बेसीशहर– किनेर ल्याइएको भैंसी गोठमा पुर्याउनै लाग्दा अचानक उस्लाई बोकेर ल्याएको ट्रकको पछाडिको पल्ला खोलेर मिल्काई भाग्दा बजार केही क्षण आतंकीत भएको थियो । बेसीशहर नगरपालिका– ७ को बन्थोकबाट फुत्केर भागेको भैंसी सोही नगरपालिका– ८ को लक्ष्मीनारायण सामुदायिक पुस्तकालय पछाडि झ्याङ खोलामा आएपछि नियन्त्रणमा लिइएको थियो ।
त्यो भैंसी बिच्केर भाग्दा एक जना सामान्य घाइते भएका थिए । उनी लमजुङ अस्पतालमा प्रार्थमिक उपचारपछि घरमा फर्केको जिल्ला प्रहरी कार्यालयका प्रमुख मीनबहादुर घलेले बताउनु भयो । उहाँका अनुसार अन्य रिपोर्ट आएको छैन ।
त्यो भैंसीले एक मोटरसाइकलको टंकीमा प्वाल पारिदिएको र तीनजनालाई घाइते बनाएको भन्ने हल्ला थियो । तर घाइते एक जनामात्र भन्ने बुझियो प्रनाउ घलेले बताउनु भयो ।
त्यो भैंसी बन्थोकमा चार वर्ष अघि खोलिएको बस्नेत भैंसी फर्मका प्रो. तीर्थबहादुर बस्नेतले धमिलिकुवाबाट किनेर ल्याएको बताउनु भयो । उहाँका अनुसार मुर्रा जातको त्यो भैंसी ८० हजार रुपौयाँमा खरिद गरेको हो । बस्नेतले थप भन्नुभयो, ‘किनेको ठाउँबाट सरसाउँदो आफैले गाडीमा लोड गरेर ल्याएको हुँ ।’
सो घट्ना बारेमा जानकारी दिदै उहाँले भन्नुभयो, ‘बेसीशहरको सेरामा आउने बेलामा आफैले ट्रकमा उधिन्दा एउटा(दायाँ) सिङ भाँच्यो, घरमा पुग्नै लाग्दा मिनी ट्रकमा राखेर ल्याएको पछाडिको पल्ला सिङले मिल्काई निस्केर भागेको हो ।’
युनिभर्सल चोक नजिकबाट त्यसरी ट्रकबाट उम्ेकेर बिच्कदै भागेको भैंसी बुद्ध चोक, पुरानो बैंंक चोक त्रिवेणी टोल, भीमसेन स्थान, नारायण स्थान हुँदै झ्याङ खोलामा आएपछि प्रहरी, स्थानीय, भैंसीका मालिक समेतले घेरा हालेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रबाट आएको चिकित्सक टोलीले त्यो भैंसीलाई तीनवटा लठ्याउने र दुई वटा दुखाई कम गर्ने सुई दिइएपछि भैंसी केही सुस्तायो र नियन्त्रणमा लिन सहज भएको हो ।
प्रकाशित मिति २०८१ जेष्ठ ३२, शुक्रबार २२:०१ गते