विश्व धुमपान रहित दिवसमा विद्यार्थीसँग सचेतनासाथ अन्तरक्रिया कार्यक्रम

विश्व धुमपान रहित दिवसमा विद्यार्थीसँग सचेतनासाथ अन्तरक्रिया कार्यक्रम

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ जेठ १८ गते शुक्रबार १०:०८

मुलुकभर अर्बुदका ४३ जिल्लामा शाखा रहेको र सबैमा आफ्नो हैसियत र अनुकुलता अनुसारका कार्यक्रमहरू सञ्चालन भइरहेको र तिनै ४३ जिल्ला शाखामध्ये लमजुङ एक भएको सो अवसरमा जानकारी दिइएको थियो ।

लमजुङका होटलहरूमा आजका दिनसम्म धुमपान कक्षको प्रवन्ध गराउन प्रजिअसँग माग

बेसीशहर– लमजुङमा विश्व धुमपान रहित दिवसमा विद्यार्थीसँग सचेतना एवम् अन्तरक्रिया गरिएको छ । ३१ मे का दिन मनाइने सो दिवस प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङको प्रमुख आतिथ्यता तथा नेपाल अर्बुद रोग निवारण संस्था, लमजुङ शाखाको आयोजनामा विद्याविकास आमाविको सभाकक्षमा जेठ १८ गते भएको हो ।
प्रजिअ गुरुङले मैदबत्ती बालेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो । उहाँले यस्तो कार्यक्रमको असली फोकस ग्रुप भनेका विद्यार्थी नै हुन् । ठूला मानिसहरूमा त लत लागि सक्यो, छोड्न कठीन हुन्छ, नयाँ पिढीलाई जोगाउन सकियो भने ठूलो उपलब्धी हुने उहाँले बताउनु भयो । उहाँले विद्यार्थीहरूको सचेत हुने उमेर नै यही हो भन्ने उल्लेख गर्नुभयो । उहाँले मानिस संगतले विग्रन्छ भन्ने वस्तुगत तथ्यको स्मरण गर्दै किशोर युवा उमेर चढ्दै गरेको समूह तथा विद्यार्थीहरू नै चुरोटको सेवन गर्नेहरूको रिप्लेस गर्ने सर्कल हो भन्ने उथार्थताको ख्याल गर्न र लहैलहैमा लागेर धुमपान, मद्यपान जस्ता कुलतमा नफस्त विद्यार्थीहरूलाई आग्रह गर्नु भयो ।

उहाँले यस्ता वस्तुहरू एक दुई पटक त हो नि ! चाख्ने काम समेत गर्न हुँदैन भन्ने आग्रह गर्नुभयो । उहाँले ‘चुरोट, कंकड खाने मानिसकोमा चोर आउँदै’ र ‘धुमपान गर्ने मानिस बुढो हुँदैन’ भन्ने गाउँघरको उखानको स्मरण गर्दै किन ? भन्दै विद्यार्थीसँग उत्तरको अपेक्षा गर्नु भएको थियो । धुम्रपान गर्ने त्यस्ता व्यक्ति रातभर सुत्ज नसकी खोक्ने र बुढो नहुँदै मर्ने भएको हुँदा त्यस्तो भनिएको हो, त्यसैले यस्ता भनाईको मर्मबोध गर्नु पर्छ प्रजिअ गुरुङले आग्रह गर्नु भयो । उहाँले किशोरकिशोरीहरू सूर्तिजन्य पदार्थ उत्पादन गर्ने उद्योगबाट बच्नु पर्छ भन्ने आह्वान गर्नु भयो ।
त्यसअघि आयोजक संस्थाका अध्यक्ष एवम् वरिष्ठ पत्रकार नवराज पहाडीले दिवसको आवश्यकता, औचित्य एवम् महत्वका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले सूर्तिजन्य पर्दाथ र क्यान्सर, क्यान्सर रोग र पाठेघरको मुखको क्यान्सरका बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले सुरुमै रोग पत्ता लागेमा क्यान्सर निको पनि बनाउन सकिन्छ । अन्यथा यो रोगको उपचार गर्दा भएभरको सम्पत्ती पनि सकिने र बिरामी पनि गुमाउनु पर्ने स्थिति हुन्छ त्यसैले समयमै होसियार हुन आवश्यक छ भन्नुभयो ।

उहाँले क्यान्सरको घाउँजस्तो पीडादायक अर्को घाउँ या दुखाई पत्ता नलागेको वैज्ञानिकहरूको धारणा रहेको बताउँदै अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नको समेत जवाफ दिनु भएको थियो । उहाँले सार्वजनिक स्थलमा धुमपान गर्न नपाइने कानुन बनेको धेरै भयो तर लमजुङका होटलहरूमा आजका दिनसम्म धुमपान कक्ष भएको आफूले नदेखेको हुँदा बजार अनुगमनका क्रममा त्यो समेत ख्याल राखी त्यसको प्रवन्ध गर्ने वातावरण बनाउन प्रजिअसँग माग गर्नुभयो ।
आयोजक संस्थाका अध्यक्ष पहाडीले मुलुकभर अर्बुदका ४३ शाखा रहेको र सबैमा आफ्नो हैसियत र अनुकुलता अनुसारका कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिनु भयो ।
विद्याविकास आमाविका प्रिन्सिपल रामचन्द्र देवकोटाले विद्यालय आफैले गर्नु पर्ने सचेतनाको यो कार्यक्रममा आयोजक संस्थाले सहकार्य गर्न आग्रह गरेको हुँदा सहर्ष स्वीकार गरेको बताउनु भयो । कार्यक्रमका लागि आफ्नो विद्यालयलाई छनौट गरेकोमा खुशी व्यक्त गर्दै उहाँले आजका दिनमा पनि विश्वमा २५ हजार मानिसले धुमपानकै कारण अकाल मृत्यु बरण गर्र्न बाध्य छन् भने कति कुलतमा फसेका छन् त्यसैले धुम्रपानबाट जोगिन आवश्यक छ भन्नेमा जोड दिनुभयो । उहाँले ‘हामीलाईं खाना चाहिन्छ– चुरोट होइन’ भन्ने नारा समय सान्दर्भिक रहेको उल्लेख गर्र्दै त्यसलाई सार्थक बनाउन पहल गरौं भन्ने आह्वान गर्नुभयो ।
सो अवसरमा लमजुङ रत्न साप्ताहिकका प्रकाशन एवम् समाचार संयोजक सुधा ढकालले ‘हो हो … हिमालका नैना, देशका तिमी ऐना– ए मेरा भाइ र बैना, ह्विकी, ब्राण्डी, जाड रक्सी नखाउ वियर …. भन्ने बोलको गीत गाएर मनोरञ्जन दिनु भएको थियो ।
कार्यक्रमाम सहभागी विद्यार्थी दिप्सिना श्रेष्ठले यो कार्यक्रम आफू र आफूजस्ता विद्यार्थीका लागि जरुरी भएको हुँदा निरन्तरता दिन आग्रह गरेकी थिइन् ।
आयोजक संस्थाको जिल्ला अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका सदस्य तैमाया गुरुङले स्वागत गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । संस्थाका सचिव राजकुमार भण्डारीले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सञ्चालन शाखाका सहसचिव एवम् पत्रकार विराट न्यौपानेले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ जेष्ठ १८, शुक्रबार २२:०८ गते
हजुरको प्रतिक्रिया