राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेद्वारा दोस्रो पार्टी स्थापना दिवसका सन्दर्भमा पार्टी पंक्तिलाई सम्बोधन

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेद्वारा दोस्रो पार्टी स्थापना दिवसका सन्दर्भमा पार्टी पंक्तिलाई सम्बोधन

नवराज पहाडी

@antaranganews

२०८१ असार १ गते शुक्रबार ०७:४३

नेतृत्व हिजो जस्तै इमान्दार, क्रियाशील र कर्तव्यनिष्ट छ, पार्टीमा ३– ४ वर्ष पनि धैर्य गर्न नसक्नेहरू बेलैमा पाखा लाग्दा राम्रो, इलामको परिणामले ‘म फलानो पदको’ भन्दै प्रचारमा रमाउनेहरूको आँखा खुल्यो होला नि !

परीक्षा दिनासाथ नतिजा आउँदैन भन्ने बुझ्न आग्रह

काठमाडौं– संघीय संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को दोस्रो स्थापना दिवस संघारमा आएको छ । आउँदो असार ७ गतेका दिन मनाइने सो दिवसको पूर्वसन्ध्यामा सो पार्टीका सभापति रवि लामिछानेले जुमबाट पार्टी पंत्तिलाई जेठ ३१ गते सम्बोधन गर्दै ‘परीक्षा दिनासाथ नतिजा आउँदैन भन्ने बुझ्न आग्रह’ गर्नुभएको छ ।
करिब पाँच सय कार्यकर्ता जोडिएको जुम कार्यक्रमलाई सम्बोधनका क्रममा उपप्रधान तथा गृहमन्त्री समेत रहनु भएका सभापति रविले पार्र्टी स्थापनाकालीन दिन तथा संघीय संसदमा २० सिट जित्दाको समयमा जत्तिकै उत्साही, आशावादी, निर्भिक, संयम एवम् केही गर्ने हुटहुटीले गाँजेको व्यक्तित्वजस्तै रुपमा प्रस्तुत हुनु भएको थियो । उहाँले पार्टीको दोस्रो स्थापना दिवस(आउँदो असार ७ गते)मा केन्द्रदेखि प्रदेश, जिल्ला, पालिका, वडा समितिले समेत केही न केही रचनात्मक र नमूनायुक्त कार्यक्रम सञ्चालन गर्नु होला’ भन्ने निर्देशन दिनु भयो । सबै तहका समितिले आफ्नै क्षमता अनुसारको स्रोत व्यवस्थापन गरी कार्यक्रम गर्नु होला, हामीले अपारदर्शी चन्दा लिने काम गर्न मिल्दैन भन्दै केन्द्रले चियापानको आयोजना गर्ने उहाँले जानकारी दिनुभयो । चियापान संस्कार पनि हो सबैलाई निम्त्याइने छ भने अनियमितता गर्नेलाई कारवाही गर्ने अर्को पाटो हो, त्यस बेलामा अनुहार हेरिदैन उहाँले प्रष्ट्याउनु भएका थियो ।
रास्वपाका सभापति रविले करिब आधा घण्टा लामो सम्बोधन क्रममा पार्टी पंक्तिलाई धैर्य गर्न सुझाउनु भयो । उहाँले सानो राम्रो काम हुँदैमा ‘वाह !’ गर्ने र परिणाम आउन केही ढिला हुँदा ‘खत्तम भयो’, ‘केही गरेन’ भन्ने हल्लाका पछि नलाग्न आग्रह गर्नु भयो । उहाँले नेतृत्व हिजो जस्तै इमान्दार, क्रियाशील र कर्तव्यनिष्ट छ त्यसैले आफ्नो विश्वासबाट विचलित नहुन आग्रह गर्नु भयो । उहाँले भन्नुभयो, ‘पार्टीमा नेतृत्व पंक्तिलाई विश्वास नगर्नेहरू, ३– ४ वर्ष पनि धैर्य गर्न नसक्नेहरू बेलैमा पाखा लाग्दा राम्रो हुन्छ ।’ उहाँले पार्टीमा कसैलाई हाइसञ्चो र कसैलाई भ्याईनभ्याई छ, इलामको परिणामले ‘म फलानो पदको’ भन्दै प्रचारमा रमाउनेहरूको आँखा खुल्यो होला नि ? भन्ने प्रतिप्रश्न गर्दै तपाईहरू सबैका एक– एक प्रश्नको उत्तर पाउनु हुन्छ । तिनको सम्बोधन र समाधान हामी गर्दछौं उहाँले भन्नुभयो ।
कतिपय प्रश्नहरू अनुत्तरित पनि छन् । प्रश्नको निराकणका लागि पार्टी पंक्तिसँग जोडिनु पर्ने र त्यसो भएमा के के हुँदैछ, गरिदैछ ? भन्ने धेरै जानकारी हुने उहाँले बताउनु भयो । उहाँले पार्टीले गरेका हरेक कामको निर्मम समीक्षा गरी अघि बढ्ने गृहकार्य नेतृत्वले गरिरहेको जानकारी दिनुभयो ।
उहाँले कतिपय कारवाहीका फायल किन नखोलेको भन्ने ? बारम्बार उठ्ने प्रश्नको जवाफ दिदै कतिपय फायल खोल्नु पूर्व फायल निर्माण गर्नु पर्ने स्थिति छ, त्यो काम भइरहेको छ । हामी त्यसमा लागेका छौं । हिजो कोही पक्रदा अघिल्लो दिनसम्म त थाहा थिएन नि ! यस्ता कतिपय विषय छन्, जो हल्ला गर्दै हिड्न पनि मिल्दैन तर काम भएकै छैन भन्ने हैन, हामी निरन्तर लागि परेका छौं । लाग्छौं केही समय धैर्य गर्नु होला भन्ने अनुरोध गर्नु भयो । केही हामीलाई निरास बनाउनेतर्फ पनि लागेको छन् । अन्य ठूलो दलको जस्तो परम्परागत प्रचार संयन्त्र पनि हाम्रो छैन त्यसैले भ्रममा नपर्नु होला उहाँले भन्नुभयो ।
दिनहरू पनि एकनास नभएर कहिलेकाहीँ बादल लागे जस्तै पार्टीको गतिमा पनि कुनै दिन कतैकतै बादल लागेको जस्तो भयो/लाग्यो होला त्यो म पनि स्वीकार गर्छु तर निरास वा हतोत्साहित हुने अवस्था छैन र त्यस्तो हुन दिने छैनौं ढुक्क हुनुहोस् उहाँले जोड दिदै भन्नुभयो ।
देशको वर्तमान अवस्थामा केही नराम्रो नगर्नुलाई पनि राम्रो मान्नु/भन्नु पर्ने स्थिति छ । चार मन्त्रीहरूले धेरै नीतिगत भ्रष्टाचारलाई रोक्ने काम गरेका छौं र थोरै बजेटमा पनि उपलब्धीपूर्ण काम गर्नका लागि योजनाबद्ध तरिकाले आफूहरू जुटिरहेका छौं उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘केही दिन अघिसम्म झण्डै अढाई महिना रास्वपाले नै देशलाई पुरै सखाप परेको हो भन्ने शैलीमा हामीलाई डोब्न खोजियो तर आत्तिनु पर्दैन, हामी सरकारका १०० दिनका सन्दर्भमा पनि आफूले गरेका काम सार्वजनिक गर्दैछौं, त्यसले पनि केही अन्योल चिर्ने र काम हुँदैरहेछ भन्ने लाग्नेछ भन्ने जानकारी दिनुभयो । उहाँले अन्य कतिपय मन्त्री को छ ? भन्ने सम्म पनि थाहा नभएको अवस्था छ तर रास्वपाका चारै जना मन्त्रीहरू त्यस्तो स्थितिमा नरहेको केही न केही गरिरहेका छौं र गर्छौं भन्ने बताउनुभयो ।
पार्टी सभापति रविले भन्नुभयो, ‘हामी प्रतिशोध साँध्न आएका हैनौं, काम गर्न आएका हौं, त्यसको आधार तयार हुँदैछ, त्यसमा नेतृत्वपंक्ति निरन्तर लागि रहेको छ ।’
उहाँले पार्टी संरचनाका निर्वाचन क्षेत्र लगायतका समिति गठन गरिएको, पद दिए पनि काम नदिएको किन ? भन्ने पनि कतिलाई लागेको होला, पार्टीमा आज पनि संक्रमणकालीन स्थिति छ, पार्टी स्थापनाको दुई वर्ष बित्दै छ, यसलाई प्रशव पीडाको बेला पनि भन्न सकिन्छ यी यावत विषयमा नेतृत्वले अध्ययन गरिरहेको छ र राम्रो परिणाम ल्याउने तयारीमा छ भन्ने जानकारी दिनुभयो ।
पार्टी सभापति रवि लामिछानेले सम्बोधन गरिरहनु हुँदा पनि उहाँलाई बग्रेल्ती प्रश्नहरूको ओइरो लागेको थियो ।
तपाईहरूका पार्टीको आन्तरिक संरचना, गतिविधि, सरकारका काम, सरकारमै किन गएको ? नगएको भएपनि हुन्थ्यो, भ्रष्टाचारीलाई कारवाही गर्न फाइल खोल्न किन ढिला गरेको ? लगायतका यावत प्रश्नको प्याकेजमा उत्तर दिन पार्टी पंक्ति तयार छ तर बिचलित हुन जरुरी छैन, केही समय धैर्य गर्नु होला सबै प्रश्नको जवाफ पाउनु हुन्छ भन्दै सभापति रविले आफ्नो सम्बोधन टुंग्याउनु भएको थियो ।

प्रकाशित मिति २०८१ जेष्ठ ३२, शुक्रबार ०७:४३ गते
हजुरको प्रतिक्रिया