बेसीशहर(लमजुङ)– बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन मिति तोकिएको भएता पनि उम्मेदवारी दिने लगायतको सूचना जारी नहुँदा त्यसमा नेतृत्व लिन चाहनेहरूका बीचमा अन्योल सिर्जिएको छ । समितिले मतदानका लागि यही असार ८ गतेको दिन निर्धारण गरिएको भएता पनि निर्वाचनका लागि पुरा गर्नु पर्ने अन्य प्रक्रियाका लागि आज असार २ गतेको दिन बितिसक्दा पनि सो सम्बन्धि सूचना जारी नहुँदा भने अन्योलको स्थिति सिर्जिएको हो ।
बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पाँचौं अधिवेशनका लागि समितिको सञ्चालक समितिका झण्डै एक महिना अघिदेखि सूचना जारी गरेर असार ७ र ८ गतेका लागि मिति उल्लेख गरेता पनि निर्वाचनका लागि भने कुनै पनि सूचना असार २ गते साँझ ७ बजे सो समाचार तयार गर्दा निकालिएको छैन । यसले अन्योल सिर्जिएको सो समितिको सञ्चालक समितिको नयाँ नेतृत्व लिन चाहनेहरूले बताएका छन् । ७ र ८ गते अधिवेशन हुने भएपछि अब बीचमा रहेका रहेका चार दिनमा उम्मेदवार हुन चाहनेहरूले के मात्र गर्छन् होला ? आशंका उब्जिएको छ ।
मतदान हुन पाँच दिन बाँकी रहँदा न त उम्मेदवारी दर्ताको सूचना जारी भएको छ न त स्वतन्त्र समूह बाहेकका अन्य दलले उम्मेदवार नै घोषणा गर्न सकेका छन् । त्यसैले पनि अन्योलको स्थिति चर्किदै गएको आम बुझाई छ ।
यसबारेमा बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले नियुक्त गरेका निर्वाचन संयोजक अधिवक्ता हरि रानाभाटसँग सम्पर्क गर्दा ‘म मनाङ रहेका कारणले हो, भोलि बिहान म आएपछि सबै काम विधिपूर्वक भोलिबाटै सुरु हुन्छ’ उहाँले भन्नुभयो । निर्वाचन प्रक्रियाका कार्य गर्न ढिला भएन ? भन्ने जिज्ञासामा मतदाता नामावली ठीक गरेको समितिबाट जानकारी प्राप्त भएको छ । हामीले उम्मेदवारी दर्ताका प्रक्रियागत कुरामात्र गर्ने हो, त्यसैले आत्तिनु पर्ने अवस्था छैन उहाँले उल्लेख गर्नुभयो ।
यसै सम्बन्धमा बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रधानसँग सम्पर्क गर्दा हामीले त जिल्लाका सबै सञ्चारमाध्यम मार्फत एकमहिना अघिदेखि अधिवशेनको सूचना जारी गरिसकेका छौं नि भन्नुभयो । अधिवेशनको जानकारी त भयो तर उम्मेदवार हुन चाहनेहरूका लागि त आजसम्म केही सूचना छैन नि ! भन्दा भोलि निर्वाचन समिति र सञ्चालक समिति बसेर सबै टुंगो लगाई सूचना जारी गर्दछौं उहाँले भन्नुभयो ।
स्वतन्त्र समूहका उम्मेदवारहरू :
अब त बीचमा पाँच दिन मात्र बाँकी छन् । मतदानको २४ घण्टा अघि प्रचार गर्न पाइने हो कि होइन ? तीन हजार भन्दा बढी मतदाता रहेछन्, उम्मेदवार हुनेहरूले एक पटक मतदाताको घरदैलोमा पुग्ने मौका पाउनु पर्दैन ? भन्ने हाम्रो थप जिज्ञासामा उहाँले भन्नुभयो, ‘सबै पार्टीले आन्तरिक तयारी गरेको र पार्टीगत रुपमा चुनाव हुने भन्ने बुझेको छु, स्वतन्त्र पार्टीको स्वतन्त्र समूहको त उम्मेदवार नै सार्वजनिक भएको तपाईकै समाचार पढेर थाहा पाएको हु्ँ । अन्य पार्टीहरू पनि चुनाबको आन्तरिक तयारीमा छन् भन्ने सुनेको छु ।’
निर्वाचनको कति दिन अघि मनोनयन दर्ता गर्नु पर्ने लगायतका कुराहरू विधान वा निर्वाचन नियमावलीमा के व्यवस्था छ ? भन्ने अर्को जिज्ञासामा त्यस्तो ‘यही नै गर्ने’ भन्ने त केही पनि उल्लेख छैन अध्यक्ष प्रधानले भन्नुभयो । हिजो स्थापनाकालमा डेढ सय पनि उपभोक्ता नभएको अवस्थामा हुने चुनाव र आज तीन हजारभन्दा बढी संख्याका बीचमा हुने चुनावको प्रकृति एउटै हुन्छ त ? त्यसलाई विधान वा निर्वाचन निर्देशिकाले निर्दिष्ट गर्नु पर्दैन ? भन्ने थप जिज्ञासामा उहाँले भन्नुभयो, ‘त्यस्ता समसामयिक सुधारका लागि हामीले उपभोक्ताहरूसँग सुझाव मागेका छौं । अधिवेशनमा विधान संशोधन गर्ने कि निर्वाचन निर्देशिका बनाउने निर्णय हुन्छ’ उहाँले उल्लेख गर्नुभयो ।
बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समिति स्थापना हुँदा २०५२ सालको कार्तिकमा १३६ घर परिवार (मतदाता) रहेका थिए । तर ऐले त्यो संख्या बढेर तीन हजार एक सय ९७ पुगेको छ । करिब एक सय सरकारी कार्यालय र संस्थागत सदस्यता छ । उनीहरूले मतदानमा भाग लिन पाउँदैनन् । यसप्रकार मतदानमा भाग लिने संख्या करिब ३१ सय हुने बुझिएको बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयले जनाएको छ ।
२०५२ सालमा १३६ जना उपभोक्ता हुँदा स्थापना भएको बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आज २०८१ सालमा आईपुग्दा र तीन हजार भन्दा बढी उपभोक्ता हुँदा पनि स्थापनाकालीन विधान अनुसार सञ्चालन समितिको निर्वाचन गर्ने मुडमा देखिएको छ, जो समयसापेक्ष देखिदैन भन्ने आमबुझाई रहेको छ ।
स्मरणीय छ, यो समाचार तयार गर्दासम्म राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र समूहले बेसीशहर नगरपालिका– ७ का विष्णु घिमिरेको नेतृत्वमा ११ सदस्यीय उम्मेदवारी घोषणा गरिसकेको छ भने काँग्रेस र एमालेले उम्मेदवारको औपचारिक घोषणा गर्न सकेका छैनन् । स्वतन्त्र समूहका उम्मेदवारको नाम, फोटो र पदहरू तपसिल बमोजिम छन् ।
प्रकाशित मिति २०८१ असार २, आईतवार १९:३५ गते