बेसीशहर– लमजुङमा फुटबलको क्षेत्रमा आग्रणी क्लबका रुपमा स्थापित हुँदै सर्वाधिक राशिको पुरस्कारकासाथ फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको यहाँ स्थित त्रिवेणी क्लबले गत वर्षको पुस महिनामा सञ्चालन गरेको ३१ औं त्रिवेणी कपको आन्तरिक लेखापरीक्षण प्रतिवेदन जेठ १९ गते सार्वजनिक गरेको छ ।
एक कार्यक्रमका बीच उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो । क्लबका सहकोषाध्यक्ष सुमन श्रेष्ठले उक्त प्रतिवेदन सार्वजनिक गर्नु भएको हो । सात पेज लामो सो प्रतिवेदनमा गत वर्षको मौज्दात रकम ३३ लाख १७ हजार ८५८ रहेको, यो वर्ष कुल आम्दानी ७५ लाख ९८ हजार ४३७ रहेको बताउनु भयो । उहाँका अनुसार सो आम्दानीलाई सरकारी निकाय, प्याराफिट टिकट विक्री, रसिद आम्दानी, वैदेशिक सहयोग र टिम दर्ता शुल्कबाट प्राप्त भएको हो ।
यसैगरी, खर्चतर्फ ५७ लाख ८१ हजार २०७ रुपैयाँ रहेको श्रेष्ठले बताउनु भयो ।
प्रतिवेदनमा आम्दानी तथा खर्चलाई शीर्षक र अनुसूचि उल्लेख गरी सकेसम्म पारदर्शी गर्ने प्रयास गरिएको त्रिवेणी क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताउनु भयो । उहाँका अनुसार आम्दानीलाई अनुसूचि २ देखि ६ सम्म र खर्च अनुसूचि १.१ देखि १.१४ सम्ममा उल्लेख गरिएको छ । उहाँले भन्नुभयो, ‘बोलकबोल गरेको उठ्न बाँकी रकममा सरकारीतर्फ १० लाख रुपैयाँ र अन्य रकममा एक लाख १५ हजार १११ रुपैयाँ रहेको छ ।’
सो अवसरमा उक्त कार्यक्रममा सहयोग गर्नु हुने सबै दाताहरूलाई सहयोग राशिको स्तर अनुसार सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
त्रिवेणी क्लबका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष टेकजङ्ग गुरुङले गर्नु भएको थियो भने सञ्चालन सचिव प्रवीण वाग्लेले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८१ जेष्ठ २०, आईतवार ०७:२३ गते