नयाँदिल्ली– भारतमा आज जुन १ अर्थात जेठ १९ गते लोकसभा निर्वाचनअन्तर्गत सातौं तथा अन्तिम चरणको मतदान जारी रहेको छ । सो मतदान विहान ७ बजेबाट सुरु भएको हो ।
आज ७ राज्य र १ केन्द्र शासित प्रदेशका ५७ लोकसभा सिटका लागि मतदान भएको हो । ७ राज्य र एक केन्द्रशासित प्रदेशको ५७ सिटमा मतदान सञ्चालन गरिएको हो । वाराणसी निर्वाचन क्षेत्रमा पनि आजै मतदान भइरहेको छ, जहाँबाट प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यस चरणमा वाराणसी सबैभन्दा भिआइपी सिट हो । प्रधानमन्त्री मोदी विगत १० वर्षदेखि यहाँ सांसद छन् । उनी तेस्रो पटक ठूलो मतान्तरले जित्ने लक्ष्यमा छन् ।
यसपटक यहाँबाट प्रधानमन्त्री मोदीविरुद्ध ६ जना मात्र उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् । सुरुमा १४१ जनाले उम्मेदवारी दिएका थिए । मोदीविरुद्ध अजय राय कांग्रेस–सपा र भारतीय गठबन्धनबाट चुनाव लडिरहेका छन् तर पछिल्ला तीन चुनावमा उनी ठूलो मतान्तरले पराजित भएका छन् ।
सातौं चरणमा ९ सय ४ उम्मेदवार मैदानमा छन् । जसमा प्रधानमन्त्री मोदी कांग्रेस नेता राहुल गान्धीसहित केन्द्रीय मन्त्री अनुराग ठाकुर, अभिनेत्री कंगना रनौत, रवि किशन पवन सिंह, काजल निषादसहित चार कलाकारलगायत चुनावी मैदानमा रहेका छन् ।
पञ्जाबको सबै १३ सिट, हिमाचल प्रदेशको ४, उत्तर प्रदेशको ४, उत्तर प्रदेशको १३, पश्चिम बंगालको ९, बिहारको ८, उडिसाको ६, झारखण्डको ३ सिटमा मतदान जारी रहेको छ ।
यसैबीच, आजै उडिसाको ४२ विधानसभा सिट र हिमाचल प्रदेशको ६ विधानसभा सिटमा पनि उपचुनाव भइरहेको छ ।
मत गणना ४ जुनमा हुनेछ ।
आज सम्पन्न हुँदै गरेको सातौं चरणको निर्वाचनमा ९०४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार तीमध्ये ८०९ पुरुष र ९५ महिला उम्मेदवार छन् । ५४२ लोकसभा सीटहरूको छैटौं चरणसम्म ४८५ सीटको लागि मतदान भइसकेको छ ।
यस चरणमा देशभरका १०.९ लाख मतदान केन्द्रमा करिब १०.०६ करोड मतदाताले मतदान गर्नेछन् । ५.२४ करोड पुरुष र ४.८२ करोड महिला मतदाता छन् ।
लोकसभा चुनावअन्तर्गत यसअघि ६ चरणका मतदान भइसकेका छन् ।
यसअघि अप्रिल १९, अप्रिल २६, मे ७, मे १३, मे २० र मे २५ मा मतदान भएको हो । सम्पन्न निर्वाचनको मतगणना जुन ४ अर्थात सुरु हुनेछ र नतिजा सोही दिन आउने अपेक्षा गरिएको छ ।
स्मरणीय छ, गुजरातको सूरतबाट बीजेपीका उम्मेदवार मुकेश दलाल निर्विरोध निर्वाचित भएकाले ५४२ सिटमा मात्रै मतदान भइरहेको छ ।
प्रकाशित मिति २०८१ जेष्ठ १९, शनिबार १२:५९ गते