काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । घोषित नतिजा अनुसार सर्वाधिक जीपीए ल्याउने ३१ हजार मात्र छन् । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले पत्रकार सम्मेलन गर्दै नतिजाबारेमा असार १३ गते जानकारी दिनु भएको हो ।
यो पटक परीक्षामा कुल ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी थिए । घोषित नतिजाअनुसार ५२.१३ प्रतिशत अनुत्तीर्ण हुँदा ४७.८७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षा लिइएका कुल ३५ विषयको ग्रेडसहितको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको शर्माले बताउनु भयो । उहाँका अनुसार कुल परीक्षार्थीमध्ये महिला २ लाख ३१ हजार ५०३ जना र पुरुष २ लाख ३३ हजार २७० जना रहेका छन् ।
बोर्डका अनुसार उत्तीर्ण हुने विद्यार्थीमध्ये १.६० बाट दुई सम्म जीपीए ल्याउने ६ जना रहेका छन् । घोषित नतिजाअनुसार पुरुष १ लाख १४ हजार ४८ र महिला १ लाख २८ हजार २५७ जना गरी कुल २ लाख ४२ हजार ३१३ जना अनुत्तीर्ण (एनजी) हुँदा बाँकी विद्यार्थी विभिन्न जीपीएसहित उत्तीर्ण भएका छन् ।
यसैगरी, जीपीए २ देखि २.४० ल्याउने २९५० जना, जीपीए २.४० देखि २.८० ल्याउने ४१ हजार ४७७ जना, जीपीए २.८० देखि ३.२० ल्याउने ७८ हजार ८७४ र जीपीए ३.२० देखि ३.६० ल्याउने ६८ हजार २५६ जना र ३.६० बाट ४ सम्म ल्याउने ३१ हजार २०९ जना विद्यार्थी रहेका छन् ।
परीक्षामा महिला र पुरुषबाहेक अन्य समूहका ४ जना उत्तीर्ण भएका छन् भने आठ जना फेल भएका छन् ।
बोर्डले विभिन्न १३ जिल्लाका २२० परीक्षार्थीको परीक्षा रद्द भएको पनि जनाएको छ । नतिजाअनुसार सत्तरीका १५४ जना, महोत्तरीका ३९, सर्लाहीका ६, धनुषाका ४, जाजरकोट र खोटाङका ३÷३ जना, काभ्रे, इलाम, बझाङ र बाराबाट २÷२ विद्यार्थीको परीक्षा रद्द भएको छ । त्यस्तै, दैलेख, रौतहट, र भोजपुरका १÷१ परीक्षार्थीको परीक्षाफल रद्द गरिएको जनाएको छ ।
यसैगरी, विषयगत आधारमा गणितका ६७, ऐच्छिक गणितको ७१, विज्ञानको १४, अर्थशास्त्रको १३, जनसंख्याको ७, सामाजिकको ५, नेपालीको ४, स्वास्थ्य शारीरिकको ३, वातावरण विज्ञानको २ जना र अंग्रेजीको १ को जनाको परीक्षा रद्द भएको बोर्डले जनाएको छ । सो बोर्डका अनुसार प्राविधिक विषयको ७ र सबै विषयको २६ जना परीक्षा रद्द हुन गएको छ ।
एसईईको नतिजा २०७१ साल अघिकै स्थितिमा फर्कियो :
यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाअनुसार ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएको राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेसँगै एसईईको नतिजा २०७१ साल अघिकै स्थितिमा फर्किएको छ ।
२०७१ सालपछि पहिलो पटक पास÷फेलसहितको नतिजा निकालिएको हो । लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्न थालिएपछि पास÷फेल अङ्कित नगरी ग्रेडमात्र सार्वजनिक गरिन्थ्यो । कम अङ्क ल्याउने विद्यार्थीहरूको हकमा समेत माथिल्लो कक्षा पढ्न पाउने अवस्था थियो । तर, यो पटक भने ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागु भएसँगै नतिजामा पास÷फेलको विवरण देखिन थालेको हो ।
प्रकाशित मिति २०८१ असार १३, बिहीबार १७:०८ गते