बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम यहाँ सञ्चालन गरिएको गण्डकी प्रदेशस्तरीय कराँते प्रतियोगितामा आठ स्वर्ण सहित लमजुङले पहिलो स्थान हासिल गर्न सफल भएको छ । गण्डकी प्रदेश खेलकुद परिषद् पोखराको आयोजना तथा जिल्ला खेलकुद विकास समिति लमजुङको समन्वयमा जिल्ला समन्वय समिति लमजुङको सभाहलमा सो प्रतियोगिता असार १९ गते समापन गरिएको हो ।
सो गण्डकी प्रदेशस्तरीय कराँते प्रतियोगितामा लमजुङ प्रथम भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार ८ स्वर्ण, १ रजत र ५ कांस्य पदकसहित लमजुङ पहिलो तथा गोरखा दोस्रो भएका छन् ।
उहाँले भन्नुभयो, ‘सो प्रतियोगितामा ४ स्वर्ण र ३ रजत पदकसहित गोरखा दोस्रो तथा ३ स्वर्ण, ३ रजत र २ कांस्य पदकसहित तनहुँ तेस्रो भएको छ ।
प्रतियोगितामा गण्डकी प्रदेशका ९ जिल्लाका डेढ सय बढी कराँते खेलाडीहरूले भाग लिएका थिए । मुस्ताङ र मनाङ जिल्लाले प्रतियोगितामा भाग नलिएको आयोजकको भनाइ छ । प्रतियोगितामा १ जिल्लाबाट कम्तीमा ४० जनाको दरले खेलाडी तथा प्रशिक्षकको सहभागिता हुने नियम भए पनि खर्च अभावले पुरै खेलाडीलाई सहभागी गराउन नसकिएको अध्यक्ष गुरुङले बताउनु भयो । उहाँले भन्नुभयो, ‘खेल सञ्चालनको लागि पर्याप्त बजेट भएन । सबै खेलाडीलाई ल्याउन सकेनौं ।’
उक्त प्रतियोगिताअन्तर्गत महिलातर्फ ४५ किलोभन्दा कम तौल, ६१ किलोभन्दा कम तौल र ६१ किलोभन्दा माथिको तौलबीच एकल प्रतिस्पर्धा भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार महिलातर्फ नै एकल काता, समूह काता र समूह कुमिते विधामा खेल सञ्चालन गरिएको थियो । उनले भने, ‘पुरुषतर्फ ५० किलोभन्दा कम तौल, ५५ किलोभन्दा कम तौल, ६० किलोभन्दा कम तौल, ६७ किलोभन्दा कम तौल, ७४ किलोभन्दा कम तौल, ८४ किलोभन्दा कम तौल र ८४ किलोभन्दा बढी तौलबीच एकल प्रतिस्पर्धा गराइएको थियो ।’
प्रतियोगितामा लमजुङबाट स्वर्ण पदक जित्नेहरूमा महिलातर्फ ४५ केजीमा अञ्जली न्यौपाने, ५० केजीमा प्रिति तामाङ, ६१ केजीमा साहिता मिया र ६८ केजीमा रेश्मा गुरुण रहेको कराते डोजो लमजुङका सहायक प्रशिक्षक शिला तामाङले बताउनु भयो । उहाँका अनुसार पुरुषतर्फ स्वर्णपदक जित्नेमा ५५ केजीमा अंकित गुरुङ र ६० केजीमा सुनिल गुरुङ तथा सात जनाको टिम फाइटमा पनि लमजुङले स्वर्ण पदक हासिल गर्न सफल भएको हो ।
उक्त प्रतियोगिता अन्तर्गत महिलातर्फ ४५ किलोभन्दा कम तौल, ६१ किलोभन्दा कम तौल र ६१ किलोभन्दा माथिको तौलबीच एकल प्रतिष्पर्धा हुने छ । महिलातर्फ नै एकल काता, समूह काता र समूह कुमिदे विधामा खेल भएका थिए ।
त्यस्तै, पुरुषतर्फ ५० किलोभन्दा कम तौल, ५५ किलोभन्दा कम तौल, ६० किलोभन्दा कम तौल, ६७ किलोभन्दा कम तौल, ७४ किलोभन्दा भन्दा कम तौल, ८४ किलोभन्दा कम तौल र ८४ किलोभन्दा बढी तौलबीच एकल प्रतिष्पर्धा गराइएको थियो । पुरुषतर्फ एकल काता, समूह काता र समूह कुमिदे विधामा खेल प्रतियोगिता गरिएको आयोजकको भनाइ छ ।
प्रतियोगिताका विजयी खेलाडीलाई जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य योगेन्द्र शेरचन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङलगायतले पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
प्रतियोगितामा विजयी हुने खेलाडीहरूलाई गण्डकी प्रदेशबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन पठाइने भएको गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य योगेन्द्र शेरचनले बताउनु भयो । उहाँका अनुसार हरेक २/२ वर्षमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता यसपटक आगामी मंसिरमा हुँदैछ ।
प्रकाशित मिति २०८१ असार २२, शनिबार २१:०३ गते