लमजुङ– जिल्ला सदरमुकाम स्थित बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पाँचौं अधिवेशनको क्रममा भएको निर्वाचनको राष्ट्रिय स्वतन्त्र पार्टी निकटको स्वतन्त्र समूहले निर्मम समीक्षा गरेको छ । समीक्षाका क्रममा आफूहरू कमजोर नभएको आंकलन सहितको निष्कर्ष असार १० गते निकालिएको हो ।
समीक्षाका क्रममा निर्वाचनको श्रीगणेशको स्थितिदेखि निर्वाचन परिणाम घोषणासम्ममा सो समूहबाट उम्मेदवार भएका ११ जनाले आ–आफ्ना अनुभव सहितको धारणा राख्नु भएको थिए । उहाँहरू अधिकांशलाई तिम्रो समूहका ११ जनाको र अन्यत्रबाट ४, ५ भोट चुहिहाल्छ कि ? त्यति भोटका लागि बेइजत कमाउन किन उठ्छौं ? नउठ भन्ने, उठेपछि पनि नाम फिर्ता गराउन र चुनावी मैदानमा निस्कन नै नसक्ने लाजमर्दो स्थिति बनाउनका लागि चारैतिरबाट धेरै प्रयास गरिएका दबाबहरू झेल्नु, भोग्नु परेको अनुभव सुनाउनु भएको छ । उनीहरूका त्यस्ता कुरा सुन्दा साच्चै २०— २५ भोट पनि आउँदैन जस्तो लागेको थियो । छरछिमेकमा समेत ढुक्कले भोट माग्न सक्ने वातावरण भएन, बन्न दिएनन् । तर त्यतिका धेरै मत पाउँदा त अचम्मै ! लाग्यो धेरै उम्मेदवारको अनुभव थियो । कतिपयले यो निर्वाचनले आफ्नो भिन्न पहिचान दिएको भन्दै खुशी व्यक्त गर्नु भयो भने कतिले काँग्रेस– एमालेको दबाबमा अस्तित्व बिहीन अवस्थामा रहेकोमा आज त्यो बन्धन तोडेर फरक परिस्थितिमा आफूलाई पाउदा गर्वको अनुभव भएको समेत केहीले सुनाउनु भएको थियो ।
यो निर्वाचनमा राम्रो सिकाई भयो के कतिसम्म गरिदोरहेछ र हामी कस्तो स्थितिका लागिसम्म तयार हुनुपर्ने रहेछ भन्ने धेरैकुरा सिक्ने मौका मिल्यो अध्यक्षका उम्मेदवार विष्णु घिमिरेले बताउनु भयो । उहाँका अनुसार छोटो तयारीमा प्राप्त भएको उपलब्धीलाई नराम्रो मान्नु पर्ने स्थिति छैन । उहाँले भन्नुभयो, ‘हामी प्रति आम मानिसको धारणा अतिनै सकारात्मक रहेको पाइयो, त्यो भावनालाई जागृत गरी राख्ने कर्तव्य हाम्रो हो, त्यसका लागि हामी सधैं तयार हुनुपर्छ, होऔं ।’
रास्वपाको वडानं– ८ का अध्यक्ष धु्रव ढकालले भन्नुभयो ‘हाम्रो इमान्दारिताको फाइदा विपक्षीहरूले राम्रोसँग उठाए, यो निर्वाचनले हामी पनि ‘कुन हदसम्म इमान्दार रहने ?’ भन्ने पनि तय गर्नु पर्ने देखियो ।’ उहाँले सो क्रममा विभिन्न उदाहरण समेत प्रस्तुत गर्नु भएको थियो ।
यसैगरी, रास्वपाको वडानं– ७ का अध्यक्ष राजकुमार घिमिरेले ११ जना उम्मेदवार कसरी पुर्याउने होला ? भन्ने स्थितिबाट गुज्रिदै यो उपलब्धी हासिल गर्नु चानचुने होइन, बेसीशहरबासीलाई हाम्रो स्यालुट छ भन्नुभयो ।
सो अवसरमा रास्वपाका चिन्तक एवम् वरिष्ठ पत्रकार नवराज पहाडीले निर्वाचनका गतिविधि सञ्चालन प्रक्रिया नै लगत तौरतरिकाबाट सुरु भयो र अन्त्य पनि त्यस्तै गलतलाई निरन्तरता दिदै भयो तर हामीले त्यस्तो लगतलाई पनि स्वीकार गर्दै गयौं समयमै ती यावत नकारात्मक कुरालाई चिर्न सकेको भए परिस्थिति अर्को हुने रहेछ भन्ने विभिन्न उदाहरण प्रस्तुत गर्नु भएको थियो ।
असार ६ गतेको साँझनै एमाले– काँग्रेसका चुनावी तिक्डमलाई चिर्न सक्दामात्र स्वतन्त्र समूहको जित हुन सक्ने भन्ने समाचारसमेत आफूले लेखेको स्मरण गर्दै नभन्दै त्यस्तै रबैया उनीहरूको रह्यो । हाम्रो निरिहताले पाराकाष्टा नाघेको स्थिति बेहोर्नु पर्यो उहाँको कथन थियो । उहाँले थप भन्नुभयो, ‘हामी कस्तो स्थितिबाट गुज्रिएका थियौं ? के कस्तो नतिजा आयो ? त्यसले अवका दिनमा थप होसियारीका साथ चुस्त रुपमा कदमहरू चाल्दैं अघि बढ्नु पर्छ ।’ अन्तिममा पहाडीले भन्नुभयो, ‘बेसीशहरबासीहरूले हामीलाई स्वागत गर्नु भएको छ, त्यो आतिथ्यताको उचित रुपमा उपयोग गर्दै उहाँहरूको गुण वा पैंचो फर्काउने गरी हामीले काम गरेर देखाउन सक्नु पर्छ ।’
रास्वपाका निर्वाचन क्षेत्र समितिका सदस्य एवम् बेसीशहर नगरपालिका– ६ का वडा अध्यक्ष प्रकाश थापाले कमजोरीहरूलाई सिकाईका रुपमा लिएर आउँदा दिनमा त्यस्ता कमजोरी दोहोरिन दिन नहुने बताउनु भयो । उहाँले हाम्रो ठाउँमा पार्टीको संगठन हामीले निर्माण गर्ने हो, बाहिरका मानिसले आएर गरिदिदैन भन्ने हेका राखौं भन्ने आग्रह गर्दै आवश्यक संरचनाको निर्माण गर्दै अघि बढ्नु् पर्नेमा जोड दिनुभयो । उहाँले हामी आफै नेता पनि हौं र कार्यकर्ता पनि, त्यसैले यहाँ सबैको समान अस्तित्व र भूमिका रहन्छ, हुन्छ त्यसैले ढुक्कसँग अघि बढ्नु होला भन्ने आह्वान गर्नुभयो ।
रास्वपाका बेसीशहर नगर समितिका अध्यक्ष एवम् निर्वाचन परिचालन कमिटिका संयोजक कृष्ण राउतको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा समापन मन्तव्य राख्दै उहाँले यस्तो बेलामा के कस्तासम्मका दबाब आउन सक्छन् र झेल्नु पर्छ भन्ने गत स्थानीय निर्वाचनका बेलामा आफूहरूले बेहोर गरेको स्मरण गर्नु भयो । उहाँले बेहोर्नु पर्ने विभिन्न उदाहरण सहित हामी कमजोर नभएको निर्वाचन परिणामले देखाएको छ । त्यसैले थप शक्ति सञ्चाय र परिचालनमा बुद्धिमत्तापूर्ण ढंगले निरन्तर लाग्नु हामी सबैको कर्तव्य हो, कर्तव्यप्रति सचेत बनौं यसमै हामी सबैको कल्याण हुनेछ उहाँले भन्नुभयो ।
अन्त्यमा निर्वाचन समिति, उम्मेदवारको सिङ्गो टिम, पार्टी पंक्ति सबैको तर्फबाट आम मतदाता तथा सहयोगीहरूलाई धन्यवाद दिने निर्णय गर्दै समीक्षा बैठक समापन गरिएको स्वतन्त्त समूहकी उपाध्यक्ष उम्मेदवार सविता अधिकारी बरालले बताउनु भयो । उहाँको अनुसार उक्त समीक्षा बैठक राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा बसेको थियो ।
स्मरणीय छ, स्वतन्त्र समूहबाट उम्मेदवार हुनेहरूमध्ये अध्यक्ष पदका उम्मेदवार विष्णु घिमिरेले ३१० मत पाउनु भएको थियो भने खुुला सदस्यमा दिपेश श्रेष्ठ (दिपु)ले ५१३ मत पाउनु भएको थियो ।
यसैगरी, उपाध्यक्ष उम्मेदवार सविता अधिकारी बरालले ३६७ मत, खुला सदस्यतर्फ विष्णु सुयलले ३५३ मत, सचिव श्याम अर्यालले ३२४ मत, तथा महिला सदस्य भीममाया तामाङले ३१४ मत पाउनु भएको थियो ।
अन्य उम्मेदवारहरू खुला सदस्यमा भक्तबहादुर अधिकारीले २८९मत, कोषाध्यक्ष मीना खड्काले २८२ मत, दलित सदस्य केशब दुलाले २४४ मत र अहलदिन मियाले २०९ मत तथा महिला सदस्य बासमाया दुलालले १४६ मत मात्र पाउनु भएको निर्वाचनको अन्तिम परिणामले देखाएको छ ।
बासमाया दुलाललाई मनोनयको केही घण्टा अघिमात्र उम्मेदवारीको तयारी गरिएका हुँदा प्रचारका लागि समयनै नपाइका कारणले पनि कम मत आएको बताइएको छ ।
प्रकाशित मिति २०८१ असार १०, सोमबार २०:५७ गते