काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँले झालाई अनुसन्धान गरी मुद्दा दायर गर्नका लागि ७ दिन थुनामा राख्न असार १६ गते अनुमति दिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा पक्राउ परेसँगै यो विषयमा दोस्रो चरणको अनुसन्धानले गति लिएको मानिएको छ । यसअघि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पनि सोही दिन पक्राउ परेका थिए । थापालाई पहिलो चरणको अनुसन्धानमा प्रतिवादी बनाइए पनि झाको ठेगाना नखुलेको भन्दै प्रतिवादी बनाइएको थिएन । थापालाई जिल्ला अदालतमा उपस्थित गराइएको भए पनि उनलाई अदालतले फिर्ता पठाएको जानकारीमा आएको छ ।
झा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएदेखि नै फरार रहेका थिए । तथापि सो मुद्दामा उनाको संलग्नता भने अन्तिमतिर मात्र खुलेको थियो । छानबिनका क्रममा उनको नाममा हिमालय बैङ्कको २ करोड रुपैयाँको चेक रामशरण केसीले काटिदिएको पाइएपछि प्रहरीले झाको खोजी सुरु गरेको थियो ।
झालाई प्रहरीले १४ गतेका दिन पक्राउ गरेको थियो । झालाई पक्राउ परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति अर्थात आदेश पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताउनु भयो ।
प्रहरीको विशेष ब्युरोको टोलीले बेचनलाई भारतबाट समातेर शुक्रवार जिल्ला प्रहरी परिसर, काठमाडौँको जिम्मा लगाएको थियो ।
भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपीमध्येका सानु भण्डारीले ‘१३ मंसिर २०७८ को मन्त्रिपरिषद् बैठकबाट भुटानी शरणार्थीबारे हामीलाई फाइदा हुने गरी निर्णय गर्दैछ, यो काम बेचन झाले गराएकाले उनलाई चेक काटिदिनु’ भनेपछि लेनदेन भएको केसीले बयानमा बताएका छन् ।
केसीले ८ मंसिर २०७८ को राति ८ बजे मध्य बानेश्वरमा झालाई दुई करोडको चेक दिएको केसीले बयानमा खुलाएको प्रहरीको भनाइ छ । केसीले बयानमा उक्त चेकको फोटो प्रेमराज पन्थीलाई समेत आफूले पठाएको बताएका थिए । झाको ठेगाना नखुलेको र खुलेका बखत पुनः पूरक जाहेरीमार्फत अनुसन्धान अघि बढाउने गरी अन्यलाई मुद्दा चलाइएको थियो ।
भारतीय नागरिक रहेका बेचनले पर्साबाट समेत नेपाली नागरिकता लिएको खुलेको प्रहरी दाबी छ ।
झाको कहाँसम्म पुग्छ राजनीतिक कनेक्सन ?
झाको कांग्रेसका उच्च तहका नेताहरूसँग निकै राम्रो सम्बन्ध देखिन्छ । तर भुटानी शरणार्थी प्रकरणबारे भने को–सँग के सम्बन्ध भयो भन्ने खुल्न अनुसन्धाननै पुरा हुनुपर्ने प्रहरी स्रोतको भनाइ छ ।
प्रहरी अधिकारीहरू पनि बेचनको राजनीतिक कनेक्सन हुन सक्ने बताउँछन् । उनको मधेश केन्द्रित दलका नेताहरू र नेपाली कांग्रेसका नेताहरूसँग राम्रो सम्बन्ध रहेको अनुसन्धान अधिकारीहरूको विश्वास छ ।
झा पक्राउ परेसँगै यसको थप राजनीनिक कनेक्सन खोतल्न सहज हुने अनुसन्धान अधिकृतहरूको विश्वास छ । पहिले नाम, थर र ठेगाना नखुलेकाले खुलेका बखत थप अनुसन्धान गर्ने गरी अभियोग लगिएकाले उनलाई फेरि ६० दिन हिरासतमा राखेर विस्तृत अनुसन्धान गर्ने मौका प्रहरीलाई रहेको स्रोत बताउँछ ।
डा. मनोज केसी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका बेला झाको अनुसन्धान अघि बढेको थियो । उहाँ हाल प्रहरीको विशेष ब्युरोमा कार्यरत हुनुहुन्छ ।
सो प्रकरणका मुख्य आरोपीमध्येका सानु भण्डारीले ‘१३ मंसिर २०७८ को मन्त्रिपरिषद् बैठकबाट भुटानी शरणार्थीबारे हामीलाई फाइदा हुने गरी निर्णय गर्दैछ, यो काम बेचन झाले गराएकाले उनलाई चेक काटिदिनू’ भनेपछि लेनदेन भएको केसीले बयानमा बताएका छन् ।
केसीले ८ मंसिर २०७८ को राति ८ बजे मध्य बानेश्वरमा झालाई दुई करोडको चेक दिएको केसीले बयानमा खुलाएको प्रहरीको भनाइ छ । उक्त चेकको फोटो प्रेमराज पन्थीलाई समेत आफूले पठाएको केसीले बताएका थिए ।
काठमाडौंको नयाँ बानेश्वरमा घर भएका झा निर्माण व्यवसायी हुन् । ठेक्कापट्टाको कामकै क्रममा उनले राजनीतिक व्यक्तिसँग सम्बन्ध बनाएको प्रहरी अधिकारीहरूको आंकलन छ ।
तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले पनि बयानमा बेचन झाको संलग्नता खुलाएका थिए । हाल पुर्पक्षमा रहेका तत्कालीन गृह सचिव पाण्डेले भनेका छन्, ‘मन्त्रालयमा राजनीतिक रुपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ ।’
सर्वोच्च अदालतले २८ असार २०७८ मा संसद् विघटन खारेज गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचनको प्रवेश भएको देखिएको अनुसन्धान अधिकृतहरूको आशंका छ ।
देउवा नेतृत्वको सरकार गठन भएपछि नै शरणार्थीको फाइल अघि बढाउन भनेर सानुले भनेपछि केसीले २ करोडको चेक बेचनलाई दिएका थिए । बेचन झाको देउवा पत्नी आरजु राणासँग पनि राम्रो सम्बन्ध रहेको र भेट हुने गरेको एक अनुसन्धान अधिकृतको दावी छ ।
आरजुका भाइ भूषण राणासँग बेचनको व्यवसायिक चिनजान थियो । भुषणमार्फत नै उनी आरजुसँग जोडिएका थिए ।
बेचन पक्राउ परेसँगै भुटानी शरणार्थी प्रकरणमा अन्य नेताहरुको पनि कनेक्सन खुल्न सक्ने अनुसन्धान अधिकारीहरू बताउँछन् । तर एक वर्षसम्म प्रमाण नष्ट भएको हुन सक्ने आशंका अनुसन्धान अधिकारीहरुको छ ।
‘बेचनले बयानमा खुलाए भने त्यसलाई पुष्टि गर्न सहज हुन्छ । तर बयानमा पनि नखुलाएको अवस्थामा प्रमाणबाट माथिल्लो नेक्सस पत्ता लगाउन गाह्रो छ । हामीले छुट्टै टिम बनाएर अनुसन्धान अघि बढाएका छौं’ काठमाडौं प्रहरी परिसरका एक अधिकृतते भने ।
३० जेठ २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वमा भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै कार्यदल गठन भएको थियो । उक्त प्रतिवेदनमा नक्कली भुटानी शरणार्थीको समेत नाम समावेश गराएर अमेरिका पठाउने भन्दै रकम असुलिएको थियो । तर यही बीचमा सरकार परिवर्तन भएको थियो र त्यसमा बेचन पनि जोडिएका थिए ।
सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उनको सचिवायलयमा बसेर काम गरेका केशव दुलाल र बेचनबीच चिनजान थियो । दुलालमार्फत नै बेचन नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएको पाइएको एक अनुसन्धान अधिकृतले बताए ।
यसैगरी, बेचनको टोपबहादुर रायमाझीसँग पनि राम्रो सम्बन्ध रहेको मानिन्छ । रायमाझी उर्जा मन्त्री भएको बेला बेचनसँग राम्रो सम्बन्ध थियो । रायमाझी अहिले पुर्पक्षमा कारागारमै छन् । बेचनको विभांशु ब्रदर्स नामक कम्पनी छ । उक्त कम्पनीमार्फत उनले ठेक्का पट्टाको काम गर्दै आएका थिए ।
भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री बादलको पालामा ३० जठेमा २०७६ पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्व गठित कार्यदलमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए ।
अमेरिका पठाउने भन्दै बादलकै पालामा ठगी प्रकरण सुरु भएको थियो । पछि खाणको पालामा पन्थी कार्यदलको प्रतिवेदनमा अनसूची नै थपेर नक्कली नाम राख्दै ठगी भएको प्रहरीको निष्कर्ष छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा १० जना फरारसहित ३० जनाविरुद्ध मुद्दा :
नक्कली भुटानी शरणार्थी प्रकरणमा १० जना फरारसहित ३० जनाविरुद्ध २८ करोड, १ लाख ७४ हजार ५ सय बिगो कायम गर्दै १० जेठ २०८० मा मुद्दा दायर गरिएको थियो । टंक गुरुङ र लक्ष्मी महर्जनलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो । बाँकी पुर्पक्षमा कारागार चलान भएका थिए ।
उच्चका साथै सर्वोच्चको आदेशबाट खाँण, नरेन्द्र केसी, टेकनाथ रिजाल, शमशेर मिया, सन्दीप रायमाझीलगायत अहिलेसम्म ११ जना धरौटीमा रिहा भएर तारेख धाउँदै छन् ।
टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, केशवप्रसाद दुलाल, आङ टावा शेर्पा, सानु भण्डारी, सन्देश शर्मा, गोविन्दप्रसाद चौधरी, सागर राई गरी ९ जना पुर्पक्षका लागि कारागारमै रहेका छन् ।
स्मरणीय छ, भुटानी शरणार्थीको मुद्दा दायर भएको १३ महिनापछि बेचन पक्राउ परेका हुन् ।
प्रकाशित मिति २०८१ असार १६, आईतवार २१:४२ गते