काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को नेतृत्वको चेत खुल्न लागेको संकेत मिलेको छ । नेतृत्वलाई बल्ल संगठन आवश्यक भएको महसुस गरेको खुलासा सो दलका उपसभापति डा. स्वर्णिम वाग्लेले असार १ गते बताउनु भएसँगै त्यस्तो संकेत मिलेको हो ।
काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले तर पुरानो पार्टीको भद्धा नक्कल नगर्ने दावी दोहोर्याउनु भयो । तथापि उहाँको सो भनाई बाहिरिएसँगै पार्टीमा संगठन बनाउनु पर्छ भनेर जोडबल गरिरहेका कार्यकर्तालाई भने राहत दिएको अनुभव गरिएको छ ।
पार्टीलाई कार्यकर्ता र संगठन आवश्यक रहेको र यसको पछिल्लो उदाहरण इलाम र तनहुँमा देखिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘संगठन नहुँदा समुदायसम्म पुग्न कठिन भएको छ ।’
संगठन नहुँदा हामीलाई पेनिट्रेट गर्न गाह्रो भयो, सबैभन्दा खड्केको इलामको निर्वाचनको मौन अवधिमा हो । त्यो समय जुन किसिमले अफवाह फैलाइए, त्यसलाई चिर्न टोलटोलमा साथीहरू नभएको उहाँले अनुभव सुनाउँदै भन्नुभयो, ‘मौन अवधिमा विज्ञप्ति निकाल्न नमिल्ने, भिडियो वक्तव्य निकाल्न नमिल्ने, नेताहरूले भाषण गर्न मिल्दैन । त्यो अन्तिम घडीको अफवाहहरू चिर्न कार्यकर्ता नै चाहिन्थ्यो, हामीसँग त्यो कमी रह्यो ।’
उहाँले थप भन्नुभयो, ‘पातलो चुस्त संरचना रास्वपाले कल्पना गर्नै पर्छ ।’ रास्वपा अभियानको रुपमा अब अघि बढ्ने उहाँको उदघोष थियो ।
प्रकाशित मिति २०८१ असार १, शनिबार २१:३७ गते