभयो ।
धनुषा जिल्ला अदालतका न्यायाधीश यदुराज शर्माको इजलासले सोमबार नागरिकतासम्बन्धी कसुर (झुट्टा विवरण पेश गरी किर्ते गरेको) मा सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।
अदालतले उनको अनुसन्धानमा शीघ्रता अपनाउन आदेश दिएको बताइन्छ । उनलाई उपयुक्त स्वास्थ्य परीक्षणका लागि आवश्यक व्यवस्था गर्न पनि अदालतले आदेश दिएको थियो ।
आदेशमा भनिएको छ, ‘प्रतिवादी कैलाशप्रसाद सिरोहिया बिरामी भएको र मिसिल संलग्न काव्या अस्पतालको रिपोर्ट हेर्दा र उनको स्वास्थ्य अवस्थाको प्रतिकूलतालाई विचार गर्दा अनुसन्धानमा शीघ्रता र उपयुक्त अस्पतालमा लागि उपचार गराउनु तथा उनले नियमित स्वास्थ्य परीक्षण गर्ने गरेको चिकित्सकबाट परीक्षण गराउन उपयुक्त हुने हुँदा सोको लागि आवश्यक व्यवस्था गर्नु गराउनु ।’
जिल्ला सरकारी वकिल कार्यालय धनुषाले अदालतमा पेस गरेको पत्रअनुसार जिल्ला प्रहरी परिसर काठमाडौं लगायत निकायबाट परीक्षणका लागि पठाइएका हस्ताक्षर र हस्तलिखत नमूना परीक्षणको प्रतिवेदन आउन बाँकी छ ।
उक्त विवरण मगाउने, सिरोहियाको औंलाछापको नमूना परीक्षण गर्न पठाउने र घटना विवरणका कागज बुझ्न बाँकी रहेको भन्दै सरकारी वकिलले अदालतसमक्ष म्याद थपको माग गरेको थियो ।
ती आधार कारणहरूलाई हेरेर इजलासले सिरोहियालाई १४ गतेदेखि तीन दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
अदालतबाट जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियालाई पक्राउ गर्न जेठ ८ गते पक्राउ अनुमति लिएको थियो ।
पक्राउ परेका सिरोहियालाई दोस्रो पटक जेठ ११ गते अदालतमा पेश गरिएको थियो । त्यस दिन अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
मुटुको समस्या देखिएपछि प्रहरीले उनलाई जनकपुर प्रादेशिक अस्पताल लगेको थियो । त्यहाँबाट थप उपचारको लागि काब्या अस्पतालमा राखिएको थियो ।
पक्राउ गर्न अनुमति लिएसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोलीले कान्तिपुरको थापाथलीस्थित कार्यालय पुगेर उनलाई त्यही साँझ पक्राउ गरेको थियो ।
प्रहरी कष्टडीमा बस्नु पर्ने भएपछि मुलु्कका ठूला माछाहरुले बिरामीको बाहानामा अस्पतालको सुविधा उपयषेग गर्ने गरिएको विगत साक्षी छ । सिरोहियाले पनि त्यही सिको दोहोर्याउने काम गरेका छन् । यस्तो सुविधा सर्वसाधारण नगरिकले भने पाउने गरेका छैनन् ।
जेठ ११ गते अदालत पेस गरिनुअघि सरकारी वकिलको कार्यालयमा सिरोहियासँग ३ घण्टा लामो बयान लइएको थियो ।
नागरिकता विवादमा मुछिएका उनलाई पहिलोपटक जेठ ९ गते अदालतले सिरोहियाविरुद्ध तीन दिनको म्याद थपेको थियो ।
सिरोहियालाई यसअघि अदालतले दुई पटकमा ६ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ ।
नागरिकता किर्ते सम्बन्धी कसुरमा सिरोहिया जेठ ८ गते उनको कार्यकक्षबाटै पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई धनुषा जिल्ला अदालतले तेस्रो पटक तीन– तीन दिनको म्याद दिइसकेको छ ।
उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या देखिएको भन्दै सिरोहियालाई अस्पताल लगिएको थियो । प्रहरीको निगरानीमा अस्पतालमा रहेका सिरोहियालाई भेट्न भने रोक लगाइएको छ ।
स्मरणीय छ, सिरोहिया दोस्रो पटक म्याद थपेकै दिन अस्पताल भर्ना भएका थिए । अहिले उनी जनकपुरधामकै सबै भन्दा सुविधा सम्पन्न अस्पतालमा उपचाररत थिए । उनलाई हिजो म्याद थप गर्न अस्पतालबाटै अदालत लगिएको थियो ।
प्रकाशित मिति २०८१ जेष्ठ १५, मंगलवार २०:३९ गते