संस्कार संस्कृति बिर्सनु भनेको आफैलाई बिर्सनु हो : मेयर महतो

संस्कार संस्कृति बिर्सनु भनेको आफैलाई बिर्सनु हो : मेयर महतो

नवराज पहाडी

@antaranganews

२०८१ जेठ २४ गते बिहिबार ०९:५४

प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले ठाडाेभाका नयाँ पुस्तामा हस्तान्तरण गर्न र पुराना गायकहरुकाे आत्म विश्वास बढाउन प्रशिक्षणकाे खाँचो अनुभव गरेको उल्लेख गर्दै प्रशिक्षणकाे आयाेजना गर्ने र प्रविधिक सहयोग गर्ने गरिएकाे उल्लेख गर्नुभयो । प्रतिष्ठान नभएको भए सायद आज याे गीतकाे उचाई याे स्तरमा हुन्नथ्यो भन्ने ठाेकुवा गर्नुभयो ।

माडी(चितवन)– माडी नगरपालिकाका मेयर ताराकुमारी काजी महतोले संस्कार संस्कृति बिर्सनु भनेको आफैलाई बर्सनु हो, त्यसैले यसतर्फ सबैले ध्यान दिन आवश्यक छ भन्नुभएको छ । सोही नगरपालिका– ९ को गोविन्दबस्ती स्थित दुरा सेवा समाजको सांस्कृतिक भवनमा ३ दिने ठाडोभाका प्रशिक्षणको उद्घाटन गर्दै जेठ २४ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले रङ्गीचङ्गी फूलहरूले शोभायमान बगैंचा जस्तै नेपाल पनि एक देश हो, त्यस्तै दृश्य माडीमाा पनि देख्न पाइन्छ, जो देख्दा गर्व लाग्ने गरेको उहाँले बताउनु भयो । माडीको दुराजातिलाई नगरपालिकाले होमस्टे व्यवस्थापन लगायतका कार्यमा सहयोग गरेको स्मरण गर्दै यो भवन आफैंले शिलान्यास गरेको कारण पनि यहाँ कार्यक्रम छ भनेपछि छुटाउन मन हुदैन, त्यसैले समय नहुदा नहुदै पनि आए उहाँले भन्नुभयो । होमस्टेमार्फत संस्कार संस्कृति संरक्षणमा टेवा पुर्याएको उहाँले उल्लेख गर्नुभयो । कुनै दिन भान्सा, पाहुनाको स्वागत र बजारमा जाने कनममा मात्र सीमित हुने महिलाहरु आज यहाँका जेष्ठ दिदीहरु देख्दा उर्जा आउने गर्छ उहाँले भन्नुभयो । अर्को एक प्रसङ्गमा उहाँले निःशुुल्क शिक्षा दिने जस्तो पुण्य अर्को कुनै काम छैन भन्दै सो प्रशिक्षणमा प्राविधिक सहयोग गर्ने ठाडोभाका लोककला प्रतिष्ठानका पदाधिकारीहरु तथा प्रशिक्षकहरुलाई हौस्याउने काम गर्नु भएको थियोे । यस्तो सीपको सही उपयोग गरेर दक्ष हुन सहभागीहरुलाई समेत आग्रह गर्नुभयो ।
दुरासेवा समाजका केन्द्रीय सल्लाहकार लक्ष्मण दुराले शुभकामना मन्तव्य व्यक्त गर्दै दुराभाषा लोप भएको हुदा त्यसको प्रशिक्षण आवश्यक भए पनि ठाडोभाकाको प्रशिक्षण गर्नु पर्छ भन्नेमा आफू नरहेको किनकि यो गीत त ठाउँठाउँमा गाइरहेको हुदा लोप भईसकेको छैन प्रशिक्षण किन ? भन्नुभयो ।
प्राविधिक सहयोग गर्ने प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुध्दिमान दुरा धम्पुले संगीतको धुन सबैको हुन्छ, कुनै व्यक्ति, जात वा ठाउँ बिशेषको हुदैन भन्नुभयो । उहाँले ठाडोभाकाको प्रतिष्ठान भएकै कारण आफू अमेरिका सहितका विभिन्न राष्ट्र घुम्ने र महानायकको उपाधि पाउन सकेको हुं, यो संस्थाको हित र उन्नतिमा लागि रहने बताउनु भयो ।
प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले ठाडोभाका नयाँ पुस्तामा हस्तान्तरण गर्न र पुराना गायकहरुको आत्म विश्वास बढाउन प्रशिक्षणको खाँचो अनुभव गरेको उल्लेख गर्दै प्रशिक्षणको आयोजना गर्ने र प्रविधिक सहयोग गर्ने गरिएको उल्लेख गर्नुभयो । प्रतिष्ठान नभएको भए सायद आज यो गीतको उचाई यो स्तरमा हुन्नथ्यो भन्ने ठोकुवा गर्नुभयो ।
पहाडीले स्थानीय सरकारले आफ्नो कुल बजेटको कम्तिमा एक प्रतिशत लोककला, संस्कृति तथा साहित्यका लागि छुट्टाउने नीतिगत व्यवस्था गरिनु पर्नेमा जोड दिनुभयो ।
दुरा भाषाका विज्ञ मुक्तिनाथ घिमिरेले ठाडोभाका र ठेलो दुराहरुको पहिचान भएको हुदा यी दुबैलाई बचाउनु पर्नेमा जोड दिनुभयो । उहाँले ठाडोभाका काली गण्डकी हो भने अन्य गीत खहरे हुन् भन्नुभयो । दुरा सेवा समाज भरतपुर इकाईका अध्यक्ष विष्णु दुराले कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएको थियो । कालिका आमा समूहका अध्यक्ष कालुमाया दुरा समेतले शुभकामना व्यक्त गर्नु भएको सो कार्यक्रममा ७० वर्ष उमेर पार गर्नुभएका अग्रज स्रष्टा त्रय रतनबहादुर दुरा, चित्रबहादुर र डिलमाया दुरालाई सम्मान गरिएको थियो ।
दुरा सेवा समाज माडी ईकाईका अध्यक्ष कुलबहादुर दुराको अध्यक्षतामा भएको कार्यक्रममा सो समाजको चितवन जिल्ला अध्यक्ष श्याम दुराले स्वागत गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियोे भने सञ्चालन प्रतिष्ठानका आजीवन सदस्य एवम् ठाडोभाका गायिका सावित्री शाहीले गर्नुभएको थियोे ।
उक्त अवसरमा  उक्त प्रशिक्षणमा २५ जनाले भाग लिएका छन् ।

प्रकाशित मिति २०८१ जेष्ठ २४, बिहीबार २१:५४ गते
हजुरको प्रतिक्रिया