बेसीशहर– लमजुङको जिल्ला सरदमुकाम स्थित बेसीशहर खानेपानी तथा उपभोक्ता समितिको पाँचौं अधिवेशनका क्रममा हुने निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । सो निर्वाचनमा काँग्रेसले लोकतान्त्रिक समूह, एमालेले प्रगतिशील समूह र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले स्वतन्त्र समूहका नाउँमा आ– आफ्नो प्यानल खडा गर्ने तयारी गरेसँगै जेठ ३२ गते त्यस्तो खुलासा भएको हो ।
बेसीशहर खानेपानी तथा उपभोक्ता समितिको ४/४ वर्षमा हुनु पर्ने निर्वाचन यसपटक साँढे पाँच वर्ष ढिला गरी हुँदैछ आउँदो असार ८ गते हुने भएको छ । त्यसका लागि सो समितिले अधिवेशन सहितको तयारी गरेको र त्यसको उदघाटन असार ७ गते हुने बताइएको छ । पदाधिकारी चयनका लागि अधिवक्ता हरिबहादुर रानाभाटको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरिएको छ । निर्वाचन समितिले पनि काम अघि बढाएको जानकारीमा आएको छ ।
आजका दिनसम्म नेपाली काँग्रेसको बर्चश्व रहँदै आएको उक्त खानेपानी उपभोक्ता समितिमा यस पटक भने काँग्रेस चिप्लने बढी सम्भावना देखिएको छ । त्यसो त निर्वाचन परिणाम मिश्रित आयो भने पनि आश्चर्य हुने छैन । एमाले यसपटक जसरी पनि काँग्रेसको चंगुलबाट खानेपानीलाई मुक्ति दिएर आफ्नो हालीमुहाली कायम गर्ने योजनामा जुटेको स्रोतको दावी छ ।
उता, रास्वपा टिकटको स्वतन्त्र समूह काँग्रेस– एमाले दुवै पार्टीका गतिविधिप्रति असन्तुष्ट भएका उपभोक्ताहरूको मनोभावना जित्ने गरी काम गर्ने दौडमा रहेको छ । ती दुबै पार्टीमा हावी हुँदै आएको गुटगत राजनीतिबाट पनि आफूलाई फाइदा हुने सोचमा रहेको देखिन्छ । काँग्रेसका दुई गुटले एक एक जना सभापतिका उम्मेदवार अघि सार्दै बार्गेनिङ सुरु गरेको जानकारीमा आएको छ । नेतृत्व कस्ले हत्याउने हो भन्ने उम्मेदवारी दर्ता गरेपछि मात्र थाहा हुने बताइन्छ ।
एमाले भित्र गुटबन्दी भुसको आगोझैं दन्की रहेको छ । तर एक पक्ष मौनता साध्ने र निर्वाचनमा पनि असहयोग गर्ने मुडमा रहेको स्रोतले बताएको छ ।
खानेपानीमा चरम अनियमिताका घट्नाको चर्चा बारम्बार हुने गरेता पनि बाहिर भने उस्तो न समाचार आउछन् न त त्यस्ता कुनै घट्ना । त्यसो त हिजोका दिनमा लमजुङ विद्युत उपभोक्ता संस्थामा पनि भ्रष्टाचारको निकै चर्चा हुन्थ्यो । पछि त्यस्ता कर्मलाई रोक्ने भन्दै एमालेले आफ्ना प्रतिनिधि उपभोक्ता संस्थाको सञ्चालन समितिमा पठायो तर अनियमितता रोकिएन मात्र हैन विद्युतमा एमाले सहितको नेतृत्व रहेकै बखतमा विद्युत प्राधिकरण मातहत उपभोक्त संस्थाको अधिकार पु्ग्यो तर एमाले भने मौन नै रह्यो । बरु जिल्ला अस्पताल प्रदेश मातहत ल्याइदा एमालेले निकै ठूलो स्वरमा प्रतिवाद गरेको थियो । यसैकारण पनि खानेपानी उपभोक्ता समितिमा हुने गरेका विकृतिका विरुद्धमा एमाले पनि उभिन सक्नेमा उपभोक्ताले विश्वास नगरेको स्थिति दरिलो बन्दै आएको छ । त्यसैले अधिकांश उपभोक्ताको रोजाईमा स्वतन्त्र समूहका उम्मेदवार पर्न सक्ने देखिन्छ ।
काँग्रेस टिकट समूहबाट हालका उपाध्यक्ष लोकन्द्र गुरुङ तथा कोषाध्यक्ष भीमबहादुर अधिकारीको अध्यक्षमा दावी रहेको छ । समयमा अधिवेशन समेत गर्न नसक्ने समितिका मान्छेलाई नेतृत्व सुम्पन हुन्न भन्ने आम उपभोक्ताले बताउने गरेको छन् । एमालेबाट राजबहादुर गुरुङको नाम चर्चामा रहेको बताइन्छ । त्यसो त सो दलमा जुन तामाङ र राजकुमार श्रेष्ठ पनि आकांक्षी हुनु भएको बताइन्छ ।
स्वतन्त्र समूहको नेतृत्व जुझारु युवा व्यक्तित्व विष्णु घिमिरेले गर्ने जानकारीमा आएको छ । त्यस्तै, महिला उपाध्यक्षमा सविता अधिकारी बराल अग्रसर हुनुभएको छ भने सचिवमा अर्का युवा व्यक्तित्व श्याम अर्याल भिड्ने हुनु भएको रास्वपाको वडानं– ८ का अध्यक्ष राजकुमार घिमिरेले बताउनु भयो । स्वच्छ छवी भएका उहाँहरू तीनै जनाको नेतृत्वले खानेपानी सहज रुपमा हाँक्न सक्ने देखिएको आम उपभोक्ताको धारणा रहेको पाइन्छ ।
स्मरणीय छ, सो खानेपानी आयोजना २०५२ सालको कार्तिकमा स्थापना भएको हो । यतिबेला आठौं अधिवेशनको चर्चा सुरु हुने बेलामा पाँच अधिवेशन हुँदैछ । यसैबाट पनि नेतृत्व क्षमताको पहिचान गराएको आमबुझाई छ ।
प्रकाशित मिति २०८१ जेष्ठ ३२, शुक्रबार ११:०६ गते