अन्ततः ट्रम्प सबै ३४ अभियोगमा दोषी ठहर

अन्ततः ट्रम्प सबै ३४ अभियोगमा दोषी ठहर

एजेन्सी

@antaranganews

२०८१ जेठ १९ गते शनिवार ०८:१४

अमेरिकी इतिहासमा वर्तमान वा पूर्व राष्ट्रपतिलाई आपराधिक मुद्दामा मुद्दा चलाइएर दोषी ठहर गरिइएको यो पहिलो पटक हो । ट्रम्प अमेरिकी इतिहासमा कुनै अपराधमा दोषी ठहर हुने पहिलो राष्ट्रपति भएका छन् ।

अब राष्ट्रपति चुनाव लड्न पाउलान् ?

काठमाडौँ– न्यूयोर्कको एक अदालत(जुरी)ले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनीविरुद्ध दर्ता भएका ३४ वटै मुद्दामा दोषी ठहर गरेको छ । तर सजाय भने जुलाई ११ मा सुनाइने जेठ १७ गते दोषि ठहर भएका हुन् ।
ट्रम्पले झुठो व्यापार अभिलेख राखेको मुद्दामा सबै ३४ वटा अभियोगमा दोषी ठहर गरेको छ । पोर्नस्टार स्टोर्मी डानियललाई चुप लगाउनका लागि ट्रम्पले रकम तिरेको रकमका सन्दर्भमा चलिरहेको मुद्दामा ट्रम्पलाई दोषी ठहर गरिएको हो । ट्रम्पले यो निर्णयलाई लाजमर्दो र धाँधली भएको बताएका छन् । ट्रम्प उपरको अभियोग न्युयोर्क राज्यले लगाएको हो, संघीय सरकारले होइन ।
ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार समेत हुन् । अदालतको यो निर्णयसँगै उनले राष्ट्रपतिको निर्वाचन लड्न पाउलान् ? भन्ने जिज्ञासा उत्पन्न भएको छ ।
उनलाई दोषी ठहराएपछि ट्रम्पको अभियान टोलीले उनलाई ‘राजनीतिक बन्दी’ को रूपमा प्रस्तुत गरेको र यसपछि ठूलो संख्यामा मानिसले चन्दा दिएको दाबी समेत गरिएको छ ।
अभियोजकहरूले ट्रम्पलाई २०१६ को चुनावको अखण्डतालाई कमजोर पार्न अवैध षड्यन्त्रमा भाग लिएको र नकारात्मक जानकारी दबाउनको लागि गैरकानूनी योजनामा भाग लिएको दावी गरेका थिए । जसमा वयस्क फिल्म स्टार स्टर्मी डेनियललाई चुप लगाउन रकम भुक्तान गरेको विषय लुकाइएको थियो ।
ट्रम्पको कम्पनी र ट्रम्प संगठनले पोर्नस्टार स्टोर्मी डेनियललाई भुक्तानीको लागि कोहेनलाई रकम दिएको तथा त्यसका लागि कोहेनलाई बोनस र अतिरिक्त भुक्तानी दिएको अभियोग लगाइएको थियो । ती लेनदेनहरू कानूनी खर्चको रूपमा कम्पनीको रेकर्डमा गलत रूपमा राखिएको अभियोजकहरूले अभियोग लगाएका थिए ।
न्यायाधीश हुआन मर्चनले ट्रम्पविरुद्धको सजाय आगामी ११ जुलाई को विहान ११ बजे सुनाउने तय गरेका छन् । उनलाई चार वर्षसम्म जेल वा प्रोबेशनको सजाय हुन सक्ने जनाइएको छ ।
यो मिति रिपब्लिकन नेशनल कन्भेन्सनको नजिक छ, जुन जुलाई १५ मा सुरु हुनेछ । ट्रम्पका वकिल टोड ब्लान्चेले आरोपबाट मुक्तिको लागि कदम चालेपनि न्यायाधीश मर्चनले सफाइ प्रस्ताव अस्वीकार गरेका छन् ।
यद्यपी ट्रम्पले आफूविरुद्धको फैसलाको पुनरावेदन गर्ने योजना बनाइसकेका छन् । तर त्यो अपील सुनुवाइ हुनुभन्दा धेरै अगाडि ट्रम्प फौजदारी न्याय प्रणालीको चक्कामा परिसकेका हुनेछन्। तर रोचक के छ भने ट्रम्पको सजायले उनलाई जेलमा पठाएमा उनीसँगै सेक्रेट सर्भिसका एजेन्टहरुपनि जानुपर्नेछ ।
किनकि, यदि पूर्व राष्ट्रपतिलाई जेलमा बस्नैपर्ने सजाय सुनाएमा ट्रम्प कुनै साधारण कैदी हुनेछैनन् । किनभने अमेरिकी कानुन अनुशार अमेरिकाको सेक्रेट सर्भिसले पूर्व राष्ट्रपतिहरूलाई चौबीसै घण्टा सुरक्षा प्रदान गर्नु आवश्यक हुन्छ । जसको मतलब सेक्रेट सर्भिसका एजेन्टहरूले ट्रम्पलाई जेलभित्रै सुरक्षा प्रदान गर्नुपर्नेछ ।
सामान्य परिस्थितिमा एक वर्ष वा कमको कुनै पनि सजाय सामान्यतया न्यूयोर्क सिटीको कुख्यात राइकर्स आइल्याण्डमा दिइनेछ । त्यही ठाउँमा ट्रम्पका पूर्व मुख्य वित्तीय अधिकारी एलेन एच वेसेलबर्गले दोस्रो पाँच महिनाको सजाय काटिरहेका छन् ।
दोषी ठहर भए पनि ट्रम्प यसै वर्ष नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवार बन्न सक्ने बताइन्छ ।
अमेरिकी इतिहासमा वर्तमान वा पूर्व राष्ट्रपतिलाई आपराधिक मुद्दामा मुद्दा चलाइएर दोषी ठहर गरिइएको यो पहिलो पटक हो । ट्रम्प अमेरिकी इतिहासमा कुनै अपराधमा दोषी ठहर हुने पहिलो राष्ट्रपति भएका छन् ।

प्रकाशित मिति २०८१ जेष्ठ १९, शनिबार ०८:१४ गते
हजुरको प्रतिक्रिया