मध्यरातमा गएको पहिरोले दुईको ज्यान लियो, पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्तामध्ये एकको शव फेला, थप विवरण आउन बाँकी

मध्यरातमा गएको पहिरोले दुईको ज्यान लियो, पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्तामध्ये एकको शव फेला, थप विवरण आउन बाँकी

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असार १३ गते बुधबार ०९:३१

बगुम गाउँका रुद्रमानको श्रीमती छोरीको घर घनपोखरामा गएको हुँदा बचेका छन् भने उनका नाती निरज पनि साथीकोमा सुत्न गएका कारण पहिरोमा पर्नबाट जोगिएका छन् ।

क्व्होलासोथार गाउँपालिका– ३ बगुम गाउँमा र बेसीशहर नगरपालिका– ११, चितिको स्याउत गाउँमा गएको पहिरोले मानवीय क्षति

लमजुङ— लमजुङमा गएराती आएको भीषण वर्षातका कारण आएको पहिरोले घर बगाउँदा क्व्होलासोथार गाउँपालिका– ३ बगुम गाउँमा एकै परिवारका ४ जना बेपत्ता भएकाका मध्ये एकको शव फेला परेको छ । गएराति १२– १ बजेतिर गएको पहिरोले गाउँका ३ वटा घर बगाउँदा २ घरका ४ जना असार १२ गते बेपत्ता भएका हुन् ।
लमजुङको बगुममा पहिरोले घर बगाउँदा त्यसमा परेका घर धनी अन्दाजी ७० वर्षीय रुद्रमान गुरुङको शव फेला परेको सो वडाका अध्यक्ष आशवीर गुरुङले बताउनु भयो । उहाँका अनुसार रुद्रमानको बुहारी अन्दाजी ३७ वर्षीया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू अन्दाजी ७ वर्षीया इच्छा र अन्दाजी ५ वर्षीया नम्रता बेपत्ता भएका छन् । उहाँले भन्नुभयो, ‘रुद्रमानको श्रीमती छोरीको घर घनपोखरामा गएको हुँदा बचेका छन् भने उनका नाती निरज पनि साथीकोमा सुत्न गएका कारण पहिरोमा पर्नबाट जोगिएका छन् ।’
पहिरोले बगाएका तीनघरमाध्ये दुईवटाको नाम निसान नै छैन वडा अध्यक्ष घलेले जानकारी दिनु भयो । उहाँका अनुसार एक घरमा रहेका तीनवटा बाख्रा पनि वेपत्ता छन् । उहाँले भन्नुभयो, ‘घरमाथि रहेको ढिस्को करिब ५० मिटर माथिबाट खसेको छ भने ५ सय मिटर तलसम्म पहिरो पुगेको छ ।
पहिरोमा परेर अर्का धर धनी अन्दाजी ३६ वर्षीय भीमबहादुर घले घाइते भएका छन् । स्थानीयका अनुसार भीमबहादुरको घर बगाए पनि उनी खोपीतिर सुतेका कारण बच्न सफल भएका हुन् ।
बगुममा पहिरोले बगाएको र ४ जना बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठको नेतृत्वमा तथा सो क्षेत्र हेर्ने अस्थायी प्रहरी पोष्ट मालिङबाट प्रहरीहरू खटिएको जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी मिनबहादुर घलेले बताउनु भयो । उहाँका अनुसार घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले पहिरोले बेपत्ता भएकाको खोजी कार्य भइरहेको बताउनु भएको छ ।
उता, जिल्ला सदरमुकाम स्थित बेसीशहर नगरपालिका– ११, चितिको स्याउत गाउँमा आएको अर्को पहिरोले घर भत्किाउँदा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक मिनबहादुर घलेले बताउनु भयो । उहाँका अनुसार गएराति पहिरोले पुरिदा १ जनाको मृत्यु भएको छ । उहाँले भन्नुभयो, ‘मृत्यु हुनेमा १६ वर्षीय विकल सुनार रहेका छन् ।’ पहिरोमा परि उनका दाइ १८ वर्षीय मिलन सुनार घाईते भएका छन् । घाईते दुबै जनालाई उपचारका लागि जिल्ला सदरमुकाम स्थित लमजुङ अस्पताल ल्याउँदै गर्दा विकलको बाटोमै मृत्यु भएको प्रनाउ घलेले जानकारी दिनु भयो ।
यसैबीच, गएराती चलेको पहिरोले बेसीशहर– चामे सडकको बेलैती विसौना नजिकको सडक खण्ड बन्द भएको छ ।

प्रकाशित मिति २०८१ असार १२, बुधबार ०९:३१ गते
हजुरको प्रतिक्रिया