काठमाडौं– भारतको मेघालयमा चार जना नेपालीको घाँटी रेटेर हत्या गरिएको छ । उनीहरूको क्रूर हत्या गरेको अवस्थामा असार २२ गते प्रहरीले फेला पारेको हो ।
सो बीभत्स घटना मेघालय राज्य अन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको हो । पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या गरे जस्तो देखिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । उनीहरू मेघालयको कोइलाखानीमा काम गर्न गएका थिए । मारिने उनीहरू इलाम, धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ ।
मेघालयको इस्ट जैन्तिया हिल्ल जिल्लाको उम्प्लेङ बजार नजिकै उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको हात बाँधिएर शरीरका विभिन्न स्थानमा धारिलो हतियार प्रहार गरिएको प्रहरी अधिकारी गिरी प्रसादले बताएका छन् । गिरीका अनुसार हत्या गरिएकामध्ये एक जना इलामका २३ वर्षीय रवि राई रहेका छन् । अन्यको पहिचान भने खुल्न सकेको छैन ।
पोस्टमार्टमका लागि मृतकहरूको शवलाई शिभिल अस्पतालमा लगिएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
घटना स्थल मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ । सो घटनाबारेमा दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराइएको जानकारीमा आएको छ ।
प्रकाशित मिति २०८१ असार २३, आईतवार ०६:१५ गते