डेंगु रोग नियन्त्रणका लागि लार्भा नष्ट अभियानको थालनी

डेंगु रोग नियन्त्रणका लागि लार्भा नष्ट अभियानको थालनी

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असार २४ गते आईतबार ०८:२८

यो वर्ष ४ सय ९५ जनामा डेंगीको संक्रमण पुष्टि भइसकेको छ । संक्रमित मध्ये ३० जनामा जिल्ला बाहिरका मानिस छन् ।
अभियान अन्तरगत नगरपालिका र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सरसफाई गर्ने, लार्भा खोजी गरी नष्ट गर्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने लगायतको सचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको छ ।

असार २१ गतेबाट थालिएको हो ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहर क्षेत्रमा डेंगु रोग नियन्त्रणका लागि लार्भा नष्ट अभियानको थालिएको छ । अभियानका क्रममा डेंगु रोगको संक्रमणबाट समु्दायलाई जोगाउनका लागि विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम समेत असार २१ गतेदेखि सञ्चालन गरिएको हो ।
डेंगु रोग नियन्त्रणका लागि पूर्व तयारी कार्यक्रम अन्तर्गत समुदायसँग साझेदारी गरी सचेतना मुकल कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । त्यसका लागि डेंगु रोग नियन्त्रणका लागि लार्भा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख प्रविणकुमार खनालले बताउनुभयो । उहाँका अनुसार सो अभियानमा स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय र स्थानीय समुदायको सक्रियातामा जिल्लाका विभिन्न स्थानमा दैनिकजसो लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने कार्य भइरहेको छ ।
लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान असार २१ गतेबाट थालिएको सो कार्यालयका ल्याव टेक्निसियन निरीक्षक निरोजकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बेसीशहरका टोल–टोलमा स्वास्थ्यकर्मी, प्रहरी तथा स्थानीयको सक्रियतामा लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको हो । उहाँले भन्नुभयो, ‘प्रहरीले स्थानीय समुदायसंग मिलेर स्वास्थ्यकर्मीको प्रत्यक्ष सहभागीतामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।’
बेसीशहर नगरपालिका– २, ३, ७ र ८ मा नगरपालिका र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सरसफाई गर्ने, लार्भा खोजी गरी नष्ट गर्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने लगायतको सचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख प्रविणकुमार खनालले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानका क्रममा आआफ्नो घर वरपर सरसफाइ गरी पानी जम्न नदिने, खाडल पुर्ने, टिनका डब्बा, थोत्रा टायर, गमला, फूलदानी, बाल्टीमा पानी जम्न नदिनेलगायत लामखुट्टे नष्ट गर्ने विधिका बारेमा स्थानीयमा जनचेतना जगाउने काम थालिएको छ ।
बिहान र साँझपख डेंगुको लामखुट्टे बढी सक्रिय हुने भएकाले सकेसम्म घरबाहिर नजाने, जानैपरे शरीर पुरै छोपिने किसिमका लुगा लगाउने, खेतबारी तथा पशुपालनसम्बन्धी काम गर्दा विशेष सावधानी अपनाउन स्वास्थ्य कार्यालयमार्फत अनुरोध गरिएको खनालको भनाइ छ । उहाँले भन्नुभयो, ‘पुरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मलमजस्ता सामग्री प्रयोग गर्नु, सुत्ने बेला सधैँ झुलको प्रयोग गर्ने, घर वरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउनु डेंगी प्रकोपबाट बच्ने सरल एवम् प्रमुख उपाय हो ।’
यदि कसैलाई एक्कासी उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, घाँटी दह्रो हुने, वाकवाकी लाग्ने, पखाला लाग्नेलगायत स्वास्थ्यमा समस्या देखिए तत्कालै स्वास्थ्य संस्थामा परीक्षणका लागि जान आग्रह गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्मरणीय छ, यो वर्ष ४ सय ९५ जनामा डेंगीको संक्रमण पुष्टि भइसकेको छ । संक्रमित मध्ये ३० जनामा जिल्ला बाहिरका मानिस छन् ।

प्रकाशित मिति २०८१ असार २३, आईतवार ०८:२८ गते
हजुरको प्रतिक्रिया