काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँचौंपटक विश्वासको मत असार २८ गते लिने हुनु भएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ले असार २८ गतेको दिन तोकेर संसदलाई पत्र पठाउनु भएसँगै असार २१ गते खुलासा गर्नु भएको हो । उहाँले पछिल्लोपटक ५४ दिनको अन्तरमा पाँचौपटक विश्वासको मत लिँदै हुनुहुन्छ ।
असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ सत्ता गठबन्धन बनेसँगै ‘प्रचण्ड’लाई पद छाड्न दबाब दिन थालिएको छ । प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न नयाँ सत्ता साझेदार दल कांग्रेस र एमालेले अनुरोध गरिका थिए तर उहाँले त्यो स्वीकार गर्नु भएन । एमालेले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ताको पत्र असार २१ गते दर्ता गराएको छ । त्यति मात्र हैन, एमालेले संघीय संसद सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको र आफूहरू प्रतिपक्षमा बस्ने जानकारी दिएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले असार २८ गते विश्वासको मत लिने हुनु भएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताउनु भएको छ । उहाँका अनुसार विश्वासको मतका लागि प्रधानमन्त्री दाहालले असार २८ गतेको दिन तोकेर संसदलाई पत्र पठाउनु भएको छ ।
सत्ता साझेदार प्रमुख घटक नेकपा (एमाले) ले नेपाली कांग्रेससँग नयाँ समीकरण बनाएर सरकार गठन गर्ने सहमति गरी सरकार छाडेपछि दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ । तापनि, दाहालले राजीनामा नदिएर संसद फेस गर्ने निर्णयमा उहाँ नेतृत्वको दल पुगेको हो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले संसद फेस गर्ने बताएपछि रास्वपा मन्त्रीहरुले पनि राजीनामा नदिई फर्किएका थिए । रास्वपाले प्रधानमन्त्रीलाई छिटो विश्वासको मतको सामना लिन आग्रह गरेको थियो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिने हुनु भएको थियो । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्दछ । तर ‘प्रचण्ड’ले १० दिन भित्रै विश्वासको मत लिने हुनु भएको छ ।
सत्ता साझेदारको प्रमुख घटक एमालेले असार १७ गते मध्यराति कांग्रेससँग सत्ता सहकार्यको सहमति गरेको थियो । एमालेले सरकारमा सहभागी ८ जना मन्त्रीको असार १९ गते राजीनामा गराएको थियो, सोही दिन समर्थन पनि फिर्ता लिएको थियो ।
२०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनपछि दाहाल नेतृत्वमा २०७९ पुस १० मा सरकार गठन भएको थियो । एमाले, रास्वपा, राप्रपा, जसपालगायत दलहरू संलग्न सरकारको नेतृत्व गर्दै ‘प्रचण्ड’ले पहिलो पटक प्रतिनिधिसभाबाट २०७९ पुस २६ मा विश्वासको मत लिनु भएको थियो । त्यतिबेला प्रतिपक्षको बेञ्चमा बसेको कांग्रेससमेतले दाहाललाई विश्वासको मत दिई उहाँको पक्षमा २६८ मत देखिएको थियो ।
दोस्रो पटक विश्वासको मत लिँदा प्रधानमन्त्री ‘प्रचण्ड’को पक्षमा सदनमा उपस्थित २६२ सांसदमध्ये १७२ सांसदले पक्षमा मत दिएका थिए । ‘प्रचण्ड’को विपक्षमा ८९ सांसदले मत दिए भने नेमकिपा ‘मत दिन्न’ भन्ने पक्षमा उभिएको थियो । तेस्रो पटक विश्वासको मत २०८० फागुन ३० गते लिनु हुँदा १५७ मत पाउनु भएको थियो ।
यसअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले यही कार्यकालमा प्रतिनिधिसभाबाट चौथो पटक २०८१ जेठ ७ गते मात्र विश्वासको मत लिनु भएको थियो । त्यो बेला पनि प्रधानमन्त्री ‘प्रचण्ड’का पक्षमा १५७ सांसद थिए । त्यो बेलामा प्रधानमन्त्री दाहालले विश्वासको मत लिदा कांग्रेसले अवरोधका साथ नारावाजी समेत गरेको थियो ।
स्मरणीय छ, सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिए प्रधानमन्त्री ‘प्रचण्ड’ले त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ तर प्रधानमन्त्रीले भने १९ दिन भित्रै विश्वासको मत लिनु हुनु भएको हो ।
सरकार टिकाउन १३८ मत पाउनुपर्ने हुन्छ । यसपटक कांग्रेस एमाले बीच गठबन्धन भएका कारण ‘प्रचण्ड’को पक्षमा विश्वासको मत प्राप्त हुने संभावना देखिदैन ।
प्रकाशित मिति २०८१ असार २१, शुक्रबार २१:०४ गते