खानेपानी उपभोक्ता समितिको सञ्चलकका लागि मत माग्दै स्वतन्त्र समूह घरदैलोमा

खानेपानी उपभोक्ता समितिको सञ्चलकका लागि मत माग्दै स्वतन्त्र समूह घरदैलोमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असार ६ गते बुधबार ०६:४५

उम्मेदवारलाई चुनाव प्रचारको खास गरी अन्तिम उम्मेवादर वा नमूना मतपत्र दिइए पछि सरसर्ति मतदाताकोमा पुग्न पाउनु पर्ने उम्मेदवारको नैसर्गिक अधिकार हो । ३÷३ जना वकिलसाहेवहरू रहेको निर्वाचन समितिले यो समस्यालाई के कसरी समाधान गर्ने हो ? त्यो भने हेर्न बाँकी छ ।

विकल्प रोज्न पाउने भएपछि उपभोक्ताहरू उत्साहित, धेरै मत रद्द हुने वा क्रस हुने सम्भावना बढ्यो

लमजुङ– जिल्ला सदरमुकाम स्थित बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पाँचौ अधिवेशनका क्रममा हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक स्वतन्त्र समूह मत माग्दै घरदैलोमा हिड्ने क्रम जारी रहेको छ । सो समूह असार ३ गतेदेखि नै घरदैलोमा घुमिरहेको छ भने सधैं उस्तै उस्तै उम्मेदवारलाई मत दिएर हैरान भएका मतदाताहरू पनि विकल्पमा मतदान गर्न पाउने भएपछि उत्साहित भएका छन् ।
सो समूहले असार ५ गते दिउँसो क्याम्पस रोड, भलुवाटार, मनाङे चौतारा, सहजी टोल भ्याउने बताएको छ । घरीघरी पानीले विथोल्ने गरेता पनि यो समाचार तयार गर्दासम्म घरदैलो जारी रहेको छ । सो समूह रास्वपाका जिल्ला उपसंयोजक अशोक सापकोटाको नेतृत्वमा उम्मेदवारहरूका साथमा टोली घरदैलोमा हिडेको हो । घरदैलो कार्यक्रममा बेसीशहर नगरपालिका रास्वपाका सभापति कृष्ण राउत, सोही नगरपालिका– ६ का वाड अध्यक्ष प्रकाश थापा, वडानं– ८ का वडा रास्वपाका सभापति ध्रुव ढकाल, वडानं– ९ का रास्वपाका वडा सभापति भागवत सिंह अर्याल, वडानं– १० का रास्वपाका सभापति सुलबहादुर तामाङ सहित सुन्दरबजार नगरसमितिका रास्वपाका उपसभापति दिपेन्द्र न्यौपाने, सोही नगरका रास्वपाका सचिव राजेन्द्र अधिकारी लगायतको टिम घरदैलोमा हिडेको जानकारीमा आएको छ ।
विद्यावारिधि गर्नु भएकी खड्का कोषाध्यक्ष :
रास्वपा निकटको स्वतन्त्र समूहको अध्यक्षमा युवा व्यक्तित्व विष्णु घिमिरे उम्मेदवार छनौट हुनु भएको छ । उपाध्यक्षमा महिला समाजसेवी तथा अधिकारकर्मीका रुपमा परिचित सविता अधिकारी बराल हुनुहुन्छ । सचिवमा युवा व्यक्तित्व श्यामबहादुर अर्याल रहनु भएको छ भने कोषाध्यक्षमा मीना खड्काको उम्मेदवारी घोषणा गरिएको छ । सफल व्यवसायीका रुपमा परिचित मीनाले सोसियोलोजीमा विद्यावारिधि समेत गर्नु भएको छ भने उहाँ कलाकारका रुपमा समेत परिचित हुनुहुन्छ ।
स्वतन्त्र समूहको सदस्यहरूमा दीपेश श्रेष्ठ, भक्तबहादुर अधिकारी, विष्णु सुयल, भीममाया तामाङ गुरुङ, रत्नकुमारी गुरुङ र केशब दुलाललाई उम्मेदवार तय गरिएको छ ।
सो खानेपानी तथा सरसफाई उपभोक्ता समितिको चौथो अधिवेशन २०७१ सालमा भएको थियो । चार वर्षे कार्यकाल रहेको सो समितिले ऐले आएर पाँचांै तोकेको छ । वर्तमान समितिको निर्वाचनमा एक सदस्य पदमा एमालेले जीत हासिल गरेको थियो भने अन्य सबै पद काँग्रेसले जितेको थियो । त्यसअघिको समितिमा पनि नेपाली काँग्रेसले एक्लै रजगज रहिआएको थियो ।
सो खानेपानी उपभोक्ता समितिमा हाल तीन हजार एक सय ९७ मतदाता रहेको बताइएको छ । असार ८ गतेका लागि विहान ९ बजेदेखि साँझ ५ बजेसम्म मदातनका लागि समय निर्धारण गरिएको सूचना बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयले जनाएको छ ।
मत रद्द हुनुका साथै क्रस हुने आशंका :
बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको असार ८ गतेका लागि तोकिएको निर्वाचनमा धेरै मत रद्द हुने र क्रस हुने सम्भावना देखिएको छ । सो समितिको निर्वाचन समितिले घोषणा गरेको निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारको दर्ता समेत असार ७ गते नै सक्ने भनिएको छ । हिजो सो उपभोक्ता समितिको स्थापनाकाल २०५२ मा १३६ जना उपभोक्ता थिए । तर आज त्यो संख्या बढेर तीन हजार नाघि सकेको छ । यस्तो अवस्थामा एकदिनमा निर्वाचन सक्ने गरी सो तालिका सार्वजनिक गर्नु आफैमा हास्यास्पद भएको सो सम्बन्धित जानकारहरूले बताएका छन् ।
निर्वाचनको जारी सूचना अनुसार असार ७ गते राती ८ः१५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाश गरिने उल्लेख छ भने ८ गते विहान ९ बजेबाट मतदान सुरु हुने भनिएको छ । यस्तो स्थितिमा उम्मेवादरले नमूना मतपत्र लिएर मतदाताकोमा जान मौका कतिबेला पाउने हो ? अनि कसरी मत माग्छन् ? र मत सदर हुन्छ ? कुन उम्मेदवारको नाम कहाँ छ ? भन्ने सम्म एकिन नभएपछि पढेका लागि त खोजेर मत दिन झन्जट हुनेछ भने सामान्य लेखपढ गर्नेका लागि त्यो कार्य महाभारत नै हुनेछ । यसैले यो निर्वाचनमा मत बढी बदर हुने र एकजनालाई दिने भनिएको मत अर्कोकोमा जान सक्ने वा मतपत्र खाली छाडिने स्थिति प्रवल देखिएको छ । यसबारेमा स्वतन्त्र पार्टीका उम्मेदवारकातर्फबाट निर्वाचन समितिसँग परामर्श गरिए पनि अन्य दलका उम्मेदवारले चासो नरोखेको बुझिएको छ ।
उम्मेदवारलाई चुनाव प्रचारको खास गरी अन्तिम उम्मेवादर वा नमूना मतपत्र दिइए पछि सरसर्ति मतदाताकोमा पुग्न पाउनु पर्ने समय पाउनु उम्मेदवारको नैसर्गिक अधिकार हो । त्यसबाट उम्मेदवारहरू बञ्चित भएका छन् । ३/३ जना वकिलसाहेवहरू रहेको निर्वाचन समितिले यो समस्यालाई के कसरी समाधान गर्ने हो ? त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति २०८१ असार ५, बुधबार १८:४५ गते
हजुरको प्रतिक्रिया