काठमाडौं– सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको आजका लागि निर्धारित बैठक स्थगित गरिएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा आज असार २३ गते बिहान साढे ९ बजे बस्ने भनिएको बैठक स्थगित गरिएको हो ।
अर्को सूचना नगरिँदासम्मका निम्ति बैठक स्थगित गरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले बताउनु भयो । उहाँद्वारा हिजो साँझ जारी विज्ञप्तिमा ‘भोलि मिति २०८१ असार २३ गते बस्ने भनिएको रास्वपा संसदीय दलको बैठक विशेष कारणवश अर्को सूचना नआएसम्मका लागि स्थगित भएको जानकारी गराउँदछु ।’ भनिएको छ ।
यसअघि, समसामयिक राजनीतिक घटनाक्रम, संसद्का बाँकी काम–कारबाही र विविध विषयमा छलफल गर्न दलको बैठक बस्ने सूचना जारी गरिएको थियो ।
नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति भए यता केन्द्रीय राजनीतिले नायँ मोड लिएको छ ।
त्योसँगै रास्वपाका तर्फबाट मन्त्री बनेका चारै जना पनि राजीनामापत्र बुझाउन बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहपछि उनीहरूले राजीनामा दिएका छैनन् ।
वर्तमान सत्ताको ठूलो साझेदार दल एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिदै आफ्ना मन्त्रीलाई पनि फिर्ता बोलाइसकेको छ । एमालेका साथै जसपातर्फका मन्त्रीहरूले राजीनामा दिइसकेका छन् ।
प्रकाशित मिति २०८१ असार २३, आईतवार ०६:३७ गते