बेसीशहर खानेपानी निर्वाचन : एमाले, माओवादी र एसको प्रगतिशील उपभोक्ता समूह, राप्रपा सहितको काँग्रेसको लोकतान्त्रिक समूहद्वारा उम्मेदवारी घोषणा

बेसीशहर खानेपानी निर्वाचन : एमाले, माओवादी र एसको प्रगतिशील उपभोक्ता समूह, राप्रपा सहितको काँग्रेसको लोकतान्त्रिक समूहद्वारा उम्मेदवारी घोषणा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असार ५ गते मङ्गलबार १०:४१

एमालेले आज पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गरेका हुन् भने काँग्रेस– राप्रपाले भोलि पत्रकार सम्मेलन गर्ने बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको स्वतन्त्र समूहको तीन दिन अघि नै उम्मेदवारी घोषणा गरिसकेको हो ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाममा रहेको बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पाँचौं अधिवेशनका साथमा हुने निर्वाचनका लागि एमाले, माओवादी र एसको प्रगतिशील उपभोक्ता समूहका उम्मेदवारहरूको पत्रकार सम्मेलन मार्फत असार ४ गते साँझ घोषणा गरिएको छ । काँग्रेस– राप्रपा गठबन्धनले पनि लोकतान्त्रिक समूहको उम्मेदवारी सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेको हो ।
अन्तरङ्गले झण्डै एकसाता अघि ‘बेसीशहर खानेपानी निर्वाचनमा त्रिपक्षी भिडन्त हुने’ भन्दै प्रकाशन गरेको समाचारले आज सार्थकता पाएको छ । प्रगतिशील उपभोक्ता समूहको एमाले, माओवादी र एसको गठबन्धनले एमालेका केन्द्रीय सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी उम्मेदवारको घोषणा गरेको हो । कार्यक्रमका सञ्चालक एमालेका युवा नेता जुन तामाङले सो समूहको घोषणा गर्नु भएको हो ।
सो समूहमा २०४९ को निर्वाचनमा भुजुङ गाविसको उपाध्यक्ष समेत रहनु भएका रामबहादुर गुरुङलाई अध्यक्षको उम्मेदवार बनाएको छ । त्यस्तै, उपाध्यक्षमा श्रद्धा पौडेल, सचिव शम्भुलाल श्रेष्ठ, कोषाध्यक्ष नन्दलाल श्रेष्ठ तथा सदस्यहरूमा विनोद तामाङ, शान्तिबहादुर बस्नेत, भिमसेन अधिकारी, राजन पौडेल, युक्मी गुरुङ, सविना रिमाल र गोपाल परियारलाई उम्मेवादर बनाएको उल्लेख छ ।
सो अवसरमा एमालेका केन्द्रीय सदस्य जमिन्द्रमान घलेले खानेपानीको वर्तमान समितिको बैधानिकता ४ वर्षमात्र हो तर उहाँहरू १० वर्षदेखि हालिमुहाली गरिरहनु भएको छ, वार्षिक रुपमा गर्नु पर्ने साधारण सभासम्म पनि भएको छैन । त्यहाँको आम्दानी खर्च पारदर्शी नभएको र मनपरी खर्च गरिएको सुन्नमा आएको छ । त्यस्तो खेल रोक्नका लागि घोषित उम्मेदवारलाई जिताउनु पर्छ भन्दै उहाँहरूलाई हाम्रो पार्टीको समर्थन छ तर पार्टीले टिकट दिएको भने होइन भन्नुभयो ।
बेसीशहर नगरपालिकाका निवर्तमान उपमेयर लक्ष्मी अधिकारीको अध्यक्षतामा भएको सो घोषणा सभामा सोही नगरपालिका उपमेयर पदमा गुरुङ, अध्यक्ष पदका उम्मेदवार रामबहादुर गुरुङ र सचिव पदका उम्मेदवार शम्भुलाल श्रेष्ठले आ–आफ्नो धारणा राख्दै मत माग्नु भएको थियो ।
काँग्रेस– राप्रपा गठबन्धनको लोकतान्त्रिक समूहका उम्मेदवारहरू :
काँग्रेस– राप्रपा गठबन्धनले आज साँझमात्र घोषित लोकतान्त्रिक समूहका उम्मेदवारहरूको टुंगो लगाएको छ । प्राप्त जानकारी अनुसार सो समूहको अध्यक्षमा वर्तमान उपाध्यक्ष लोकेन्द्र गुरुङ, उपाध्यक्षमा आशकुमारी गुरुङ, सचिवमा चन्द्रकान्त पौडेल, कोषाध्यक्ष भगवान पिया, सदस्यहरूमा अतिरुपा सेढाई, गणेश कामी, अपना खनाल अधिकारी, टिकाराम वाग्ले, लोठबहादुर गुरुङ, नरहरि पौडेल र अजितबहादुर अधिकारीलाई उम्मेदवार बनाएको जानकारीमा आएको छ ।
सचिव पौडेल अन्तरङ्गका सहसम्पादक :
नव घोषित लोकतान्त्रिक समूहबाट सचिव पदमा उम्मेवादी दिनु हुने चन्द्रकान्त पौडेल लमजुङको जेठो पत्रिका अन्तरङ्गका सहसम्पादकसमेत हुनुहुन्छ । हाल उक्त उपभोक्ता समितिको सञ्चालक सदस्य समेत रहनु भएका पौडेल समन्वयकारी भूमिकामा विशेष पोख्त मानिनु हुन्छ भने प्रपोजल लेखन कार्यमा समेत दक्ष हुनुहुन्छ ।

उहाँले बेसीशहरमा भाञ्चोक खोलाबाट पानी ल्याउनका लागि लाग्ने खर्च जुटाउनका लागि ऋण लिने कार्यमा समन्वयकर्ताका रुपमा तथा वल्र्डभिजनबाट चार लाख रुपैयाँको खानेपानी योजना स्वीकृत गराउने कार्यमा समेत विशेष भूमिका खेल्नु भएको थियो ।
यस जिल्लामा जेल जाने दुईजना मात्र पत्रकारहरूमा पौडेल दोस्रो हुनुहुन्छ ।

स्वतन्त्र समूहका उम्मेदवारहरू :
रास्वपा निकटको स्वतन्त्र समूहको अध्यक्षमा विष्णु घिमिरे हुनुहुन्छ भने उपाध्यक्षमा सविता अधिकारी बराल तथा सचिवमा श्यामबहादुर अर्याल र कोषाध्यक्षमा मिना खड्का हुनुहुन्छ । सो समूहको को सदस्यहरुमा दीपेशकुमार श्रेष्ठ, भक्तबहादुर अधिकारी, विष्णु सुयल, भीममाया तामाङ गुरुङ, रत्नकुमारी गुरुङ र केशब दुलाललाई उम्मेदवार हुनु भएको छ ।
स्मरणीय छ, राष्ट्रिय स्वतन्त्र पार्टीले जन्म भएको दुई वर्ष नपुग्दै ठूला भनिने, वर्षौं अघिदेखि स्थापित भएका काँग्रेस– एमालेका गठबन्धनसँग एक्लै भिड्ने तयारीमा जुटेको छ । सो दलको पहिचानका लागि त्यो नै ठूलो भानिएको छ ।

प्रकाशित मिति २०८१ असार ४, मंगलवार २२:४१ गते

हजुरको प्रतिक्रिया