काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को दशौं राष्ट्रिय अधिवेशन सुरु भएको छ । सो दलका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हरेक ठाउँमा भ्रष्टाचार व्याप्त रहेको असार १६ गते बताउनु भएको छ । महाधिवेशनको पूर्वप्रधानमन्त्री समेत रहनु भएका सो दलका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नु भएको हो ।
सत्ताको साझेदार समेत रहेको सो पार्टीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधनका क्रममा उहाँले त्यसका लागि नेपालका कम्युनिष्ट पार्टीहरूमा एकता र सहमति आवश्यक रहेको औंल्याउनु भयो ।
उहाँले बिना पैसा कुनै पनि सरकारी सेवाहरू प्राप्त गर्ने परिस्थिति नरहेको बताउँदै उहाँले भ्रष्टाचार र बेथितिको अन्त्य कसरी गर्ने भन्ने बारेमा काम गर्न आवश्यक रहेको बताउनु भएको हो । आफ्नो स्वार्थको निम्ति सरकारी ढुकुटी खर्च गर्ने परम्परा हटाउन आवश्यक रहेकोमा जोड दिदै उहाँले उत्पादनको विकास गर्नका लागि रोजगारी प्रवर्द्धन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले प्रत्येक ठाउँमा भ्रष्टाचार छ । बिना पैसाको कुनै काम हुँदैन । सेटिङहरू मिलाइएको छ । त्यसैले यो बेथितिको अन्त्य गर्ने कसरी ? यो नीतिमा पनि देखा पर्छ । काम र व्यवहारमा देखापर्छ, दोस्रो समस्या भनेको सामग्रीक बृहत चिन्तनको कमी हो, हामी तत्काल अहिले आफ्नो स्वार्थको निम्ति कुन चिज हो परियोजना, त्यो बनाउँछौँ, अर्बौं खर्च गरिदिन्छौँ, अर्बौं कहाँ खर्च गर्ने ? उत्पादनको विकास गर्नका लागि रोजगारी प्रवर्द्धन गर्नका लागि, देशको आय बढाउनका लागि, सिंगो अर्थतन्त्रलाई उँभो उठाउनका लागि राष्ट्रिय पुँजीको विकास गर्नका लागि, उद्यमशीलताको विकास गर्नका लागि, चाहे कृषि होस्, जलविद्युत, पर्यटन, उद्योग धन्दा यी सबैका लागि पूर्वाधारको विकास होस् । पूर्वाधारको लागि शिक्षा, स्वास्थ्यको विकास होस् । विज्ञान, प्रविधि, अध्ययन र अनुसन्धानका पक्षमा के गर्नुपर्छ । यी सबै काम गर्नमा गम्भीर चिन्तन र छलफल गर्नुपर्ने आवश्यकता छ । यसका लागि नेपालका कम्युनिष्ट पार्टीहरूमा एकता र सहमति आवश्यक छ ।’
अध्यक्ष नेपालले अहिले संसद विघटनको आवश्यकता नभएको पनि बताउँदै नेपालले अहिले पनि संसद विघटनको खतरा रहेको टिप्पणीका साथ प्रधानमन्त्रीलाई सचेत हुन आग्रह गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यू सुनिन्छ विघटन गरेर ठीक गरियो भनेर कतिपयले बोल्ने गरेका छन्, हिजो विघटन गरेर ठीक गरियो भन्नेले भोलि फेरि विघटन गरिदेलान् ख्याल गर्नुहोला ।’
एकताका नाममा हतार गर्ने र एकताका लागि ढिलो गर्ने पक्षमा आफू नभएको नेपालले उल्लेख गर्नुभयो । उहाँले पार्टी बलियो मात्र भएर पनि नहुने रहेछ, त्यसको साथसाथै सही विचार र दृष्टिकोण पनि हुनुपर्ने उहाँको भनाइ छ ।
एकीकरणका लागि पहल जारी छ : प्रधानमन्त्री
प्रधानमन्त्रीसमेत रहनु भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ल माओवादी केन्द्र र एकीकृत समाजवादी एउटै पार्टी बनाउने प्रयास जारी रहेको बताउनु भएको छ । प्रचण्डले दुई पार्टीलाई एउटै पार्टी बनाउनका लागि निर्वाचन अगाडिदेखि अहिलेसम्म प्रयास भइरहेको जानकारी दिनु भएको हो ।
अरूभन्दा दुई दल अलि नजिक भएको दावी गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘देशका सबै देशभक्त र वामपन्थी शक्तिहरू एकताबद्ध भएर जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्न सकियोस् ।’
गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यक छ : देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो स्थापना कालदेखि नै छोटो समयमा पनि नेपालको राजनीतिमा महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गरेको स्मरण गर्नु भयो ।
उहाँले नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्नु महत्वपूर्ण एजेण्डा रहेको बताउनु भयो । सभापति देउवाले नेपालको राजनीतिमा मुलुकमा शान्ति स्थापना गर्ने सवाल, संविधान निर्माण गर्ने सवालमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत स्मरण गर्नुभयो ।
उदघाटन सत्रमा एमालेका अध्यक्ष केपि ओलीको खोजी :
नेताहरूको अनुपस्थिति बारेमा जानकारी दिदै अध्यक्ष नेपालले भन्नुभयो, ‘बिरामी भएकाले नारायणमान विजुक्छेजी आउन सक्नुभएन । हामीले आशा गरेका थियौं, राप्रपाबाट आउने भन्नुभएको थियो, आउनु भएन । तपाईंहरूको मनमा जिज्ञासा होला, नेकपा एमाले किन आएन ? मैले आफैले दसौंपटक फोन र म्यासेज गर्दा पनि महाधिवेशनको उद्घाटन सत्रमा आउन भएन ।’ पार्टी विभाजनको घाउ आलै भएकाले त्यसको असर बाँकी भएको हुन सक्ने बताउँदै उहाँले भन्नुभयो, ‘भर्खर तीन वर्षको घाउ, अझै पनि आलो छ, त्यसैको असर बाँकी होला, राजनीतिमा यस्ता कुरा पचाएर जान सक्नुपर्छ । नआएकाप्रति धेरै गुनासो नगरौं । सबैप्रति सद्भाव राखेर जान सक्नुपर्छ । कुनै घृणाभाव राख्न जरूरी छैन । यो यात्रामा यस्तो भइरहन्छ । अगाडि बढिन्छ । लक्ष्यमा पुगिन्छ ।’
लोकतन्त्र जनताले जोगाउँछन् नेताले चिन्ता गर्नुपर्दैन : रवि लामिछाने
यसैगरी, उपप्रधान मन्त्री एवम् गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश बनाउने कुरामा राष्ट्रिय सहमति गर्न कसले रोकेको छ भन्दै प्रश्न उठाउनु भएको छ । उहाँले अन्य दलका नेताहरूमा भाषणमा देश र जनताको चिन्ता भएपनि व्यवहारमा नदेखिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘मुलुक अप्ठेरोमा कसले पारेको हो ? गरिब किसानले पारेको हो ? आम जनता र नेतृत्वको प्राथमिकता अलग अलग भएकाले लाकेतन्त्रमा खतरा भएको हो ।’ लोकतन्त्र अप्ठेरोमा परे जनताले जोगाउने भन्दै नेताहरूले चिन्ता गर्नुनपर्ने समेत उल्लेख गर्नुभयो ।
आजसम्म ठुला ठुला युनिभर्सिटी किन बनेनन् त्यसमा छलफल गरौँ भनेर नेताहरूले आजसम्म सर्वदलीय बैठक बोलाउन नसकेको भन्दै सहमति कस्ता कस्ता कुरामा भएका रहेछन् भनेर बुझ्नुपर्ने स्मरण गर्नुभयो । उहाँको जनता र राष्ट्रका साझा मुद्दामा केन्द्रित भएर बहस गरेमात्र समस्याको निकास आउने भन्दै सबै दल त्यसका लागि तयार हुनुपर्नेमा जोड दिनु भयो ।
रास्वपाका अध्यक्ष रविले पुराना राजनीतिक दलहरूले भन्दै आएका दुई विषयमाथि प्रश्न उठाउँदै २००७ सालदेखि नेताहरू मुलुक जटिल अवस्थामा रहेको बताउँदै आएको, उहाँहरूले ‘हामीले प्राप्त गर्नुपर्ने सबैचीज प्राप्त गरिसक्यौं है’ भन्नुहुन्छ । प्राप्त गर्नुपर्ने कुरा सबै प्राप्त गरिसक्दा आज पनि मुलुक बडो विषम परिस्थितिमा छ । लोकतन्त्रतलाई खतरा छ भन्दै आउनुभएको छ, मुलुकलाई अप्ठ्यारो परिस्थितिमा पु¥याउने को हो ? भन्ने उहाँको प्रश्न थियो ।
उहाँले थप प्र्रश्न गनुर््भयो, ‘मुलुक सँधै खतरामा हुने रहेछ त्यो अप्ठ्यारो नेपाली जनताहरूले पारेका हुन् ? गरिब मजदुर किसानहरू, कसले अप्ठ्यारो पा¥यो ?’
सो उद्घाटन समारोहमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तथा जसपा, नेपालबाट विभाजित भएर बनेको जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत क्रियाशील राजनीतिक दलका नेताहरूको उपस्थिति थियो ।
कार्यक्रममा अनुपस्थित एमालेले एकीकृत समाजवादीलाई दलको मान्यता दिनै अस्वीकार गर्दै आएको छ । तीन वर्षअघि षड्यन्त्रमूलक ढंगले विभाजन गरिएको उसले तकै गर्र्दै आएको छ । यद्यपि नेकपा (एमाले) को चियापानमा भने एकीकृत समाजवादीलाई निम्तो गरेको थियो ।
पाँच दिनसम्म चल्ने महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्नेछ । आजदेखि सुरू भएको एकीकृत समाजवादीको महाधिवेशन असार २० गतेसम्म चल्ने छ ।
प्रकाशित मिति २०८१ असार १६, आईतवार २०:१६ गते